Comments Add Comment

विश्व विजेता महेश्वरलाई सात लाख दिन राखेपको सिफारिस

२६ पुस, काठमाडौं । विश्व बडिबिल्डिङ च्याम्पियनसीपमा स्वर्णपदक जितेका महेश्वर महर्जनलाई सरकारले नगद पुरस्कार दिने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषदले उनलाई सात लाख नगद दिन खेलकुद मन्त्रालयलाई सिफारिस गरेको सदस्यसचिव केशव विष्टले बताए ।

‘यो नेपालका लागि गौरवको विषय भएकाले विशेष पुरस्कार दिन लागेका हौं,’ उनले अनलाइनखबरसँग भने । खेलकुदमन्त्री जगत विश्वकर्मासँग आफ्नो यस विषयमा मौखिक कुराकानी भएको र मन्त्री पनि सकारात्मक रहेको विष्टले बताए । मन्त्री विश्वकर्माले अहिलेसम्म यो प्रस्ताव क्याबिनेटमा भने लगेका छैनन् ।

‘यदि सात लाख नै दिने मन्त्रालयले निर्णय गर्‍यो भने क्याबिनेटमा प्रस्ताव लानुपर्छ होला, त्यो भन्दा थोरै दिँदा मन्त्रालयकै बजेटबाट पनि हुन सक्छ,’ बिष्टले भने ।

थाइल्यान्डमा आयोजित विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोटर्टस च्याम्पियनसीपको ७५ केजी तौल समुहमा महेश्वरले स्वर्ण जितेका थिए । नेपालले पहिलोपटक कुनै पनि विश्वस्तरीय प्रतियोगितामा स्वर्ण जितेको हो । यद्यपि, यो प्रतियोगिता अफिसियल भने नभएको बिष्ट बताउँछन् ।

‘इन्टनरनेसनल बडीबिल्डिङ एसोसिएसनले आयोजना गर्ने प्रतियोगितालाई अफिसियल मानिन्छ, यो चाहिँ थाइल्यान्डले गरेको हो,’ उनले भने, ‘यसको मतलब उहाँलाई विश्वविजेता भन्न नमिल्ने चाहिँ होइन । किनकी यसमा पनि विश्वका सबै राष्ट्रले भाग लिन पाउँछन् ।’

विष्टका अनुसार साफ, एसियन गेम, तथा ओलम्पिकमा पदक जित्नेहरुलाई निश्चित नगद पुरस्कार तथा सम्मानको व्यवस्था खेलकुद परिषदको कार्यविधिमै हुन्छ । फुटबल तथा क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता मिल्दा परिषदले निर्णय गरेर पुरस्कार दिने गरेको छ । बडीबिल्डिङलाई अफिसियल गेमको रुपमा नलिइएकाले पुरस्कारका लागि मन्त्रालयको निर्णय आवश्यक परेको हो ।

‘मन्त्रालयले निर्णय लिइसकेपछि हामी विशेष समारोहको आयोजना गरेर राष्ट्रपतिको हातबाट उहाँलाई पुरस्कृत गर्ने योजनामा छौं,’ विष्टले भने ।

यता बडिबिल्डिङ एसोसिएसनले आफूहरुलाई परिषदले हेला गरेको भनेर गर्दै आएको गुनासोलाई विष्टले खन्डन गरे । उनले बडिबिल्डिङमा परिषदले वार्षिक बजेट छुट्याएको र राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्दै आएको उनले बताए ।

‘हामीले सहयोग नगरेको भन्ने आरोप लगत हो, तर हामीसित पनि सिमित बजेट हुने भएकाले उहाँहरुको सबै डिमान्ड पूरा गर्न सक्दैनौं,’ बिष्टले भने । उनले महेश्वर थाइल्यान्ड जानेबेलामा आर्थिक सहायताका लागि परिषदमा प्रस्ताव नआएको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment