Comments Add Comment

त्रिभुवन विमानस्थललाई आन्तरिकमा घटुवा गर्ने प्रस्ताव अस्वीकृत

९ माघ, काठमाडौं । नेपालको हाल एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई घटुवा गर्ने प्रस्ताव संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अस्वीकृत गरेको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजकत्वको अध्ययन उपसमितिले त्रिभुवन विमानस्थललाई घटुवा गरी आन्तरिकमात्रै बनाउने प्रस्ताव गरेको थियो । तर राजधानीमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने नै भएका कारण उक्त प्रस्ताव पारित नगरिएको समितिकी सभापति पवित्रा निरौला -खरेल)ले जानकारी दिइन् ।

समितिका सबै सांसदहरुको राय बुझिसकेपछि प्रस्ताव अस्वीकृत गरिएको उनले बताइन् । पर्यटन तथा नागरिक उड्डयन सम्बन्धी अध्ययन तथा अनुगमन गर्न समितिले माधव नेपालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले बुधबार समितिमा प्रतिवेदन बुझाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई घटुवा गरेर आन्तरिक -डोमेस्टिक) मात्रै उडान तथा अवतरण गर्न सुझाव दिएको थियो ।

हाल निर्माणाधीन अवस्थामा रहेको र विवादमा समेत मुछिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि उपयुक्त भएको नेपाल संयोजकत्वको उपसमितिले निश्कर्ष समेत निकालेको थियो ।

निजगढलाई सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत गरी त्रिभुवन विमानस्थललाई आन्तरिक उडान तथा अवतरणका लागि मात्रै प्रयोग गर्नु पर्ने उपसमितिको सुझाव छ ।

पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन विमानस्थलमा पर्याप्त जग्गा नभएको तथा रन वे पनि एउटै मात्रै भएका कारण यसलाई आन्तरिक विमानस्थलमात्रै बनाउनु पर्ने बताए ।

प्रतिवेदन बुझाउदै नेपालले भने, ‘रन वे एउटा मात्रै छ, थप्ने ठाउँ पनि छैन, फेरि यति छोटो दूरीमा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्दैन ।’

पहिले नै जग्गा अधिग्रहण नगर्दा त्रिभुवन विमानस्थलमा रन वे थप्न नसकिएको समेत उनले बताए । २०४७ सालमा नै आफूले पर्याप्त जग्गा थप्न सुझाव दिएको भए पनि काम गर्ने मान्छेले धेरै जग्गा आवश्यक नपर्ने भन्दै अधिग्रहण गर्दा अहिले चाहिने जग्गा नभएको उनले बताए ।

क्षणिक समयका लागि मात्रै हेरेर विकास निर्माणका कामहरु गर्दा धेरै समस्या सिर्जना हुने नेपालले बताए । उनले अब विकास निर्माणका कामहरु गर्दा लामो समयका लागि सोचेर निर्णय गर्नु पर्ने बताए । उपसमितिले काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन नहुने सुझाव समेत दिएको छ ।

यसै उपसमितिले निजगढ अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त विमानस्थल भएको समेत बताएको छ । तर त्यहाँ वातावरणीय असर भने पार्न नहुने उपसमितिको सुझाव छ । रुख काट्ने कामलाई रोकी पहिले विरुवा रोप्ने काम समेत गर्न उपसमितिले सुझाव दिएको छ । उपसमितिले आयोजनाको स्रोत सुनिश्चित गरेपछि मात्रै रुख कटान थाल्न सुझाव दिएको छ ।

सांसद भीम रावलले राजधानीमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक पर्ने हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई घटुवा गरेर आन्तरिकमात्रै बनाउन नहुने धारणा राखेका थिए । अन्य सांसदहरुले पनि त्रिभुवन विमानस्थललाई आन्तरिक मात्रै बनाउनु पर्छ भन्ने प्रस्तावमा समर्थन जनाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment