Comments Add Comment

फितलो भूमिकामा पनि नायिकाको ठूलो हल्ला

 

हुनत, चलचित्र क्षेत्र भनेकै हल्ला गरेर विक्ने र टिक्ने ठाउँ हो । हल्ला गर्न सकिएन भने राम्रो काम गरेर पनि टिक्न मुश्किल पर्छ भनिन्छ । तर, कहिलेकाही कलाकारले नचाहिदो हल्ला गरिदिन्छन् । जसलेगर्दा, उनीहरुको भूमिका र कामलाई लिएर ठूलै आशा राखेका दर्शकले चलचित्र चलेपछि भने निराश हुनुपर्छ ।

नेपाली चलचित्रका कलाकारहरुमा देखिने यस्तो खालको ‘हल्लाबोल’ले कहिलेकाही ‘बाघ र बाख्रा’को कथा संझाइदिन्छ । चलचित्र रिलिज अगाडि आफ्नो भूमिका निकै राम्रो रहेको, यस्तो भूमिका आफूले पहिले नगरेको भन्दै हल्ला गर्ने कलाकारले चलचित्र चलेपछि भने दर्शक र मिडियालाई निराश बनाएका छन् ।

चलचित्र ‘पशुपति प्रसाद’ चल्नु अगाडि यसको प्रचारमा नायिका बर्षा सिवाकोटी खुबै दौडिइन् । उनले, चलचित्रमा आफ्नो भूमिका विशेष रहेको बताइरहँदा उनीप्रति दर्शक र समिक्षकको आशा विशेष बन्यो । तर, चलचित्र रिलिजपछि बर्षाको रिलिज अगाडिको बोली फिक्का भयो । चलचित्रमा उनी मुश्किलले ५ मिनेट देखिएकी छिन् । उनको भूमिका यति कमजोर थियो कि, चलचित्र सकिएपछि उनलाई दर्शकले खासै वास्ता गर्दैनन् । तर, चलचित्र रिलिज अगाडि उनले गरेका कुराले दर्शक र समिक्षकले ठूलै आशा उनीमाथि राखेका थिए ।

यस्तै खालको ‘हल्लाबोल’ नायिका प्रियंका कार्कीमा अझ बढी देखिन्छ । चलचित्र ‘चंगाचेट’ रिलिज अगाडि यसको प्रचारमा सक्रिय रहेकी प्रियंकाबाट दर्शकले ठूलै अपेक्षा गरेका थिए । तर, चलचित्र हेरिरहँदा दर्शकले प्रियंकालाई पर्दामा खोज्नुपर्ने भयो । उनको भूमिका यति फिक्का थियो कि, रिलिज अगाडि यति धेरै हल्ला कार्कीले किन गरिन् भनेर दर्शकले प्रश्न सोधे । प्रियंकाले हिजोआज फ्यानलाई झुक्याउने गरेकी छिन् । चलचित्रको प्रचारमा निकै नै कुरा गर्ने नायिका धेरै चलचित्रमा त अहिले आइटम गर्लको रुपमा देखिन थालेकी छिन् ।

चलचित्र ‘सुश्री सम्पत्ती’ हेरेपछि दर्शकले सारा सिर्पालीमाथि यस्तै खालको प्रश्न उठाए । किनकी, चलचित्रकी एक मात्र नायिकाले आफ्नो करिअर नै यो चलचित्रले बदल्ने कुरा गरिन् । तर, चलचित्र हेर्दै गर्दा दर्शकले सारालाई ५ मिनेट पनि मुश्किलले पर्दामा देखे । साराको भूमिका यति फितलो थियो कि, शिर्ष भूमिकामा काम गरेर पनि उनी निरिह देखिइन् । भलै, चलचित्रले व्यापार गतिलो नगरेपनि उनका लागि ‘रुद्र’को भूमिका विशेष थियो । तर, साराले भनेजस्तो ‘सुश्री सम्पत्ती’मा दर्शकले केही पनि पाएनन् ।

चलचित्र ‘मिस्टर भर्जिन’ हेरेपछि मरिष्का पोखरेलमाथि पनि दर्शकले यस्तै प्रश्न सोझाए । चलचित्रको प्रचारको समयमा मरिष्काले यो चलचित्रको बारेमा जुन खालको कुरा गरेकी थिइन्, रिलिजपछि दर्शक चलचित्र र उनको भूमिकालाई लिएर निराश भए । चलचित्रमा धेरै समय आफ्नो अनुहार सलले छोपेर हिड्ने मरिष्काको फितलो भूमिका र नायकको पछि मात्र कुदेको देख्दा दर्शक निराश बने ।

यी त उदाहरण मात्र हुन् । नेपाली चलचित्रका धेरै नायिकाले चलचित्र रिलिज अगाडि आफ्नो भूमिकाको बारेमा जुन खालका कुरा गर्छन्, चलचित्र हेरेपछि दर्शक निराश बनेका छन् । यसले एक–दुइपटक त दर्शक झुक्किएलान् र हलसम्म जालान् । तर, लामो रेशको घोडा बन्नका लागि यस्ता गफले काम गर्दैन । आफ्नो भूमिकाको बारेमा नचाहिँदो ‘हल्लाबोल’ कलाकार किन गर्छन्, यो आफैमा उदेकलाग्दो कुरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment