Comments Add Comment

लोडसेडिङ नहुँदा पनि किन काटिन्छ बिजुली ?

२५ पुस, काठमाडौं । लोडसेडिङ हटिसकेको भएता पनि आजभोलि विभिन्न स्थानमा बारम्बार बिजुली काटिने समस्या बढेको छ । कतिपयले यसलाई ‘लोडसेडिङ’ भन्दै गुनासो गर्ने गरेका छन् । प्राधिकरणले भने हिउँदमा लोड बढ्दा मुख्यगरी वितरणलाइनमा आउने समस्याका कारण यस्तो बिजुली काटिने समस्या आउने गरेको बताउने गरेको छ ।

यो वर्ष भने वितरण प्रणालीमा आउने समस्यालाई हटाउन प्राधिकरणले आक्रमक रुपमा सुधार गर्न थालेको छ । यसवर्ष मात्रै २ हजार ट्रान्सर्फमर फेरिसकेको छ प्राधिकरणले ।

नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार यो वर्ष मात्रै देशभर ५ हजार ट्रान्सर्फमर थप्दैछ । एक वर्ष भित्र १० हजार ट्रान्सर्फमर थप्ने तयारी रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउँछन् ।

प्राधकिरणले कुल गरेर १४ हजार नयाँ ट्रान्सर्फमर ल्याउँदैछ । बिगि्रएका पुराना ट्रान्सर्फमर पनि बनाएर चलाउने गरिएको छ ।

‘जाडोमा स्थानीय क्षेत्रमा लोड बढ्छ । धान्न नसकेपछि सो क्षेत्रको ट्रान्सर्फमर पड्कन्छन्, त्यसैले माग धेरै भएका ठाउँमा ठूला क्षमताका ट्रान्सर्फमरहरु राख्दौ छौं,’ घिसिङले भने,’कतिपय ठाउँमा नयाँ राख्दैछौं भने कतिपय ठाउँमा क्षमता बढाएर फेर्दैर्छौं ।’

उनका अनुसार पछिल्ला दिनमा विभिन्न क्षेत्रमा ट्रान्सर्फमर फेर्ने काम तीव्र पारिएको छ । ट्रान्सर्फमर फेर्ने कामका लागि केही समय बिजुली काट्ने गरिएकाले यसलाई सकारात्मक रुपमा सहयोग गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

‘सिस्टमलाई विश्वसनीय बनाउन ट्रान्सर्फमर फेर्दा काटिने लाइनलाई लोडसेडिङ भन्न भएन । अहिले हामीलाई मागअनुसार वितरण गर्न विजुलीको अभाव छैन’ वितरण विभाग प्रमुख न्यौपानेले भने,’स्थानीय क्षेत्रमा जोडिएका ट्रान्सर्फमरमा धेरै लोड पर्दा पडि्कने समस्या ब्याप्त भएपछि लोड एनालाइसिस गरेर फेर्ने काम पनि तीव्र परेका र्छौं ।’

जाडो मौसममा हिटर, एसी, इलेक्ट्रिक गिजर लगायत धेरै विजुली खपत गर्ने यन्त्रहरु बढी चल्छन् । यसका कारण स्थानीय क्षेत्रमा वितरण गर्न राखेको ट्रान्सर्फमरभन्दा बढी विजुली खपत हुने अवस्था आउँछ । त्यसले स्थानीय वितरण प्रणालीमा चाप पर्छ र ट्रान्सर्फमर बिग्रन्छ ।

प्राधिकरणले गत दुई-तीन वर्षमा नयाँ ट्रान्सर्फमर फेर्न सकेन । यो वर्ष भने १४ हजार ट्रान्सर्फमर ल्याउने प्रक्रिया अघि बढ्को छ । नेपाल आइसकेका २ हजार ट्रान्सर्फमर सिस्टममा जोडिसकिएको छ भने ५ सय ट्रान्सर्फमर अहिले हेटौंडास्थित केन्द्रीय वर्कसपमा परीक्षणका क्रममा छन् ।

त्यसबाहेक ठूलो संख्यामा ट्रान्सर्फमरहरु भन्सारहरुमा आइसकेको न्यौपानेले बताए । ती ट्रान्सर्फमरहरु परीक्षण पश्चात लोड ब्यालेन्सका लागि फटाफट जडान गरिने उनले बताए ।

प्राधिकरणले यसपटक नियमित राख्ने भन्दा फरक क्षमताका सीएचपी ट्रान्सर्फमर पनि प्राधिकरणले किन्दैछ । बलियो र कम चुहावट हुने यो ट्रान्सर्फमरले पनि पनि चुनौतीपूर्ण क्षेत्रमा वितरण प्रणालीलाई विश्वसनीय बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ ।

पोल फेर्ने योजना

प्राधिकरणको प्रणाली पुरानो छ । यसलाई स्तरोन्नति नगरेसम्म यस्तो अनियमित बिजुली काटिनेसमस्या समाधान गर्न कठीन हुने प्राधिकरणका तर्क अधिकारीहरुको छ ।

लोडसेडिङको चुनौती पन्छाएपछि प्राधिकरण अब यस्ता अनियमित बिजुली कटौती हुने समस्या समाधानका लागि अघि बढेको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

यसका लागि वितरण लाइनमा लोडअनुसारको ट्रान्सर्फमर थप्ने र काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउनेसम्मको प्रयास सुरु भएको छ ।

प्राधिकरणका अनुसार विद्युत लाइन वितरण सुधार लागि झण्डै ४ लाख काठको पोल हटाउनुपर्ने हुन्छ । विद्यत प्राधिकरणले गरेको प्रारम्भिक अनुमानमा देशभरका झण्डै ३ देखि ४ लाख काठको पोल हटाउनुपर्ने देखिएको थियो ।

मल्टिपल रिंग बनाइँदै

अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ ।

प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाउन ‘मल्टिपल रिंग बैंक’ को अवधराणाअनुसार पूर्वाधार निर्माण भइरहेको उनले बताए । एक स्थानको सबस्टेशनमा समस्या आउँदा अर्को सब स्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिंग तयार गरिँदैछ ।

लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ ।

हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेसन निर्माण भइरहेको छ । माथातीर्थ, चापागाउँ, भक्तपुर, लप्सीफेदी लगायतका स्थानमा निर्माण भइरहेका सब-स्टेशनले मल्टिपल रिंग बैंकको काम गर्नेछन् ।

यी स्थानमा सबस्टेसन निर्माण सकिएर सञ्चालनमा आएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ ।

‘पाटनको सबस्टेसनमा समस्या आएर बिजुली गए चापागाउँको सबस्टेसनबाट बिजुली दिन सकियोस् । स्युचाटारको स्टेसनमा समस्या आउँदा मातातीर्थबाट दिन सकियोस्,’ घिसिङले भने, ‘यस्तै अवधारणमा सबैतिर वितरण लाइन व्यवस्थापन गर्ने योजना हाम्रो छ ।’

वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिरकणले काम थालेको छ । अहिले ११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने प्राधिकरण बताउँछन् ।

हाल नेपाल एक सय ३२ केभीको प्रसारण लाइन लाइनमै निर्भर छ । यस्तो अवस्थामा काठमाडौंमै बाहिरी चक्रपथमा २२० केभीको प्रसारण लाइन निर्माण गरिँदैछ ।

विद्यमान सब-स्टेसनहरुमा पनि सुधारका कामहरु भइरहेको ठूला ट्रान्सर्फमर फेर्ने तथा वितरण प्रणालीलाई चुस्त बनाउन सबैतिर समानान्तर रुपमा प्रयास भइरहेको कार्यकारी घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment