११ माघ, स्वीटजरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भन्दा नेपालको हवाइ सेवा राम्रो रहेको दाबी गरेका छन् । तर, भारतको भन्दा राम्रो हवाइ सेवा भएता पनि युरोपले नेपाली जहाजलाई अनुमति नदिनु दुःखद भएको प्रधानमन्त्रीको गुनासो छ ।
नेपालले फ्रान्सबाट दुईवटा एयरबस किनेको तर ती एयरबस फ्रान्समै उडाउन नपाइएको भन्दै प्रधानमन्त्री ओलीले फ्रान्सप्रति कटाक्ष गरे । आइकाओले नेपाली जहाजलाई उडान अनुमति नदिनु अचम्मलाग्दो भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
विहीबार साँझ स्वीटजरल्याण्डको जुरिचमा नेपाली समुदायसँगको जमघटमा प्रधानमन्त्री ओलीले हवाइ कनेक्टीभिटीको समस्याबारे कुरा गर्दै भने, ‘दुःखको कुरो अहिलेसम्म युरोपमा हाम्रा जहाजहरु प्रवेश गर्न पाउँदैनन् । आइकाओको प्रतिवेदनले भारतको हालत हाम्रोभन्दा कमजोर भनेको छ । तर, भारतले प्रवेश गर्न पाउँछ, हामीले पाउँदैनौं ।’
यो पनि पढ्नुहोस पश्चिमा शक्तिलाई प्रधानमन्त्रीको प्रश्नः संयुक्त वक्तव्य निकालेर गुटबन्दी गरेको ?फ्रान्सबाट नेपालले किनेका दुईवटा एयरबसको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले कटाक्ष गर्दा कार्यक्रममा सहभागी नेपाली समुदायका प्रतिनिधिवीच हाँसो छाएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यसो भने-
‘हाम्रो मित्रराष्ट्र फ्रान्सले हामीलाई दुईवटा एयरबस बेचेको छ । काठमाडौंमा एयरबस बस्न सक्छ, उड्न सक्छ भनेर बेचेको छ । उसको एयरबस बस्न पनि सक्छ । उड्न पनि सक्छ । तर, हामी तिम्रो एयरपोर्टमा ल्याउँछौं नि त भन्दा दिँदैन । अचम्मको प्रतिवन्ध छ ।
उसले (फ्रान्सले) हाम्रोमा बस्न सक्ने भनेरै बेच्या छ हामीलाई । हाम्रोबाट उड्न पनि सक्छ, त्यो पनि मानेको छ । तर, फ्रान्सको एयरपोर्टमा ल्याउँछु भन्दा मिल्दैन भन्छ । हाम्रो एयरपोर्ट खत्तम हो कि ? हाम्रो स्काई खत्तम हो कि ? फ्रान्सको…? बुझ्न गाह्रो छ ।’
प्रधानमन्त्री ओलीले नेपाली जहाजहरुमाथि युरोपमा लागि रहेको प्रतिबन्धबारे छलफल गरिने बताए । उनले भने- ‘यी कुराहरुमा हामी छलफल गर्छौं । र, म यहाँहरुलाई भन्न चाहन्छु, अहिलेको नेपाल कुनै पनि विषयमा खुल्ला छलफल गर्न कसैसँग पनि हिच्किचाउँदैन । यो हिच्किचाउने जमाना होइन । सार्वभौमिक समानताको सिद्धान्तका आधारमा सबै राष्ट्रका हैसियतमा बराबर छन् भन्ने मान्यताका साथ नेपाल अगाडि बढ्छ र त्यो मान्यताका साथ दृढताका साथ अगाडि बढेर आफ्ना समस्याहरु समाधान गर्दै हामी अगाडि आएका छौं ।’
वैशाख १ देखि ‘बुटिक एयरपोर्ट’
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वशाख १ गतेदेखि काठमाडौं विमानस्थललाई बुटिक एयरपोर्ट बनाइने स्वीटजरल्याण्डबासी नेपालीहरुलाई जानकारी दिए ।
प्रधानमन्त्रीले भने, ‘म तपाईहरुलाई भन्न चाहन्छु । विक्रम सम्वत भनेको, नेपालीहरुले मानी आएको विक्रम सम्वत्, नयाँ वर्ष २०७६ सालको बैशाख १ गतेबाट हामी काठमाडौं विमानस्थललाई दुनियाँकै पहिलो बुटिक एयरपोर्टका रुपमा सुरुवात गर्दैछौं । घोषणा पनि गर्छौं र सुरुवात पनि गर्छौं ।’