Comments Add Comment

हिमाल सेताम्य, सडक हिलाम्य, सञ्चार अवरुद्ध

१० माघ दार्चुला । दुई दिनदेखिको हिउँदे वर्षाका कारण उच्च पहाडी क्षेत्रमा हिउँ परेको छ भने पहाडी क्षेत्रमा वर्षा भएको छ ।

अहिले सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाका हिमालहरु सेताम्य देखिन्छन् भने सडकहरु पानीले हिलो भएको छ । मंगलबारदेखि परेको वर्षा र हिमपातका कारण हिमालमा हिउँ थुप्रिएको छ ।

दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रकै सडकहरु वर्षाले हिलाम्ये भएका छन् । महाकाली नगरपालिकाको ५ मोती क्षेत्रको सडक हिलै हिलोले पोतिएको छ । यस सडक दार्चुला तिंकर सडकखण्ड अन्तर्गत पर्छ । उक्त सडक भएर सवारी साधन तथा पैदल यात्रीहरुलाई समेत आवत् जावत् गर्न समस्या भएको छ ।

जिल्ला सदरमुकाम खलंगा क्षेत्रको सडकको यो अवस्थाले जिल्लाका अन्य सडकको कमजोर अवस्था देखाउँछ । जिल्लाका विभिन्न ग्रामीण सडकखण्डहरु पनि यसरी हिलैहिलो हुदाँ सवारी साधनहरु सञ्चालन नभएको मार्मा गाउँपालिकाका विक्रमसिँह महराले बताए ।

यातायात र सञ्चार अवरुद्ध

दुई दिनदेखि लगातार परेको हिमपात र वर्षाले जिल्लाको यातायात र सञ्चार सेवा अवरुद्ध भएको छ ।

दार्चुलाको व्याँस र अपिहिमाल गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ भने दुहूँ, नौगाड र मार्मा क्षेत्रका उच्च पहाडी क्षेत्रका साथै सबै स्थानीय तहका उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

निरन्तरको हिमपात र वर्षाले जिल्लाको यातायत र सञ्चार पूर्ण रुपमा प्रभावित भएको छ । सडक हिलाम्य भएपछि मार्मा, दुहूँ र नौगाड गाउँपालिकाको यातायात पूर्ण प्रभावित भएको छ भने महाकाली लोकमार्गमा पर्ने तेर्छालेक क्षेत्रमा हिमपात हुँदा यातायात सञ्चालन गर्न समस्या भएको छ ।

हिकिलादेखि खलंगासम्मको सडक गाडी नै गुडाउन नसकिने अवस्था भएकाले आफू हिडेरै खलंगा पुगेको दुहुँ गाउँपालिका २ हिकिलाका भवानसिह धामीले बताए ।

महाकाली नगरपालिका २ मैखोली क्षेत्रमा सडक अवरुद्ध भएपछि नौगाडको यातायात पनि अवरुद्ध भएको छ । स्तरोन्नति हुन नसकेको सडक हिलाम्मे हुँदा जिप नै सञ्चालन गर्न नसकिने अवस्था आएको स्थानीय सागर डोबालले जानकारी दिए ।

महाकाली नगरपालिका क्षेत्रबाहेक अन्य स्थानीय तहमा सञ्चार अवरुद्ध भएको छ । स्टेसनहरुमा विद्यत् आपूर्ति हुन नसक्दा सञ्चार सेवा पनि प्रभावित भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

मंगलबारदेखि लगातर घाम नलागेका कारण सञ्चारमा समस्या आएको छ भने बैतडीको बित्थडमा समस्या आउँदा दार्चुला इन्टरनेट सेवा समेत पटक पटक अवरुद्ध हुने गरेको छ ।

निरन्तर वर्षा र हिमपात भए पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment