Comments Add Comment

सिमरा गोल्डकपको उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्दै

११ माघ, सिमरा । दशौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रीस्टारबीच शनिबार सिमरा रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।

दुई पटकको विजेता आर्मी क्लबले थ्रीस्टार क्लबसँग सिमरा गोल्डकपमा दोस्रो पटक फाइनल खेल्न लागेको हो । थ्रीस्टारलाई हराउँदै आर्मीले गत वर्ष दोश्रो पटक सिमरा गोल्डकपको उपाधि जितेको थियो ।

२०७१ सालमा सम्पन्न छैठौं संस्करणको समेत विजेता रहेको आर्मी चौथो पटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो । आठौं संस्करणको फाइनलमा संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेताका रुपमा चित्त बुझाएको थियो ।

नवजनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि बारा जिल्लामा निरन्तर आयोजना हुने यो एउटा मात्रै राष्ट्रियस्तरको प्रतियोगिता हो । सिमरा गोल्डकपको इतिहाँसमा मनाङ मस्र्याङ्दी क्लब र आर्मीले समान दुइ-दुइ पटक उपाधि उचालेका छन् । तर, लिग लगतै आयोजना भएकाले मनाङले यसवर्ष प्रतियोगितामा भाग लिएन ।

आर्मी तेस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ भने थ्रीस्टार गत वर्षको हारको बदला लिने दाउँमा छ ।

एपीएफलाई ४-२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नवजनजागृति यूवा क्लब सिमरालाई १-० ले पराजित गरेको थियो । थ्रीस्टारले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २-० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको थियो ।

शुक्रबार सिमरा रंगशालामा भएको पि्रम्याच कन्फ्रेन्समा दुबै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइनल जित्दै सिमरा गोल्डकपको शील्डमा नाम लेखाउने प्रयासमा रहने बताए । ‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचिमा नाम लेख्नुछ’ उनले भने ।

थ्रीस्टारका कप्तान विक्रम लामाले आर्मीसँग खेल्नु आफूहरुका लागि एउटा अवसर समेत रहेको बताए । ‘उच्च र्फममा रहेको आर्मीसंग खेल्दा हामिले केहि नयाँ कुरा सिक्ने अवसर समेत पाउँछौं’ उनले भने ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०/५० हुने बताए । न्यौपाने भन्छन्, ‘जसले मौकाको सदुपयोग गर्न सक्छ उसले नै उपाधि जित्छ ।’

प्रतियोगिताको विजेताले ट्रफिसहित ६ लाख पाउनेछ । त्यस्तै, उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment