+
+
Shares

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपुरथिमि–४ बालकुमारीका ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष असोज १० गते जिब्रो छेडेर जात्रा निरन्तरता दिने बताएका छन्।
  • वीरेन्द्रभक्तले २०७४ मा जात्रा पुनः शुरू गरेका थिए र यसअघि २०७९, २०८१ र २०८२ मा पनि जिब्रो छेडेका थिए।
  • जात्रा सञ्चालनमा करिब ६ लाख रुपैयाँभन्दा बढी खर्च हुने र नगरपालिकाभन्दा बढी खर्च जिब्रो छेड्ने व्यक्ति तथा स्थानीयले बेहोर्ने गरिएको छ।

२ असोज, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् ।

पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् ।

यही असोज १० गते शनिबार येँया पुन्हि:का दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले बताए । विगतमा जात्रा नियमित हुन सकेको थिएन ।

विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुन: जात्रा सुरु भएको थियो । त्यसयता उहाँले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुन: जात्रालाई निरन्तरता दिएका थिए ।

मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए ।

आर्थिक अभावका कारण चल्दै र रोकिंदै आएको यो जात्रा सञ्चालनमा करिब ६ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको  खर्च हुने गरेको छ ।

मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ ।

पशुपतिनाथसम्मको यात्रा गर्दै पुन: बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?