+
+
Shares

गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाखको भ्रष्टाचार आरोप

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २३ गते १६:५४

२३ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले खड्काको २०६९ चैत २ गतेदेखि हालसम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । यस अवधिमा उनले विभिन्न शीर्षकबाट ८ करोड ६४ लाख ६९ हजार ७८ सय ५१ रुपैयाँ ५३ पैसा आम्दानी गरेको र खर्च तथा लगानी भने २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैयाँ ७६ पैसा देखिएको अख्तियारको दावी छ ।

उनले गरेको खर्च तथा लगानीमा वैध आय घटाउँदा बाँकी हुन आएको रकम १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा गैरकानूनी आर्जन भएको दावीसहित आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ २३ पैसा विगो कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय गर्न माग गरेको छ ।

त्यस्तै खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय गर्न पनि माग गरेको अख्तियार प्रवक्ता दंगालले बताए । खड्काले गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू जफत गर्न पनि अख्तियारले माग गरेको छ ।

५ वर्षमा ५ वटा घर, ११ कित्ता जग्गा !

२०६९ चैतयता खड्काले पुर्ख्यौलीबाहेक ३ वटा घर निर्माण तथा खरिद गरेको, २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा ११ कित्ता जग्गा खरिद गरेको पाइएको अख्तियारले जनाएको छ ।

खड्काले घर जग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार २ सय ६ रुपैयाँ ३१ पैसा, सेयर खरिदमा १ करोड ६ लाख ४ हजार, सावा, व्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २ सय ३९ रुपैयाँ ९९ पैसा, सापटीमा १ करोड २५ लाख ६० हजार रुपैयाँ खर्च गरेका छन् । त्यस्तै उनले चन्दामा १ करोड १७ लाख ४२ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६ सय ९५, गाडी खरिदमा १ करोड १७ लाख ४२ हजार खर्च गरेको अख्तियारको भनाइ छ ।

खड्काले एटीएमबाट सुपरमार्केटहरुमा १ करोड ८० लाख १६ हजार ४ सय ४६ रुपैयाँ ८२ पैसा भुक्तानी गरेको र ५५ बैंक तथा वित्तीय संस्थामा २ करोड ७१ लाख ५३ हजार ४ सय २१ रुपैयाँ ६४ पैसा वचत गरेको पाइएको पनि अख्तियारले जनाएको छ । त्यस्तै अख्तियारले खड्का सरकारी सेवामा प्रवेश गरेदेखि २०६९ चैत २ गतेसम्म विभिन्न शीर्षकमा २ करोड २ लाख ७० हजार ३ सय ७१ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको पनि बताएको छ ।

खड्काले गैरकानूनी सम्पत्ति आफ्नी श्रीमती शर्मिला खड्का र तेह्रथुम घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बस्ने अमिता लामा सोदेम्बाको नाममा समेत लुकाइ राखेको पाइएकाले त्यस्ता सम्पत्ति जफत गर्न पनि माग गरिएको अख्तियारका प्रवक्ता दंगालले बताए ।

अमिता लामा सदेम्बाको नाममा ७ करोड ५४ लाख ५७ हजार ८ सय ७५ रुपैयाँ खड्काको सम्पत्ति रहेको अख्तियारको दावी छ । लामाको नाममा काठमाडौंको हात्तीगौडामा सीजी हिल्सले बनाएको घर ३ करोड २५ लाखमा किनेको, सीजी डेभलपर्सले नै बनाएको अर्को घर खरिद गर्न ३ करोड ५ लाख भुक्तानी दिएको पाइएको अख्तियारको भनाइ छ ।

त्यस्तै लामाकै नाममा बुढानीलकण्ठ गाविस ३ मा ४० लाख ११ हजार ८ सय ७५ रुपैयाँमा किनेको ८ आना जग्गा र ८४ लाख ४६ हजार रुपैयाँमा किनेको बा १६ च ८४८४ नम्बरको टक्सन गाडी पनि जफत गर्न माग गरिएको छ ।

अमिता लामाको नाममा रहेको एनएमबी र सिटिजन बैंकको खाताहरुमा खड्काले नै कारोबार गर्ने गरेको पाइएको अख्तियारको भनाइ छ ।अख्तियारले मुद्दाको साथमा दशी प्रमाणको रुपमा ८९ लाख ८९ हजार रुपैयाँ जफतका लागि अदालतमा दाखिला गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?