+
+

सिम्रौनगढ मर्मतसम्भारको काम पुरातत्व विभागले रोक्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १७:४७

१५ माघ, वीरगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहेको पुरातत्व विभागको टोलीले बारा सिम्रौनगढबाट इँटाको नमूना (स्याम्पल) लिएको छ ।

रानीवास मठ मर्मतको क्रममा ठेकेदारले पुरातात्विक महत्व बोकेका संरचना र इँटाहरु ध्वस्त पारेको पुरातत्वविदहरुले गुनासो गरेपछि विभागको टोली सिम्रौनगढ पुगेको हो ।

पुरातत्वविदहरुको गुनासोपछि विभागले तत्कालका लागि मठ मर्मतसम्भार र बाँकी निर्माणको काम पनि रोकेको छ ।

विभागका ईन्जिनियर सन्तोष यादव नेतृत्वको टोलीले परीक्षणका लागि खाल्डो खन्दा भेटिएका इँटाको नमूना लिएर आएको बताए । ‘भूइँमा ओछ्याउन प्रयोग गरिने दची आपा, तेलिया लगायतका दुई/तीन थरी इँटा भेटिएको छ,’ उनले भने, ‘इँटा कति पुरानो हो त्यसै भन्न सक्ने अवस्था छैन, त्यसैले नमूना परीक्षणका लागि स्याम्पल लिएर आएको छु ।’

पुरातात्विक सम्पदाको ‘मर्मत सम्भार’ गर्दा पुरातत्व विभागको तर्फबाट आयोजना निरीक्षक र प्रतिनिधि हुनुपर्नेमा कोही नरहेको, सम्पूर्ण पुरातात्विक सम्पदाको ‘मर्मत सम्भार’ ठेकेदारकै भरमा भइरहेको, पुरातात्विक कार्यमा हेवी इक्विपमेन्ट अर्थात डोजर र ट्याक्टरको प्रयोग गरेर माटोमुनि रहेका कर्णाटकालीन भित्ताहरु भत्काइएको, माटो खन्दा निस्किएका कर्णाटकालीन इँटाहरूलाई सुरकी बनाउन प्रयोग गरिएको  पुरातत्व विदहरुले गुनासो गरेका छन् ।

प्रशिक्षण नपाएको मिस्त्री र मजदुरलाई काममा लगाएका कारण कर्णाटकालीन इँटा तथा अनेक पुरातात्विक वस्तुहरु टुक्रिएको, पुरातात्विक सर्वेक्षण नगरीकनै रानिवास क्षेत्रमा जमीनमुनि ६ फिटसम्म खाल्डो खनिएको, र सो क्रममा भेटीएका विभिन्न प्रकारका अवशेषहरुको पुरातात्विक संरक्षण नगरिएको पाइएको उनीहरूको दावी छ ।

सन १०९७ देखि १३२६ सम्म स्थापित प्राचिन मिथिलाको राजधानी सिम्रौरनगढÞमा प्राचिन नगरका अनेक तह हुन सक्ने विज्ञहरुको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?