६ माघ, काठमाडौं । विभागीय टिम आर्मी दशौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सिमरा रंगशालामा भएको खेलमा अर्का विभागीय टिम एपीएफलाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीको जितमा टंक बस्नेतले दुई गोल गर्दा दीपक गुरुङ र सुदिल राईले एक–एक गोल गरे । एपीएफका लागि राजन गुरुङ र आशिष लामाले गोल फर्काएका थिए ।
३१ औ मिनेटमा राजनको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर ४३ औं मिनेटमा टंकले गोल गर्दै पहिलो हाफसम्म आर्मीलाई १–१ गोलको बराबरी दिलाएका थिए ।
खेलको ४७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई २–१ गोलको अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा दीपकले गोल गर्दै आर्मीलाई २–२ गोलको बराबरी दिलाएका थिए ।
८६ औं मिनेटमा सुदिलले गोल गरेपछि आर्मी ३–२ गोलअन्तरले अघि रह्यो । खेलको अतिरिक्त समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनको गोलसँगै आर्मीले एपीएफमाथि ४–२ गोलको जित निकाल्यो ।
प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4