+

विजयी रन जोड्न चाहन्थेँ : पारस

२०७५ माघ  १५ गते ११:११ २०७५ माघ १५ गते ११:११
विजयी रन जोड्न चाहन्थेँ : पारस

१५ माघ, काठमाडौं । यूएईविरुद्ध नेपाललाई ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज जिताउने क्रममा कप्ता पारस खड्काले अविस्मरणीय इनिङ खेले । उनको १ सय १५ रनको इनिङसँगै नेपालले सिरिज २-१ ले जितेको छ ।

यद्यपि, उनलाई आफ्नो इनिङप्रति अझै पूर्ण सन्तुष्टी भने छैन । नेपाललाई जितका लागि ४० रन अझै आवश्यक रहेको अवस्थामा आउट हुनुपर्दा उनलाई नमज्जा लागेको थियो ।

पारसले भनेका छन्, ‘म विजयी रन जोड्न चाहन्थे । म आउट हुँदा हामीलाई अझै ४० रन चाहिएको थियो । धन्य, सोमपाल र आरिफले राम्रो ब्याटिङ गरे । युवा खेलाडीहरुप्रति म खुसी छु ।’

यसअघिका दुई खेलमा आफू छिट्टै आउट हुँदा टिम दबावमा परेको उनले बताए ।

यद्यपि, हिजोको पारसको इनिङ हरेक हिसाबले उत्कृष्ट थियो । उनले एकातर्फ नेपालको इनिङ बुनिरहेका थिए भने अर्कोतर्फ आक्रामक सटहरुको मद्दतले रन रेट पनि खस्किन दिएका थिएनन् । उनको प्रेरणामा अन्य ब्याट्सम्यानहरुले पनि सकारात्मक क्रिकेट खेले ।

पारसको इनिङमा १५ चौका र १ छक्का समावेश थिए । ब्याट मात्र होइन, बलिङमा पनि पारसले राम्रो प्रदर्शन गरे । दुई विकेट लिएका उनले त्यसका लागि ४४ रन मात्र खर्चिएका थिए ।

पारसले यूएईविरुद्धको ऐतिहासिक जितलाई ‘एउटा उज्यालो दिन’ को संज्ञा दिएका छन् ।

यूएईको न्युज पोर्टल ‘द नेशनल‘ सँग खड्कालाई प्रतिक्रिया दिँदै उनले भने, ‘यो हाम्रो उज्यालो दिनहरुमध्ये एक हो । देशका लागि खेल्न पाएको हरेक अवसर भव्य हुन्छ ।’

टी-२० विश्वकप, एकदिवसीय मान्यतापछि पहिलो सिरिज जितेको स्मरण गर्दै उनले भनेका छन्, ‘यी हाम्रा उज्याला दिन हुन् ।’

पारसले गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टूमा घटुवा हुने संघारबाट नेपाली टिम अगाडि बढेको स्मरण गरे । अबको केही वर्ष एकदिवसीय मान्यता रहने उल्लेख गर्दै उनले भने, ‘हामी यस्तो नजिता अरु पनि चाहन्छौं र क्रिकेटिङ वर्ल्डमा चिनिन चाहन्छौं ।’

खड्का एकदिवसीय शतक हान्ने पहिलो नेपाली क्रिकेटर हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय