Comments Add Comment

देउवाले भने – रेशम चौधरीलाई किन सपथ गराइयो थाहा छैन

२० पुस, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई किन सपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले चौधरीलाई सरकारले किन सपथ गराएको हो आफूले बुझ्न नसकेको बताएका हुन् । ‘सपथ किन खुवायो थाहा छैन, उनले भने ‘टीकापुरमा विना हतियार गरएका प्रहरीमाथि आक्रमण भएको हो ।’

टीकापुर घटनाका अभियुक्त चौधरी पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा  सदस्यको हैसियतमा सपथ लिएका थिए ।

पत्रकारसँगको कुराकानीमा देउवाले वर्तमान सरकार फ्लप (असफल) भएको दाबी गरेका छन् । उनले दुई तिहाइको दम्भमा रहेको वर्तमान सरकारले अब देश चलाउन नसक्ने दावी समेत गरे । सभापति देउवाले पोस्टर टाँगेर अब देश नचल्ने भन्दै व्यंग्य गरे ।

अहिले प्रतिपक्ष पनि कमजोर भएको हो भन्ने प्रश्नमा सभापति देउवाले भने ‘तपाईहरु छाप्नु हुन्न, बोलेको बोल्यै छु त म ।’

वाइडबडी विमान खरिद छानबिन प्रकरणमा उनले आफूले लेखा समितिको उपसमितिको प्रतिवेदन अध्ययन नगरेको भन्दै त्यस विषयमा जानकारी नभएको बताए ।
निर्माला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही नसक्नु सरकारको लाचारीपन भएको उनले जिकिर गरे । यो घटना सानो नभएको भन्दै देउवाले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो विषय नछाड्ने दावी गरे ।

सरकारले समायोजनमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने भनिरहेका बेला देउवाले भने कारबाही गर्नुभन्दा सुविधा बढाएर पठाउनुपर्ने धारणा राखे । देउवाले कर्मचारीलाई आतंकित बनाउनु भन्दा पनि उनीहरुलाई थप इन्सेन्टिभ दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment