Comments Add Comment

महिला भलिबलमा एपीएफः आठ प्रतियोगिता, सात उपाधि !

१३ माघ, काठमाडौं । आठ प्रतियोगिता, सात उपाधि ! हो, यो वैशाखयता सशस्त्र प्रहरी बल (एपीएफ)को महिला भलिबल टिमले हासिल गरेको उपलब्धीको आँकडा हो ।

घरेलु महिला भलिबलमा एपीएफको कति दबदबा छ भनेर बुझ्न यो आँकडा पर्याप्त छ ।

२०७५ सालमा आयोजना भएका लगभग सबै प्रतियोगिताको उपाधि एपीएफको पोल्टामा गएको छ । माघको पहिलो सातासम्म आठ वटा राष्ट्रिय स्तरका महिला भलिबल प्रतियोगिता सम्पन्न भए, जसमध्ये सात उपाधि एपीएफले जित्यो । शेरबहादुर खड्का स्मृति कप, तिज महोत्सव भलिबल प्रतियोगिता, प्रथम सभामुख कप, एनभीए लिग, २२ औं महिला राष्ट्रिय भलिबल, न्यूडायमन्ड कप, दोस्रो सभामुख कप प्रतियोगिता उसैले जितेको छ ।

एउटै प्रतियोगितामा एपीएफ उपाधिबाट चुक्यो । त्यो प्रतियोगिता हो, आदी अवादी महिला भलिबल लिग (एभीएल) । यो प्रतियोगितामा भने एपीएफ क्लब फाइनलमा चितवन टाइगर्ससँग पराजित हुँदै उपविजेतामा चित्त बुझायो ।

अहिले ढोरपाटन महिला डबल भलिबल लिग चलिरहेको छ । निकै लयमा देखिएको एपीएफ उपाधिको मुख्य दावेेदार हो ।

एपीएफकी कप्तान विनिता बुढाथोकी भन्छिन्, ‘क्लबको लगानी, एपीएफ टिमको मेहेनत र प्रशिक्षकको भूमिका नै सफलताको मुख्य कारण हो । हामी सन्तुष्ट छौं ।’

कान्छो टिम

नेपाली महिला भलिबल इतिहासमा विभागीय एपीएफ क्लब निकै कान्छो मानिन्छ । एपीएफले पुरुष भलिबलमा खेल्न थालेको २०६० देखि हो, तर त्यसको सात वर्षपछि २०६७ साल साउनमा मात्रै महिला भलिबल टिम बनाएको थियो ।

त्यसबेला महिला भलिबलमा नेपाल पुलिससँगै पश्चिमाञ्चल विकासक्षेत्रको निकै दबदबा थियो । पाँच विकास क्षेत्रसँगै अन्य टिमको पनि उत्तिकै बलियो उपस्थिति हुन्थ्यो ।

एपीएफले महिला टिम बनाउँदा सीमित खेलाडी थिए । राम्रा खेलाडीहरु नेपाल पुलिस वा पाँच विकास क्षेत्रसँग अनुबन्धित भएकाले टिम बनाउनै सकस परेको थियो । सुदूरपश्चिमका पाँच जना खेलाडी अनुबन्धित गर्दै टिम बनाइएको थियो ।

टिम म्यानेजर विजय केसी भन्छन्, ‘न्यू डायमन्ड एकेडेमीबाट रमिला तण्डुकार, पश्चिमाञ्चलबाट मञ्जु गुरुङ, सिपोरा गुरुङ र अरुणा शाही जस्ता खेलाडी चर्चामा थिए । तर, हाम्रो टिममा कुनै स्टार खेलाडी थिएनन् ।’

सुरुको एपीएफ टिममा साधना बम, उषा विष्ट, नेविका चौधरी, ज्योती चौधरी, चन्दा राना र सन्ध्या बम आबद्ध भएका थिए । तर, चर्चित खेलाडी विनिता बुढाथोकीलाई क्लबमा भित्र्याएपछि एपीएफ टिम पनि केही बलियो भयो ।

यसरी सुरु भयो विजय यात्रा

एपीएफले महिला टिम बनाएको एक वर्षपछि नै नियमित प्रतियोगिताहरुमा भाग लिन थाल्यो । डेब्यु वर्ष २०६८ मा टिमले कुनै पनि प्रतियोगिता जित्न सकेन ।

सफलता यात्रा २०६९ सालदेखि सुरु भयो । २०६९ सालमा पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल आमन्त्रण भलिबल प्रतियोगितामा पहिलो उपाधि जित्यो ।

त्यसपछि राष्ट्रिय स्तरका अधिकांश प्रतियोगितामा आफ्नो पकड जमाउन थाल्यो । एपीएफले पुलिस र पश्चिमाञ्चल विकास क्षेत्रलाई आफूभन्दा पछाडि धकेल्यो । अब महिला भलिबलमा एपीएफले उपाधि जित्न कुनै प्रतियोगिता बाँकी छैन ।

आठौं ढोरपाटन तथा ब्लु स्काई कप, सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता, १८ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता, राष्ट्रिय क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, ब्लु स्काइ कप, १९ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता, तेस्रो प्रधानमन्त्री कप भलिबल प्रतियोगिता लगायतका मुख्य प्रतियोगिताको उपाधि उसले उचालेको छ ।

गत वर्ष मात्र एपीएफसित मुख्य ९ वटा प्रतियोगिताका उपाधि थिए । तर, बेलाबेला न्यू डायमन्ड एकेडेमीको टिमले च्यालेन्ज गर्न भने छाडेको छैन ।

एपीएफले महिला भलिबलमा आफ्नो वर्चश्व कायम राख्न सक्छ त ? म्यानेजर केसी भन्छन्, ‘हाम्रो उद्देश्य भनेको महिला भलिबलबाट एपीएफको शिर उच्च बनाउनु हो । अहिले राष्ट्रिय टिममा एपीएफका नियमित पाँच जना खेलाडी छन् । अझ मिहिनेत गर्दै राम्रा खेलाडी उत्पादन गर्नेछौं ।’

एपीएफका शान

अहिले एपीएफ क्लबसँग १२ जना खेलाडी आबद्ध छन् । एपीएफलाई यो स्थानमा ल्याउन उनीहरुको ठूलो योगदान छ ।

सरस्वती चौधरी ओपन स्पाइकर हुन् । उनी एपीएफकी ‘म्याच विनर’ खेलाडीको रुपमा चिनिन्छिन् । नेविका चौधरी पनि ओपन स्पाइकरको भूमिकामा छिन् ।

रेश्मा भण्डारी अलराउण्डर हुन् । कप्तान विनिता बुढाथोकी सेटरको भूमिकामा छिन् । उनले टिम लिड गर्दै एपीएफलाई दर्जनौं उपाधि दिलाइसकेकी छिन् ।

उषा विष्ट, हिरा केसी र कविता भट्ट क्वीक स्पाइकर हुन् भने पूजा चौधरी ओपन स्पाइकर, शशी चौधरी सेटर र रञ्जना खड्का अलराउण्डरको भूमिकामा खेल्छन् । त्यस्तै, निसाना बलाल र मनिषा तामाङ भने लिब्रो पोजिसनमा खेल्छन् ।

प्रशिक्षक ज्ञानेन्द्र विष्ट भन्छन्, ‘एकदमै मेनेहत गर्ने खेलाडी छन् । सबैको लगानशीलताकै कारण एकपछि अर्को उपाधि जितेका हौं । हरेक पोजिसनमा सबै खेलाडी उत्तिकै सशक्त छन् ।’

स्तरीय प्रतियोगिताको अभाव

नेपालमा अहिले वर्षेनी दर्जनभन्दा बढी महिला भलिबल प्रतियोगिता हुने गरेका छन् । कुना कन्दरामा समेत खेल्न सकिने यो खेल नेपालको राष्ट्रिय खेल पनि हो ।

तर के भलिबलमा ब्यवसायिकता आइसकेको छ त ? नेपालमा हुने अधिकांश प्रतियोगिता स्तरीय छैनन् । सानो कोर्ट, धुलाम्य मैदान र खेलाडीलाई आधारभूत आवश्यक पर्ने सामग्रीविनै कतिपय प्रतियोगिता हुने गरेको छ । यस्तो प्रतियोगिताले खेलाडीको क्षमता बढाउनेभन्दा घटाउने देखिन्छ ।

प्रशिक्षक विष्ट भन्छन्, ‘खेलाडीलाई घाइते हुनबाट कसरी बचाउने भन्ने चिन्ता छ । किनभने उनीहरुले विश्राम लिनै पाउँदैनन् । थप रणनीति बनाउने समय पनि छैन ।’

गत वर्षको ढोरपाटन महिला भलिबल लिग सकिएलगत्तै न्यू डायमन्ड कप भएको थियो । ढोरपाटनको उपाधि एपीएफले जित्यो । ढोरपाटनको मैदानमा एपीएफकी मुख्य खेलाडी नेविका चौधरी घाइते भइन् । खेलकै क्रममा घाइते भएकी उनलाई मैदानबाट सीधै अस्पताल भर्ना गर्नुपरेको थियो ।

प्रशिक्षक विष्ट त्यो घटना सम्झिँदै भन्छन्, ‘हामी फाइनलमा पुगेका थियौं । हामीसँग नेविकाको अप्सनमा खेलाडी पनि थिएन । स्लाइन पानी चढाएर हामीले उनलाई फाइनलमा खेलायौं । डाक्टरले खेल्न सक्दैन भन्दाभन्दै खेलाउनुपर्‍यो ।’

नेपाल भलिबल संघ भने यो विषयमा चुप छ । संघले प्रतियोगिताहरुको तालिका मिलाउन सकिरहेको छैन ।

एपीएफकी कप्तान विनिता भन्छिन्, ‘प्रतियोगिता धेरै छन् । त्यसैले हामीले विश्राम पाएका छैनौं । दुई/चार दिन विश्राम पाए सबै खेलाडीको लागि राम्रो हुने थियो ।’

कुशल रणनीतिकार विष्ट

एपीएफको महिला भलिबल टिममा जति सशक्त खेलाडी छन्, त्यति नै कुशल रणनीतिकार पनि छन् । उनी हुन्, प्रशिक्षक ज्ञानेन्द्र विष्ट । सुरुवाती समयदेखि महिला टिमको प्रशिक्षक रहेका ज्ञानेन्द्र कम बोल्छन् तर, उनको जवाफ नतिजामा हुन्छ ।

एपीएफ क्लबबाटै खेलाडी जीवन विताएका उनले लामो समय राष्ट्रिय प्रतियोगिताहरु खेले । ०६७ पछि प्रशिक्षण पेशा अंगालेका हुन् । खेलाडी जीवनभन्दा प्रशिक्षकको जिम्मेवारी सम्हाल्न निकै चुनौती हुने उनको ठम्याई छ ।

विष्ट भन्छन्, ‘खेलाडी भनेको प्रशिक्षकले कुरा मान्ने हो । तर प्रशिक्षकले हरेक कुरा सोचेर बस्नु पर्ने हुन्छ । सिंगो टिमको जिम्मेवारी लिनु आफैंमा सहज छैन ।’

उनले अघि भने, ‘एपीएफले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे जस्तो लाग्छ ।  मैले मात्रै हैन सबै खेलाडीको उत्तिकै योगदान छ । सबैको साथ र सहयोग पाएको छु ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment