Comments Add Comment

नेपाल-जापानबीच सिधा हवाई सम्झौता हुँदै

२५ पुस, काठमाडौं । नेपाल र जापान बीच बुधबार सिधा हवाई सेवा सम्झौता हुने भएको छ ।  जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनेछ ।

जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई नवीकरण गर्न गत असारमा दुई देशबीच सहमति भएको थियो । सम्झौतापछि नेपाल-जापानबीच सातामा १४ वटासम्म उडान हुनेछ ।

जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । टोकियोको सबैभन्दा ठूलो एयरपोर्ट हानडामा भने नेपाली वायु सेवाले प्रवेश पाउने छैन ।

यो सम्झौता पछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन् ।

मन्त्रालयका अनुसार दिउँसो हुने मन्त्रीस्तरीय वार्तापछि हवाई सम्झौता हुनेछ । नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सरकारले जापानमा पनि सिधा हवाई उडान गर्न पहल गरेको थियो ।

नेपाल-जापान सिधा उडान शुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत सरकारको विश्वास छ ।

नेपाल वायु सेवा निगमका विमानले भारतका तीन सहरहरु मुम्बई, बेंगलुरु, दिल्लीसहित दुवई, हङकङ, मलेसिया, दोहा कतार, बैंककमा उडान भर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment