Comments Add Comment

आफ्नै निर्णय उल्ट्याउँदै भारु नोट चलाउन दिन आग्रह

२५ पुस, काठमाडौं । सकरारले मंसिर अन्तिम साता मन्त्रिपरिषद्बाटै एक सयभन्दा माथिका भारतीय नोटमा प्रतिबन्ध लगायो ।

यो निर्णयले नेपालमा भन्दा भारतमा बढि चर्चा पायो । नोटबन्दीको बदला स्वरुप नेपाल सरकारले भारु नोट नचलाउने निर्णय गरेको भनेर भारतीय सञ्चारमाध्यमले ब्याख्या गरे ।

तर, अहिले पुनः भारु चलाउने विषयमा नेपालले नै अग्रसरता देखाएको छ । भारु नोट चलाउन नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) लाई पत्रचार गरेको हो ।

त्यसको उत्तर भने अहिलेसम्म नपठाएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए ।आरबीआईले अनुमति दिए नेपालमा बन्देज भनिएका भारतीय नोट चल्ने उनको भनाइ छ ।

मंसिरको अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट नचलाउने निर्णय गरेको थियो ।

भारतले २०१६ अक्टोबरमा कालो धनलाई नियन्त्रण गर्ने भन्दै ठूला दरका नोटमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि भारत सरकारले दुई हजार र दुई सय दरका भारु नोट प्रचलनमा ल्यायो । नयाँ नोट अन्य देशमा चलाउन अनुमति भारतले प्रदान गरिनसकेका कारण नेपालमा नचलाइएको डेपुटी गभर्नर सिवाकोटी बताउँछन् ।

‘अब भारतले नै अरु मुलुकमा नचल्ने भनेको पैसा यहाँ ल्याउन दिएर नेपालीलाई फसाउनु त ?’ उनले प्रश्न गरे, ‘नेपालमा ती नोटहरु ल्याउने र प्रहरीले पक्राउ गर्न थालेपछि सरकारले सचेत भएर त्यो कदम चालेको हो ।’

डेपुटी गभर्नर सिवाकोटीले मिडियाले खेदेका कारण पनि ति नोटहरु पुनः चलाउने तयारी भइरहेको बताए ।

भारतसँग सम्बन्ध बिग्रन लाग्यो भनेर पत्रकारले लेखेको भन्दै उनले ‘२ सय र ५ सय रुपैयाँको मात्रै भए पनि चलाउन देऊ’ भनेर भारत सरकारसँग आग्रह गरिएको बताए ।

‘भारतको कुनै भर छैन’

भारतीय नोट चलाउने विषयमा भारतीय रिजर्भ बैंकलाई पत्राचार गरिएको भए पनि कहिले रिप्लाई आउछ भन्ने टुंगो नभएको डेपुटी गभर्नर सिवाकोटी बताउँछन् ।

उनले भारतको कुनै भर नभएको समेत बताए । ‘हामीले पत्राचार गरेका छौं, तर के हुन्छ भन्न सकिन्न’ उनले भने, ‘भर पर्ने अवस्था छैन किनभने पहिले पनि हामीसँग भएको भारु नोट साटिदिनुस् भनेर हामीले भनेका थियौं, अझै साटिएको छैन ।’

भारतले नयाँ नोट प्रचलनमा ल्याए पनि राष्ट्र बैंकमा भएको पुराना ५ सय र १ हजार दरका भारु अझै साटेको छैन । राष्ट्र बैंकका अनुसार यस्ता दरका नोट करिब ६ करोडको हाराहारीमा रहेको छ । नेपालले पटक–पटक आफूसँग भएको नोट साटिदिन आग्रह गरे पनि भारत सरकारले चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment