म मन्त्री भएदेखि दुईवटा चिजले साह्रै सतायो, एउटा आयल निगमले, अर्को चाँहि चिनी मिलले । नलाग्ने आरोप पनि लाग्यो । मेरो जिन्दगीको कमाइमा नगरेर पनि गरेको भनेर आरोप लाग्यो ।
अहिले गणतन्त्र छ, जसले पनि मन लागेको बोल्न पाउँछ, लेख्न पाउँछ । राजा चाहिन्छ पनि भन्न पाइन्छ, हामी त राजा चाहिँदैन भन्दा जेल बस्नुपथ्र्यो । अहिले राजा चाहिन्छ भनेर ठूला–ठूला भाषण गर्दा पनि छुट छ । यो हामीले ल्याएकै व्यवस्था हो ।
हामीले लोकतन्त्रको सम्मान गर्नुपर्छ । सबैलाई अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । स्वतन्त्रतासँगै अराजकताचाँहि हुनुहुँदैन । अनुशासन भन्ने हुन्छ, सबैजना त्यसमा बस्नुपर्छ । स्वतन्त्रताको दुरुपयोग गर्नुहुँदैन । त्यतातिर धेरै नजाऔं ।
निगममा प्वालै–प्वाल
यो आयल निगम सरकारले नै चलाएको हो अहिलेसम्म । तर, यो छुट्टै टाइपको छ । प्वालै–प्वाल परेको छ । तेल बोक्ने भाँडोमा प्वालै–प्वाल परेपछि कति चुहिन्छ भन्ने कुरा आफैं बिचार गर्नुस् ।
त्यो प्वालैप्वालमा ड्राइभर पनि, ढुवानीकर्ता पनि, निगमको हाकिम पनि, विक्रेता पनि, मन्त्रालयका सचिव पनि, मन्त्री पनि सबैले चुहिने ठाउँमा भाँडो थाप्ने काम भयो । अनि जनतालाई चाँही सुख्खा हुने । यसले सबै मार त जनतामाथि पर्छ । सबैले भाँडो थाप्न थालेपछि त तेल कम हुन्छ, अनि जनतालाई नै मार पर्ने अवस्था ।
त्यस्तो संस्था, मैले हेर्दाखेरि त यो देशमा सरकार थियो कि थिएन, बिचित्रकै लाग्यो ! प्वालैप्वाल परेकोलाई टाल्दा–टाल्दा हैरान ! ठूलो, एउटै ल्याएर राख्दा त हुन्थ्यो, जता पनि चुहिनेखालको भएपछि गाह्रो हुने क्या !
जोजो लोटा थाप्थे, ट्यांकी, ग्यालिन थाप्थे, ती सबैको सहयोगले हामीले टाल्ने काम गरेका छौं । कुनै एउटा मन्त्रीले, सचिवले, जीएमले वा ढुवानीकर्ताले हैन, सबै मिलेका छन् यसमा । सबैको सहमति भएर नै हामी टाल्नेतिर लागेका छौं । अझै पनि पुरै टालिएको छैन । एउटा भन्छ नि चोरका लागि ताला के, बेइमानका लागि तमसुक के !
हाम्रो मधेसतिर भन्छ, बुद्धिभन्दा चोरबुद्धि भारी । हाम्रो दिमाख धेरै तेजिलो छ हेर्नुस्, ताला लागेको ट्यांकरबाट थोरै हैन, २४÷२५ लिटर पनि गायव हुँदोरहेछ । आँखा बन्द, डिब्बा गायब भन्छन् नि त्यस्तै ।
जो होस् हामी सफलतातिर अघि बढिरहेका छौं । चुनौतीहरु छन् । त्यसको सामना गर्दै हामी अघि बढिरहेका छौं । यहाँहरुसँग के विश्वास दिलाउन चाहन्छु भने आयल निगमभित्रको सबै विकृति विसंगति छन्, त्यो सबै बन्द नगरी कसैको कल्याण छैन । देशको कल्याण नै हुँदैन, गढबड गर्नेको पनि कल्याण हुँदैन । अब यो कुरा हेक्का राखे हुन्छ ।
सबैजना गडबडमा
यहाँ यस्तो पनि सुनिन्छ, मन्त्रीले पैसा मागेको छ, दिनुपर्यो पनि भन्छन् रे । अब हाम्रा ढुवानी संघ, डिलर्स एशोसियसनका नेताजीहरु त भर्खरै भाषण गरेर जानुभयो । आज उत्सबका दिनमा धेरै कुरा के भनौं र ! मैले अघि पनि भनेँ, विगतमा हामी सबै गडबडमा सहभागी भएका हौं (व्यवसायीतर्फ हेर्दै) । मलाई खुसी लागेको छ, म आएदेखि उहाँहरु पूरै तागत लगाएर सहयोग गरिरहनुभएको छ, धन्यवाद छ ।
नौ महिनादेखि मैले नयाँ विक्रेता विनियमावली बनाऔं भन्दा अहिलेसम्म बनेको छैन । भर्खर हिजो सुनेँ, राय सुझावका लागि खुला गरिएको छ । ९ महिनादेखि मन्त्रीले कराउँदै जाने, काम नहुने, यो मन्त्री हो कि के हो !
तपाईहरु विचार गर्नुस् न, एउटा विक्रेता विनियमावली नयाँ बनाउन आएदेखि नै कराउँदै जाँदा पनि अहिलेसम्म तयार नहुनु के हो ? यसमा पनि सिन्डिकेट थियो । प्रश्न त उठ्यो । कसैले चाहेको अनुसार नियम बनाउने हो कि न्यायसंगत तवरले बनाउने हो ?
पम्प खोल्न एक बिगाहा जग्गा चाहिन्छ भनेर कसका लागि बनाएको नियम ? त्यो कसैले आफ्नै लागि बनाएको हो, मैले बनाइहालेँ, अब अरुले बनाउन नपाओस् भनेर ।
नियम कानुन त जसले सक्थ्यो, उसैले बनाउँथ्यो नि ! जसले जनताको हितमा बनाउन सक्यो, त्यो राम्रो हुन्छ । जसले जनविरोधी काम गर्छ, त्यो आफैं अन्त्य हुन्छ ।
इतिहास साक्षी छ । मै हुँ भन्ने विष्णुका अवतार पनि बाँचेनन् । त्यसैले जनता सार्वभौम हो, जनता सबै चिज हो, हामी जनताकै हितमा अघि बढ्नुपर्छ । मैले चाँही चलाएँ ठीक, अरुले चलायो गलत भन्ने हुँदैन । प्रतिस्पर्धाको जमाना हो, सबैले प्रतिस्पर्धा गरौं । सिन्डिकेट भयो भने प्रतिस्पर्धा हुँदैन । यसमा छलफल गरौं, बहस गरौं ।
मूल्य घट्यो, भाडा घटेको खै ?
सुनिहाल्नुभयो, निगमले ५५ अर्ब त सरकारलाई राजस्व नै बुझाएको छ । के–के अरु थोकको नाममा पनि पैसा जम्मा हुँदैछ ।
दशैंताका हामीलाई करिब ४ अर्ब घाटा लागेको थियो । अहिले चाँही घाटा मेकअप गर्नेतिर लागेका छौं । ढाँट्ने कुरा होइन, सबै रेकर्ड हो । कसैले ढाँटेर पनि हुँदैन, पारदर्शी हो यो चिज । अब हाम्रो घाटा केही समयमा मेक–अप हुन्छ । त्यसलगत्तै हामी अलि धेरै मूल्य घटाउन थाल्छौं । अहिले थोरै–थोरै घटाएका छौं । जनतालाई पनि अलि सहुलियत होस् ।
तर, सुन्छु भाडा उस्तै छ । तेलको मूल्य ६ रुपैयाँ घटिसक्यो, भाडा उस्तै छ । निजी क्षेत्रको पनि विचार हुनुपर्यो नि (व्यवसायीतिर फर्किएर) । विचारै गर्दैन निजी क्षेत्र, बढाउँदा बढ्यो, घट्दा घटाउने विचार नै गर्दैन । सबै आफ्नो मूल्यमान्यतामा बस्नुपर्छ । योभन्दा कडा शब्द नभनौं, मिडियाहरुले लेख्छन्, मात्रिका खाली गाली गर्छ, अर्थमन्त्री कुरै सुन्दैन !
जबकि हाम्रो मन्त्रालयमा जस्तो धेरै ठाउँमा हुँदैन । हामीले कुरा सुन्नमा धेरै समय खर्च गरेका छौं । जो यथार्थ चिज छ, त्यो स्वीकारेकै छौं । पटक–पटक कुस्ताकुस्ती हुन्छ । हामीले हल नै गरेका छौं । गर्नैपर्छ । गर्दिनुस् भनेका छौं ।
प्लेनको पनि भाडा बढेको छ, हिजो हामीले सल्लाह गर्यौं । प्लेन चढ्नेलाई पनि अलिकति सहुलियत होस् न । आजदेखि निगमले हवाई जहाजको इन्धनमा पनि १० रुपैयाँ घटाउने भनेको छ । (सानो स्वरमा ताली बज्यो ) ताली त थोरै नै बज्ने भयो, किनभने हवाई जहाज चढ्ने त धेरै हुँदैनन् । त्यो त स्वतः नै देखिन्छ । यहाँ हवाई जहाज चढ्नेले पनि बजाएनन् ताली । तर, अहिले चाँहि दुर्गम क्षेत्रका आम जनता प्लेन चढ्छन् । त्यो हिसाबले मूल्य घटाएका छौं ।
आम जनताले बुझ्ने कुरा के हो भने भारतमा तेल महंगो छ, हाम्रोमा सस्तो छ । त्यो ब्यालेन्स भएन भने पनि गडबड हुने रहेछ । हाम्रो डलरमा किनेको तेल भारुमा बिक्ने रहेछ । व्यक्तिविशेषले बेच्दो रहेछ, त्यो पनि समस्या छ ।
‘खसी–बकडी, एकै धोक्री’
ग्यासका साथीहरुको पनि गुनासो छ । ग्यासमा के छ भने पूर्वराजा ज्ञानेन्द्रदेखि पूर्वप्रधानमन्त्रीहरु र भूतपूर्व मन्त्रीहरुले पनि सहुलियत पाउने रहेछन्, वर्तमानले पनि पाउने नै भइहाल्यो ।
ग्यासमा सरदर चिया पसलेले पनि उत्तिकै पैसा तिर्ने, २० रुपैयाँमा चिया बेच्नेले पनि उत्तिकै मूल्य तिर्नुपर्ने, सय रुपैयाँमा चिया बेच्ने फाइभस्टार होटलले पनि उत्तिकै मूल्यमा ग्यास किन्न पाउने । खसी–बकडी, एकै धोक्री भन्छ नि, त्यस्तै ।
अब नयाँ जीएम आउनुभएको छ । डिभाइड गर्दिनुहन्छ, क्लियर गर्ने हो अब । जसको धेरै तिर्ने हैसियत छैन, उसले पो पाउनुपर्छ त सहुलियत । कम्तिमा पूर्वराजा ज्ञानेन्द्रले त भन्दिनुपथ्र्यो नि म त सहुलियत लिन्न है भनेर । पूर्वप्रधानमन्त्रीहरुले पनि भन्दिनुपथ्र्यो । जम्मैले भन्दिनुपथ्र्यो । फेरि, म मन्त्रीले पनि भनेको छैन । हामी सबैको मानसिकता छ, सहुलियत लिने ।
नेपालमा धेरै सहुलियत लिने ठूलाबडाहरु नै हुन्छन् । त्यसैले हामीले अब ‘क्याटेगोरी’ गर्नुपर्छ । त्यसपछि त लाज लाग्छ नि मान्छेलाई । हामी यस्तो सिस्टम बनाइदिउँ कि ‘म सहुलियत लिन्न– म लिन्न’ भनेस् । पत्रिकामा नाम हाल्दिने क्या ! कस–कसले लिएको छ भनेर, फलानो–फलानो साहेबहरु पनि सहुलियतको ग्यास बाल्छन् भनेपछि त पछि हेर्नुहोला, यो अवस्था अन्त्य हुन्छ ।
असक्षम र असहाय जनतालाई हो सहुलियत दिने, बाँकीलाई चाँहि परेको मूल्यमा बेच्ने हो । त्यसपछि ग्यास व्यवसायीहरुको समस्या पनि हल हुन्छ । उहाँहरु पनि सहुलियत नै माग्नुहन्छ, हामीलाई भन्नुहुन्छ कि सहुलियत पुगेन । सहुलियत दरमै ग्यास बाल्न दिएको छ त ! ग्यास व्यवसायीले पनि म सहुलियत लिन्न भन्दिनुपथ्र्यो नि । त्यो छैन हेर्नुस् ।
डिपोमा समथिङ इज गडबड !
आयल निगम सबैको साझा सम्पत्ति हो । सरकारको सम्पति हो । यसलाई व्यवस्थित गरौं । यसमा सबैको हात हुन्छ ।
मकहाँ एकजना भाइ आयो, म त डिपोको हाकिम हुनुपर्यो भन्छ । मैले भनेँ– किन ? काम नगरी बसीबसी तलब खाएको रहेछौं, झन राम्रो नि त ! तर, अहिले पनि डिपोको हाकिम हुनुपर्यो भन्दै छ । यसको अर्थ के हो ? ‘समथिंग इज गडबड’ । मैले त के बुझेँको थिएँ भने अब त कोही यस्तो भन्न आउँदैन ।
म वनमन्त्री हुनुअघि ५०÷५० लाख तिरेर जिल्ला जान्थे, कैलाली, बाँके, चितवन, बारा, सिन्धुली, उदयपुर । ५०÷५० लाख रुपैयाँ नगद गनेर मन्त्रीलाई दिएर जान्थे । म आएपछि त कोही जान तयार भएन । जानुस् न कैलाली भन्यो, हजुर गाह्रो छ भन्थे ।
तपाईंको जिम्मा लिन्छु, गडबड नगर्नुहोला जानुस् भन्थेँ । किन ? कैलालीमा एक जना गयो, कारवाहीमा पर्यो । मैले नै पठाएँ, र भनें गडबड भयो भने ठीक हुँदैन । त्यहाँ गडबड हुन्छ भन्ने थाहा नै थियो, मान्छे लगाइराखेँ, गडबड गर्यो । पक्राउ पर्यो, निलम्बन भयो । त्यसपछि डीएफओले के बुझ्न थाल्यो भने, मन्त्रीले पठाउने हो, अनि सस्पेन्ड गर्ने हो ।
निगमको डिपोमा हाकिम हुन मारामार गर्नुको मतलब के हो भने, त्यहाँ गडबड छ । तँछाड–मछाड छ, कसलाई कसरी पछार्ने अनि जाने भन्ने पनि छ । मैले त्यति नबुझेको हैन ।
सबैजना सचेत हुनुस्, आफ्नो ड्युटी गर्नुस् । को के छ, मैले ८/१० महिनामा थाहा पाइसकेँ । कहाँ–कहाँ बसेर कसले के–के गरेको छ मलाई सबै थाहा छ । सबैजना सुध्रौं, मन्त्री सुध्रेपछि त तपाइँहरुलाई सुध्रिन गाह्रो हुँदैन होला नि त । म लगायत सबै सुध्रौं ।
विष्फोटको स्थिति नल्याऔं
आज त शुभकामना व्यक्त गर्ने दिन हो, यहाँ त अरु कुरा आउँदैन होला भन्ने लागेको थियो । तर, फेरि च्यालेन्ज आयो । म आएदेखि च्यालेन्ज नै च्यालेन्ज छ । जिन्दगीभर त लडियो, अब त अलिकति आराम होला भनेको, केको आराम हुनु ! १२÷१३ वर्षको उमेरदेखि लड्दै आएको हो । यहाँ आएपछि अलिकति शान्ति होला, आराम होला भनेको जहिल्यै च्यालेन्ज नै आउने क्या ! त्यसैले कसैले भनेको छ– संघर्ष नै जीवन हो, जीवन नै संघर्ष हो । जीवन रहुन्जेल त संघर्ष गर्नैपर्छ ।
मेरो आग्रह के भने विष्फोट हुने स्थिति नल्याऔं क्या ! यसले कसैलाई फाइदा गर्दैन । हामी छलफल गर्न तयार छौं । र, समझदारीबाटै समस्या पनि हल गर्दै आएका छौं । म विन्रतापूर्वक के भन्छु भने बसौं, तपाइँ व्यवसायीको पनि लगानी छ, जनताको पनि लगानी छ, यहाँ काम गर्नेहरुको पनि लगानी छ, उनीहरुको जीवन पनि यसैसँग जोडिएको छ ।
काम गर्ने ठाउँमा पनि जोखिम हुन्छ । सबैको लगानीलाई सबैले सम्मान गरौं । र, आयल निगमको कामलाई व्यवस्थित गरेर लैजाऔं ।
(राजधानीमा विहीबार आयोजित आयल निगमको वार्षिक उत्सवमा मन्त्री यादवद्वारा व्यक्त विचारको सम्पादित अंश)