Comments Add Comment

डा. केसीको माग बेलैमा संबोधन गर्न चिकित्सक संघको आग्रह

काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेलैमा पहल थाल्नुपर्ने बताएको छ ।

आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले केसीको माग संबोधनको पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका सांसदलाई आग्रह गरे ।

‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आफै पहल गरेर भए पनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस् भनेर म यही मञ्चबाट आग्रह गर्दछु’ उनले भने । श्रेष्ठले प्रधानमन्त्री ओलीले डा. केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए ।

‘आवश्यक पर्यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं’ उनले भने ।

सत्तारुढ दल नेकपाका नेता एवम् प्रस्तावित मनमोहन मेडिकल कलेज सञ्चालक समितिका सचिव डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीले राजनीतिक माग राखेर १६ औं अनशन बसेको आरोप लगाएका छन् ।

उनले भने,‘डाक्टर केसीले राख्नुभएको ६ बुँदे मागमा स्वास्थ्य क्षेत्रबारे केही माग छैन । उहाँले प्रष्टसँग राजनीतिक माग राख्नुभएको छ ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले डा. गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेकोले वर्तमान सरकारले राजीनामा दिनुपर्ने माग गरे । उनले भने, ‘हिजो सरकारले लम्पसार परेर सम्झौता गर्‍यो, तर आज आएर सम्झौता कार्यान्वयन गरेन । नैतिकताका आधारमा पनि यो सरकारले राजीनामा दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment