Comments Add Comment

सेयर लगानीकर्ताले अनलाइन कारोबारलाई पत्याएनन्

उद्घाटनका बेलाको उत्साह निराशामा फेरिँदै

९ माघ, काठमाडौं । पछिल्लो समय अनलाइन कारोबारमा गए पनि सेयर बजारको हालत उस्तै छ । सेयर बजार लगातार ओरालो लागिरहेको छ । कहिलेकाहीँ उकालो लाग्दा पनि झिनो अंकले मात्रै वृद्धि देखिने गरेको छ ।

सेयर बजार घट्नु वा बढ्नु त सामान्य प्रक्रिया नै हो । तर, यहाँ हामीले चर्चा गर्न खोजेको विषयचाहिँ अनलाइन कारोबार प्रणाली हो । अनलाइन कारोबार प्रणालीमा गएपछि सेयर ब्रोकर कार्यालयहरुमा भीड पक्कै कम हुनुपर्ने हो । किनकि सबैले घरमै बसीबसी कारोबार गर्न पाए पछि ब्रोकरसम्म पुग्नु किन पर्‍यो र ?

हामी यही सोचेर मंगलबार राजधानीका केही ब्रोकर कार्यालयहरुमा पुग्यौं ।

कार्यालयबाट निस्कनुअघि हामी ढुक्क थियौं कि ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड छैन । थोरैको संख्यामात्रै ब्रोकर कार्यालयमा लगानीकर्ता छन् । तर, हाम्रो अन्दाज फेल खायो ।

हामी ब्रोकर कार्यालयमा पुग्दा त्यहाँ लगानीकर्ताहरुको भीड उत्तिकै थियो । बस्ने ठाउँसम्म नपाएर उभिएरै पनि लगानीकर्ताहरु नेप्सेको वेबसाइट हेरिरहेका देखिन्थे ।

आखिर किन धाइरहेका छन् उनीहरु ब्रोकर कार्यालयमा ? हामीले लगानीकर्ताहरुसँग कुराकानी गर्‍यौं।

अनलाइनको कुनै भर छैन, ब्रोकरमा नआएर कता जानु !

कुराकानीका क्रममा सबै लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीको विश्वास गर्न नसकिने जवाफ फर्काए ।

घरमै बसीबसी सेयर कारोबार गर्न चाहेको भए पनि अनलाइन कारोबार प्रणालीमा समय–समयमा देखिइरहने समस्याका कारण विश्वास गर्न नसकेर ब्रोकर कार्यालयमा आउनुपरेको उनीहरुको प्रष्टीकरण थियो ।

‘घरमै बसीबसी कारोबार गर्न मन कसलाई हुँदैन र’ अनामनगरस्थित एक ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ता कुमार भण्डारीले भने, ‘अनलाइन कारोबारको विस्वास गर्न सकिने अवस्था रहेन, पछिल्लो पटक माथिल्लो तामाकोशीको कारोबारमै समस्या देखियो ।’

भण्डारीले नेप्सेले भित्र्याएको अनलाइनकारोबार प्रणालीमा अनियमितता समेत भएको हुन सक्ने बताए । आफूले यूजर आइडी लिएको भए पनि कारोबार गर्न भने ब्रोकर कार्यालय नै आउनुपर्ने बाध्यता रहेको उनले बताए ।

‘१९ करोड खर्च गरेर ल्याइएको यो सफ्टवेयरले अस्ति एक/डेढ घण्टा काम गरेन्’ उनले भने, ‘मैले अर्डर दिएको त्यत्तिकै फालिदिन सक्ने डर समेत त, विस्वास नभएका कारण अनलाइन कारोबार गर्न सकिएन ।’

अर्का लगानीकर्ता केशव कोइरालाले अहिलेको अनलाइन कारोबार प्रणालीले काम गर्न नसक्ने बताए । नेप्सेले भित्र्याएको यो प्रणाली पुरानो र काम गर्न नसक्ने समेत उनले बताए ।

अनामनगरकै अर्को ब्रोकर कार्यालयमा भेटिएका कमल पन्थीले नेप्सेको अनलाइन कारोबार प्रणालीमा प्राविधिक समस्या यथावत रहेको सुनाए । बेलाबखतमा देखिने समस्या र त्यसको समाधानमा हुने ढिलाइका कारण लगानीकर्ताहरुमा अन्योल सिर्जना भएको समेत उनले बताए ।

उनले भने, ‘यो प्रणालीमा अझै समस्या छ, डाटा अपेडेट हुन सकेका छैनन, सहि सूचना नपाएसम्म कसरी विश्वास गर्न सकिन्छ ?’

नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रदेश ७ संयोजक समेत रहेका कुमार थापाले अनलाइन कारोबार प्रणाली भित्र्याउँदा भ्रष्टाचार भएको हुन सक्ने आशंका गरे । ठूलो रकम खर्चिएर भित्र्याएको सफ्टवेयमा समस्या देखिनु केही केही चलखेल भएको संकेत हुने उनले बताए । अनलाइन प्रणालीलाई व्यवस्थित गर्न नसके यो प्रणालीप्रति विश्वस्त हुन नसकिने उनले बताए ।

उदघाटनका बेलाको जोश निराशामा फेरिँदै

नेपाल स्टक एक्सचेञ्जले कात्तिक अन्तिम साता (तिहार बिदा हुनुभन्दा एकदिन अघि) पाँचतारे होटलमा विशेष समारोहको आयोजना गरी अनलाइन कारोबार प्रणालीको शुरुवात गरेको थियो । उक्त प्रणालीको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका थिए ।

पुँजी बजार विरोधीको आरोप खेप्दै आएका अर्थमन्त्रीले अनलाइन कारोबार प्रणालीको माउस थिचेर उद्घाटन गर्दै भनेका थिए, ‘अब नेपाली पुँजी बजारमा सुधार हुन्छ, लगानीकर्ता आत्तिनुपर्दैन ।’

अझ अनलाइन प्रणाली भित्र्याउने सरकारी निकायका अधिकारीहरुले त सेयर बजारमा कायापलट नै हुने दाबीसम्म गर्न भ्याए । सरकारी पक्षमात्रै होइन, लगानीकर्ताहरुको मुहारमा पनि खुसीको बहार थियो ।

चालु आर्थिक वर्षको शुरुवातमै अनलाइन भित्र्याउने नेप्सेको तयारी थियो । तर, त्यसबेला सम्भव भएन । अनलाइन कारोबार प्रणाली भित्राउन ढिलाइ भएको भन्दै लगानीकर्ताहरुले तत्कालै उक्त प्रणाली भित्र्याउन नेप्सेसँग आग्रह गरेका थिए । लगानीकर्ताहलाई विश्वास थियो कि, यो प्रणाली शुभारम्भ भएकै दिनदेखि सेयर बजार बढ्छ ।

अनलाइन कारोबारको शुभारम्भ हुँदै गर्दा अब ठूलै मात्रामा सेयरबाट पैसा कमाइन्छ भन्ने अर्बौं रकम डुबाइसकेका लगानीकर्ताहरुले आशा बोकेका थिए । तर, लगानीकर्ताहरको खुसी उद्घाटन भएको दिनभन्दा धेरै टिक्न पाएन । प्रणाली शुरु भएको पहिलो दिन नै समस्या देखियो ।

प्रणालीको उद्घाटन भएको भोलिपल्ट तिहार बिदा भएका कारण कारोबार हुन सकेन । तर, तिहार बिदापछि जब कारोबार शुरु भयो, तब लगानीकर्ताहरुमा निराशा पैदा भयो । किनकी लगातार जसो सेयर बजार ओरालो लाग्यो ।

अनलाइन कारोबारमा विभिन्न समस्याहरु पनि देखा परे, जसका कारण लगानीकर्ताहरु आन्दोलनमै उत्रिन बाध्य भए । नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउदेखि लिएर आमरण अनसनसम्मका कार्यक्रमहरु सञ्चालन भए । त्यसको प्रमुख उद्देश्य भनेको नै सेयर बजार सुधार र विस्तारको माग थियो ।

यस्तो छ पछिल्लो कारोबार

यो साता शुरु भएको दिन अर्थात आइतबारदेखि नै सेयर बजार ओरालो लागिरहेको छ । साताको पहिलो दिन आइतबार ८ अंक भन्दा ठूलो गिरावट आएको सेयर बजार सोमबार दोहोरो अंकले गिरावट आयो ।

साताको तेस्रो दिन पनि सेयर बजार उक्सन सकेन । मंगलबार झिनो अंकले उकालो लागेर सेयर बजार बन्द भयो । मंगलबार नेप्से परिसूचक शुन्य दशमलव ७८ अंकले बढेर १ हजार १ सय ६८ दशमलव ८३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

यस दिन कुल १ सय ५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता सेयर खरिदबिक्री हुँदा २९ करोड २२ लाख १४ हजार ३४५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन पनि सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावर कम्पनीकोे भएको छ । जसको मंगलबार ५ करोड ४७ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

पछिल्लो तथ्यांक हेर्दा सेयर बजारमा २४ प्रतिशत भन्दा ठूलो गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ५ महिनाको तथ्यांक अनुसार सेयर बजारमा २४.४ प्रतिशतले ह्रास आएको छ । ०७४ मंसिर मसान्तमा १५२०.२ विन्दु रहेको नेप्से सूचकाङ्कमा २४.४ प्रतिशतले ह्रास आई २०७५ मंसिर मसान्तमा ११४८.८ विन्दुमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

०७५ असार मसान्तमा भने उक्त सूचकाङ्क १२१२.४ विन्दु रहेको थियो । धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २२.५ प्रतिशतले ह्रास भई ०७५ मंसिर मसान्तमा रु.१३७० अर्ब ३६ करोड कायम भएको छ ।

नेप्से भन्छ– ठूलो समस्या छैन

नेपाल स्टक एक्सचेञ्जले भने अनलाइन कारोबार प्रणालीमा त्यस्तो ठूलो समस्या नरहेको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अनलाइन कारोबार प्रणालीमा बाहिर हल्ला भएजस्तो समस्या नरहेको बताए ।

यद्यपि, सानातिना प्राविधिक समस्या भने कहिलेकाहीँ आउन सक्ने उनले बताए । ‘त्यस्तो ठूलो समस्या छैन, कहिलेकाहीँ साना समस्या आउन सक्छन्’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘कतिपय विषयहरु लाइभमा गएपछिमात्रै थाहाँ हुन्छन् हो त्यस्ता विषयहरुलाई समस्या भनिएको हो ।’

अनलाइन कारोबार प्रणालीमा प्रयोगकर्ताको संख्या भने कम रहेको उनले बताए । हालसम्म करिब ४ हजार ५ सय लगानीकर्ताहरुले अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिएको उनले बताए ।

करिब ४ हजार ५ सयले युजरनेम र पासवर्ड लिए पनि औषतमा दैनिक १ सय १० जनालेमात्रै अनलाइन कारोबार गरिरहेको उनले बताए ।

हाल नेपाली पुँजी बजारमा करिब १५ लाख लगानीकर्ताहरु रहेका छन् । यति धेरै लगानीकर्ताहरुमा १ सय १० जनाले मात्रै अनलाइन कारोबार गर्नु अत्यन्तै कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment