Comments Add Comment

उपत्यकामा थप तीन पानी प्रशोधन केन्द्र, बायोग्यास र विजुलीसमेत निकाल्ने योजना

१९ पुस, काठमाडौं । उपत्यकाका नदीको फोहोर पानी सफा पार्न थप तीन वटा प्रशोधन केन्द्र बन्ने भएका छन् ।

तीनै वटै प्रशोधन केन्द्रको औपचारिक निर्माण शुरु गर्न बिहीबार ललितपुरको बालकुमारीस्थित धोबिखोला र कोड्कु प्रशोधन युनिटको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे ।

झण्डै ४ अर्बको लागतमा बन्न लागेका यी परियोजनाबाट प्रशोधित पानी पिउन नमिले पनि अन्य प्रयोगमा ल्याउन सकिनेछ । स्वचालित यी आयोजनाबाट पानी मात्रै सफा हुने छैन, उर्जा, बायोग्यास, मलसमेत निकाल्ने योजना छ ।

काठमाडौं उपत्यकाका घर–घरबाट निस्किने ढल सिधै खोलामा मिसाउँदा बाग्मती, धोबिखोला लगायतका नदी अत्यन्तै प्रदुषित छन् । यसले पानीका सबै स्रोत प्रदुषित भएको छ भने काठमाडौंलाई नै विकृति बनाइदिएको छ ।

हाल गुह्येश्वरीमा बन्दै गरेको ढल प्रशोधन केन्द्रको ८० प्रतिशत निर्माणको काम सकिएको खानेपानी मन्त्रालयले जानकारी दिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाटमा भने अब बल्ल काम शुरु हुन लागेको हो ।

बालकुमारीको झोलुङ्गे पुलनेर शिलान्यास गरिएको धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रलाई दुई वटा युनिटमा विभाजन गरिएको छ । गोकर्णमा ढल प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । बिजुली भने धोबीघाट र गुह्येश्वरीबाट मात्रै निस्कनेछ ।

कोड्कु युनिट साफबोन वाटर सर्भिस (होल्डिङ) चाइनाले निर्माण गर्न लागेको हो । सन् २०१७ को मे ७ मा सम्झौता भएको यो आयोजना ३० महिनाभित्र सक्ने लक्ष्य छ । ९६ करोड २ लाखको लागतमा बन्न लागेको यो प्रशोधन केन्द्र ५ वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्ने सम्झौता छ ।

यो प्रशोधन केन्द्रबाट दैनिक २ करोड ७० लाख लिटर पानी प्रशोधित हुन्छ । उक्त पानी पिउन बाहेक अन्य उपभोग्य प्रयोजनमा प्रयोग गर्न सकिनेछ । उक्त केन्द्रबाट बानेश्वर, पाटन, कुपण्डोल, सानेपा, धोबिघाट लगायतका क्षेत्रका २२ लाख ८ हजार बासिन्दा लाभान्वित हुनेछन् ।

सोही स्थानमा एक अर्ब ९६ करोडको लागतमा अर्को ठूलो प्रशोधन केन्द्र पनि बन्दैछ । यो युनिट २४ महिनामा सक्ने भनिएको छ । सीजीसीओसी अटल जेभी, चाइनाले ठेक्का पाएको यो युनिटबाट दैनिक ३ करोड ७० लिटर पानी प्रशोधन गर्ने लक्ष्य छ । यो केन्द्र पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन तथा मर्मत सम्भार गर्नेछ ।

भक्तपुरको सल्लाघारी फोहर पानी प्रशोधन केन्द्रको ठेक्का पनि साफबोन वाटर सर्भिस (होल्डिङ) चाइनाले नै पाएको छ । ६५ करोड ९६ लाख रुपैयाँको लागतमा बन्न लागेको यो प्रशोधन केन्द्रको निर्माण ३० महिनामा सक्ने सम्झौता छ । यो प्रशोधन केन्द्र पनि निर्माण कम्पनीले नै पाँच वर्षसम्म चलाउनेछ ।

यो प्रशोधन केन्द्रबाट दैनिक १ करोड ४२ लाख लिटर पानी प्रशोधित हुने बताइएको छ । यसबाट भक्तपुरको लिवालि, जगाती, सल्लाघारी लगायतका क्षेत्रका १ लाख ५३ हजार बासिन्दा लाभान्वित हुनेछन् ।

यी सबै फोहर पानी प्रशोधन केन्द्रबाट ढल प्रशोधन गरी नदीमा सफा पानी बिसर्जन गर्ने लक्ष्य छ । यसबाट नदीको प्रवाह र गुणस्तरमा सुधार आउने अपेक्षा छ । फोहर पानी प्रशोधन प्रक्रियामा उत्पन्न हुने मिथेन ग्यासबाट बिजुली निकाल्ने योजना छ । प्रशोधनका क्रममा निस्किने लेदोलाई थप प्रशोधन गरी मलको रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

यी आयोजनाबाट उपत्यकाका सम्पूर्ण नदीहरुको इकोसिस्टममा सुधार आइ जैविक विविधता, मनोरञ्जनात्मक क्रियाकलाप र पर्यटन उद्योगको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास छ । आधुनिक प्रशोधन केन्द्रहरुमा दुर्गन्ध फैलिने भाग छोपिने र अत्याधुनिक प्रविधियुक्त फिल्टरहरु समेत जडान गरिने हुँदा वरपर दुर्गन्ध नफैलिने दाबी गरिएको छ ।

यी तीन प्रशोधन केन्द्रबाट पिउन बाहेक अन्य उपभोग्य प्रयोजनमा प्रयोग गर्न मिल्ने पानी दैनिक ६ करोड लिटर निस्किनेछ । हाल उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग रहेकोमा केयूकेएलले सुख्खायाममा प्रतिदिन ९ करोड लिटर र वर्षायाममा १६ करोड लिटर वितरण गर्दै आएको छ ।

मेलम्ची खानेपानीमा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर दैनिक ५१ करोड लिटर पानी ल्याउने वर्षौं देखिको योजनाले अझै मुर्तरुप पाउन सकेको छैन । उपत्यकामा विद्यमान पानीको चर्को अभावलाई मध्यनजर गर्दै सरकारले प्रदुषित पानीले प्रशोधन गरेर प्रयोग गर्न मिल्ने बनाउन लागेको हो ।

प्रशोधित पानी, ग्यास मल र बिजुली निकाल्ने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको काठमाडौं उपत्यका फोहर पानी आयोजनाका प्रवन्धक सुरतकुमार बमका अनुसार यो काम सकिएपछि उपत्यकाका कुनै पनि ढल सीधै खोला वा नदीमा मिसाइने छैन । त्यसकै लागि विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम भइरहेको छ ।

यो काम सकिएपछि काठमाडौंभरिको ढलहरु प्रशोधन केन्द्रसम्म पुग्ने गरी ढल प्रणालीमा जोडिनेछ । प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा निस्कने ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ । र, उत्पादित बिजुली प्रशोधन केन्द्रको सञ्चालनमा नै उपयोग गर्ने योजना बनाइएको केयूकेएल अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेश प्रसाद खत्रीले जानकारी दिए ।

बिहीबार शिलान्यास गरिउको धोबिखोलाको दुई युनिटबाट ३ सय ५ किलोवाट बिजुली उत्पादन हुने भनिएको छ । केन्द्रबाट पानी र बिजुलीका साथै ८ दशमलब ५ टन मलसमेत निस्किनेछ ।

तर, सल्लाघारीको प्रशोधन केन्द्रबाट भने बिजुली निकाल्ने योजना छैन । यसबाट दैनिक ३ टन मल र बायोग्यास निस्कने आयोजना कार्यान्वयन इकाई निर्देशनालयले जानकारी दिएको छ ।

हाल गुहेश्वरीमा निर्माण भइरहेको फोहर पानी प्रशोधन केन्द्रको काम ८० प्रतिशत सकिएको शिलान्यास समारोहमा उपस्थित खानेपानी मन्त्री मगरले जानकारी दिइन् ।

सन् २०१६ को अगस्ट १ मा ठेक्का सम्झौता भएको उक्त प्रशोधन केन्द्र भाटेक वाबाग लिमिटेड, ईन्डियाले निर्माण गरिरहेको छ । ३६ महिनामा बनाइसक्ने भनिएको सो प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधित गर्ने लक्ष्य छ । यसबाट काठमाडौंको गोठाटार, जोरपाटी, बौद्ध लगायतका क्षेत्रका ४ लाख ५४ हजार बासिन्दा लाभान्वित हुनेछन् । यो प्रशोधन केन्द्रको लागत २ अर्ब ५५ लाख छ ।

यसबाट प्रतिघण्टा ३ सय २० किलोवाट बिजुली उत्पादन गर्ने दैनिक सात टन मल निस्किने छ । उक्त मल खेतबारीमा प्रयोग गर्न मिल्ने हुने निर्देशनालयका निर्देशक खत्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले भने : नेपालका नदि प्रदुषित हुनु लज्जाजनक

शिलान्यास पछिको समारोहमा प्रधानमन्त्री ओलीले वाह्य देशबाट आउने प्रदुषित हावासमेत नेपाल आइपुग्दा स्वच्छ हुने गरेको भन्दै यहाँका नदी प्रदुषित हुनु लज्जाजनक भएको टिप्पणी गरे ।

‘दुनियाँको हावालाई शुद्ध पार्ने ठाउँमा खानेपानीको समस्या, फोहोर पानीको समस्या, यो अवस्था इतिहास बन्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी खानेपानी मन्त्री बिना मगरले यी आयोजनाबाट मानव स्वास्थ्य, पर्यावरण र राष्ट्रिय प्रतिष्ठा समेत उच्च हुन बताइन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफू सानो छँदा बाग्मतीमा पौडी खेल्ने गरेको स्मरण गरे । फोहर पानी प्रशोधन केन्द्र निर्माणको समेत शुरुमा स्थानीयले नबुझेर विरोध गरेको उनले बताए ।

‘यहाँबाट दुर्गन्ध फैलदैन भनेर ‘कन्भिन्स’ गरेपछि नगरबासी मान्नुभयो’, उनले भने ।

त्यसपछि बोलेका प्रधानमन्त्री ओलीले मेयर महर्जनप्रति लक्षित गर्दै भने, ‘उहाँ (चिरिबाबु महर्जन) कै जीवनकालमा बाग्मतीमा हाम्फाल्न पाइन्छ, भलै पिउन नमिल्ने होला, नुहाउन मिल्ने, पौडी खेल्न मिल्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment