Comments Add Comment

यस वर्षको ‘अविरल यात्रा’ स्वर किन्नरी ज्ञानु राणामा समर्पित हुने

माघ २२ गते प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम

१६ माघ, काठमाडाैं ।  द हिडेन ट्रेजरले यसवर्ष पनि विशेष सांगितिक यात्रा ‘अविरल यात्रा’ आयोजना गर्ने भएको छ । यस वर्षको संस्करण स्वर किन्नरी ज्ञानु राणामा समर्पित गरिने द हिडेन ट्रेजरले जनाएको छ ।

स्वर, संगीत वा गायन मार्फत नेपाली संगीतमा महत्वपूर्ण योगदान पुर्‍याएका स्रस्टाहरुलाई जीवनकालमै सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम गर्ने गरिएको संस्थाको भनाइ छ ।
अविरल यात्राको यो संस्करण देखि स्रस्टालाई नगद १ लाख रुपियाँसहित सम्मान गरिने जनाइएको छ ।

राजु सिंह संगीत संयोजक तथा परिचालक रहने अविरल यात्राको तेस्रो संस्करणमा ज्ञानु राणाका कालजयी गीतहरुलाई मीना निरौला, विकासजंग राणा, महेन्द्र श्रेष्ठ, सरिता शाही, सुरजकुमार थापा, प्राश्ना शाक्य र स्वयं उनले लाइभ प्रस्तुत दिनेछिन् ।

प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा माघ २२ साँझ ५ बजे विशेष अर्केस्ट्रासहित आयोजना हुने लाइभ संगीत कार्यक्रमलाई विगत बर्षहरुझैं नेपाल टेलिभिजनले लाइभ प्रसारण समेत गर्ने बताइएको छ ।

कार्यक्रमलाई अघिल्ला संस्करणमा झै यस पटक पनि रुस्लानले मुख्य प्रायोजन गरेको छ भने नेपाल टेलिभिजन र काठमाडौं पोष्ट अफिसियल मिडिया पार्टनर रहने द हिडेन ट्रेजरले जानकारी दिएको छ ।

कार्यक्रममा सिरीमा सिरी नि, च्याङ्वाहोइ च्याङ्वा, करोडौं मुटुहरुको, मान्छेको माया यहाँ खोलाको पानी जस्तो, कसैले बुझेन लगायत पन्ध्रवटा सदाबहार गीत प्रस्तुत हुनेछन् ।

‘यो यात्राको विशेषता संगीत प्रस्तुति मात्र होइन, स्रस्टाको गीति इतिहासलाई पुस्तक रुपमा सुरक्षित गरेर उनीहरुको जीवनलाई अभिनन्दन गर्नु पनि हो’, द हिडेन ट्रेजर जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लेखक तथा पत्रकार अशोक सिलवालले अविरल यात्राको पहिलो संस्करणमा ‘इन्द्रेणी जीवन’ -शब्द) शीर्षकमा यादव खरेलको जीवनचित्र कोरेका थिए भने दोस्रोमा ‘संगीतको स्वर’ -संगीत) शीर्षकमा दीपकजंगमको ।

योे तेस्रो संस्करणमा उनै सिलवालले ‘कण्ठमा कृष्ण’ (स्वर) शीर्षकमा ज्ञानु राणाको जीवनचित्र कोरेका छन् । अविरल यात्राको भव्य कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिने द हिडेन ट्रेजरले जानकारी दिएको छ ।

२०५२ सालमा स्थापित द हिडेन ट्रेजरले प्रत्येक बर्ष ‘व्युटी विथ ब्रेन’मा आधारित मीस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment