Comments Add Comment

कमल थापामाथि कांग्रेसको कटाक्ष : पूर्वमण्डलेले गिज्याए

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभर ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कार्यक्रमहरु राखेको थियो । तर, राजधानीको एउटा पार्टी प्यालेसमा राखिएको कार्यक्रम चाहिँ अनपेक्षितरुपले रोचक–घोचक बन्यो ।

कांग्रेसका शीर्षनेताहरुको सहभागितामा बिहान ११ बजे कार्यक्रम सुरु हुने भनिएको थियो । तर, सभापति शेरबहादुर देउवालाई पर्खँदा पर्खँदै दिउँसोको एक बज्यो । दुई घण्टा ढिला गरी सुरु भएको कार्यक्रममा सरकारको आलोचना, पार्टीभित्रको किचलो र असन्तुष्टि पोख्ने थलो बन्न पुग्यो ।

नेपाली कांग्रेसको कार्यक्रममा देखिएको रोचक दृश्यबारे चर्चा गर्नुपूर्व कमल थापाले मनाएको ‘मेलमिलाप दिवस’ को चर्चा गरौं ।

कमल थापाको काउन्टर

खासमा मेलमिलाप दिवस नेपाली कांग्रेसको हो । तर, कमल थापा नेतृत्वको राप्रपाले पनि सोमबार राजधानीमा औपचारिक कार्यक्रम नै गरेर मेलमिलाप दिवस मनायो ।

करिब २५० जनाको उपस्थितिमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा वीपीको मेलमिलापको नीति अनुसार अब फेरि ‘राजा’ सँग मिलेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने ‘आउटडेटेड’ कुरा गरिरहेका थिए ।

वीपीको मेलमिलापको नीतिअनुसार राजासँग मिलेर राष्ट्रिय एकता कायम गर्नुपर्ने निश्कर्षसहित राप्रपाले मेलमिलाप दिवस मनाएको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाले पहिलो पटक यसरी मेलमिलाप दिवस मनाएको हो ।

कमल थापाले मेलमिलाप दिवस मनाइरहेको थापा पाएपछि कांग्रेसको कार्यक्रममा कमल थापाको विरोध भयो । कमल थापालाई मण्डलेको संज्ञा दिँदै नेता गगन थापाले आफ्नो पार्टीलाई मुलुकको राष्ट्रियताका बारेमा नसिकाउन आग्रह गरे ।

‘मेलमिलाप’कै दिन महिलाको विरोध

कांग्रेसले योगम्बर पार्टी प्यालेसमा आयोजना गरेको मेलमिलाप दिवसमा नेपाल महिला संघकी अध्यक्ष विष्णुदेवी पुडासैनीलाई उद्घोषकले ‘यथास्थानमा’ आसन ग्रहणका लागि आग्रह गरे ।

तत्कालै दर्शकदीर्घाबाट नेतृहरुले उठेर विरोध जनाए । ‘महिलालाई चाहिँ यथास्थानमा ? ड्यासमा महिला देखिनुपर्दैन ?’ उनीहरु चिच्याउँदै थिए ।

कोलाहल बढेपछि काठमाडौं जिल्ला सभापति सबुज बानियाँले इशारा गर्दै ड्यासमै आमन्त्रण गर्न उद्घोषकलाई सुझाए । उद्घोषकले पनि पुडासैनीलाई मञ्चमा निम्त्याए । विजयी भावमा महिलाले ताली परर पड्काए ।

यसैवीच मन्तव्यका क्रममा महिला संघकी अध्यक्ष पुडासैनीले सुरुमै कटाक्ष गरिन्, ‘आधा धर्ती ढाकेका महिलाको प्रतिनिधिलाई गाह्रो गरेर बोलाएर दुई शब्द बोल्ने मौका दिएकोमा म आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’

उनले थपिन्, ‘चुनाव आउँदा महिलाहरु नै घरघरमा, खेत–खेतमा र भान्सा–भान्सामा जाउ, तिमीहरुले महिलाको प्रतिनिधित्व गर्ने हो भनिन्छ । आन्दोलन आउँछ, तपाईहरु अगाडि बढ्नुहोस्, तपाईंहरुलाई भए गोली हान्दैन भनिन्छ । तर, जब अवसरको कुरा आउँछ, हामीलाई ३३ प्रतिशतमा खुम्च्याइन्छ ।’

अध्यक्ष पुडासैनीले ५१.५ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिन् । पार्टीको संगठनलाई बलियो बनाउन महिलाहरुहरुको भुमिका महत्वपूर्ण रहने भन्दै उनले अन्यथा गरे चुप लागेर नबस्ने चेतावनी दिइन् ।

देउवा–पौडेल डिप लभको चर्चा !

कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ‘डिप लभ’ परेको विषयले चर्चा पायो । डिप लभको प्रसंग महासमिति बैठकदेखि उब्जिन थालेको हो ।

यही पार्टी प्यालेसमा महासमिति बैठक सुरु हुँदै गर्दा मञ्चमा आसीन देउवा र पौडेललाई उप–सभापति विजयकुमार गच्छदारले मञ्चबाट उठाएर हात हल्लाउन लगाएका थिए । यसो गर्दा रामचन्द्रले निकै असहज मानेका थिए । तर, महासमितिको समापनमा सभापति देउवाले भनेका थिए, ‘मेरो र वरिष्ठ नेताको बीचमा डिप लभ छ ।’

सोमबार कांग्रेस नेता गगन थापाले देउवाको उक्त भनाइलाई ब्याख्या गर्दै लभलाई बिहेमा परिणत गर्न सुझाए । ‘प्रेम भनेको एउटा दायाँ र एउटा वायाँ बसेर एक अर्कालाई हेर्नु हो तर, विवाह भनेको दुईटा मिलेर एकै दिशातिर हेर्नु हो । सबै प्रेम विवाहमा गएर टुङ्गिदैन । र सबै विवाहभित्र प्रेम पनि हुँदैन’, थापाले भने, ‘कांग्रेसलाई प्रेम पनि चाहिएको छ । तर, घर प्रेमले मात्र चल्दैन । घर चलाउन पद्दति पनि चाहिन्छ ।’

कांग्रेसको शीर्षतहमा प्रेम सुरु भएकाले अब पद्दति बसाल्नुपर्ने थापाले औंल्याए ।

प्रचण्डको अभिव्यक्तिको चर्चा

गत पुस ११ गते संसदको हिउँदे अधिवेशनको उद्घाटनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक ब्यवस्थामा ड्याम ड्याम निर्णय गर्न नसकिने बताएका थिए ।

सोमबार वीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई सम्झँदै गर्दा कांग्रेस नेताहरुले प्रचण्डको उक्त अभिव्यक्तिको चर्चा गरे ।

‘प्रजातन्त्र, लोकतन्त्र खोस्न खोज्ने… त्यस्तो पार्टी अहिले अगाडि छ । लोकतन्त्र भएर केही गर्न दिएन !’ प्रचण्डको अभिव्यक्तिलाई ब्यङ्ग्य गर्दै देउवाले भने, ‘त्यसकारण लोकतन्त्र विरोधी, एकदलीय सर्वसत्तावादी पार्टी दुई तिहाई बहुमतमा छ । जो सबै क्षेत्रमा हस्तक्षेप गर्न चाहन्छ ।’ प्रचण्डको अभिव्यक्तिका कारणले गर्दा समेत कांग्रेसका लागि प्रजातन्त्र सबैभन्दा पहिलो शर्त भएको देउवाले बताए ।

सोही कार्यक्रममा कांग्रेस नेता गगन थापाले पनि प्रचण्डको विरोध गरे । प्रचण्डले संसदमा बोलेको विषय तत्कालीन राजा महेन्द्रको २०१७ साल पुस १ गतेको अभिव्यक्तिसँग मिलेको उल्लेख गर्दै थापाले भने, ‘महेन्द्रले पनि लोकतान्त्रिक प्रणालीबाट देशको विकास हुन सक्दैन भन्नुभएको थियो ।’

कांग्रेस नेता भन्छन्– मेलमिलाप आफैँमा लागू गरौं

कांग्रेसका अधिकांश नेताहरुले विपीको मेलमिलापको नीति वर्तमान कांग्रेसभित्र आफैँमा लागू हुनुपर्नेमा जोड दिएका छन् ।

वीपीले त्यसबेला राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशको मुल्याङ्कन गर्दै राजासँग मिल्ने भनेर मेलमिलापको नीति ल्याउनुभएको हो,’ काठमाडौं वडा नम्बर ६ का पूर्वईकाइ उप–सभापति मेघनाथ घिमिरेले अनलाइनखबरसँग भने, ‘अहिले पनि राजासँग मिल्नुपर्ने भन्ने होइन । तर, नेताहरुमै मेलमिलाप छैन ।’

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन भेला भएका अन्य कांग्रेस नेताहरुको धारणा पनि घिमिरेको जस्तै थियो । नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले गुटको नेता कांग्रेसको नेता बन्न सक्नुपर्नेमा जोड दिए । ‘अब कांग्रेसको नेता बन्न आवश्यक छ । गुटको नेता होइन,’ वैद्य भन्छन्, ‘कांग्रेसको नेता हुने प्रयत्नले मात्र मेलमिलापको नीतिलाई अहिले पनि सान्र्दभिक बनाउन सकिन्छ ।’

वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिन पुस १६ लाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment