Comments Add Comment

यूएईविरुद्ध सिरिज : नेपालको धारिलो बलिङ, सुधारिएको ब्याटिङ

बलिया क्रिकेट राष्ट्रहरुसँग ओडीआई खेल्ने पहलकदमी आवश्यक

२० माघ, काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी–२० दुवै सिरिज नेपालले आफ्नो पोल्टामा पार्‍यो । दुवै सिरिजमा १–० ले पछि परेको नेपालले उत्कृष्ट कमब्याक गर्दै सिरिज जितेको हो ।

यो क्रिकेट श्रृंखला धेरै कारणले नेपाली क्रिकेटप्रेमीहरुका निम्ति अविस्मरणीय रहनेछ । नेपालले एकदिवसीय र टी–२० सिरिज जितेको यो पहिलो अवसर हो ।

एकदिवसीय सिरिज खेलेसँगै नेपालले पहिलो पटक आईसीसी वान डे र्‍याङ्किङमा आफ्नो स्थान बनायो । र, यही सिरिजका क्रममा नेपालका दुई युवा खेलाडीहरुले विश्व कीर्तिमान बनाए ।

सिरिजको सुरुवात निकै खराब थियो । पहिलो एकदिवसीयमा नेपाली ब्याट्सम्यानहरु यूएई बलरहरुसामू टिक्न नसकी मात्र ११३ रनमा अलआउट भएका थिए । बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए पनि जित दिलाउन सकेनन् ।

पहिलो म्याचमा नेपालको ब्याटिङ हेर्दा फ्यानहरु निराश बनेका थिए । तर, सुखद पक्ष यो भयो कि बाँकी दुई खेलमा नेपाली ब्याटिङको नयाँ रुप देखियो ।

पहिलो म्याचमा पहिले ब्याटिङ गर्दा न्यून स्कोरमा समेटिए पनि दोस्रो म्याचमा नेपालले टस जिते र पहिलो ब्याटिङ नै गर्ने हिम्मतिलो निर्णय लियो । नेपालले लक्ष्य दिएर भन्दा लक्ष्य पछ्याएर धेरै सफलता हासिल गर्ने गरेको छ । यस अर्थमा पनि कप्तान पारस खड्काले लिएको निर्णय बोल्ड थियो ।

यो म्याचमा नेपालका १६ वर्षीय ब्याट्सम्यान रोहितकुमार पौडेलले ५५ रनको महत्वपूर्ण पारी खेले । उनी एकदिवसीयमा अद्र्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने । ११३ रनमा ५ विकेटको स्थितिमा संघर्ष गरिरहेको नेपाललाई उनले २ सय ४२ रनसम्म पुर्‍याउन ठोस योगदान गरे ।

जवाफी ब्याटिङमा उत्रेको यूएईका ब्याट्सम्यानलाई नेपाली बलरले टिक्न दिएनन् । ९७ रनमै उनीहरु अल आउट भए र नेपालले १४५ रनको ठूलो जित हासिल गर्‍यो । खेलमा फास्ट बलर सोमपाल कामीले ५ विकेट र स्टार बलर सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

पहिलो र दोस्रो म्याच १–१ को स्थितिमा रहेपछि फाइनल म्याचको रोमाञ्चकता ह्वात्तै बढ्यो । र, महान खेलाडीले सबैभन्दा महत्वपूर्ण समयमा आफ्नो क्षमता देखाउँछन् भन्ने पुष्टि गर्दै नेपालका कप्तान पारस खड्काले फाइनलमा नेपाललाई जिताए । उनले यूएईविरुद्ध ऐतहासिक शतक हाने ।

एकदिवसीय जितेपछि टी–२० सिरिजमा नेपालको मनोबल उच्च थियो । तर, एकदिवसीय जस्तै टी–२० मा पनि नेपालले खराब सुरुवात गर्‍यो । नेपाल पराजित भयो । यद्यपि, सो म्याचमा नेपालका १७ वर्षीय सन्दिप जोराले कीर्तिमानी अद्र्धशतक बनायो ।

पहिलो म्याच हारेपछि नेपाललाई बाँकी दुई म्याचमा सतप्रतिशत जित हासिल गर्नुपर्ने वाध्यता थियो । र, नेपाल यसमा सफल पनि भयो । दोस्रो टी–२० मा नेपाललाई दिपेन्द्र ऐरीले जिताए । यसअघिका कुनै पनि म्याचमा ठूलो रन बनाउन नसकेका ऐरीले ४७ रनको म्याचविनिङ पारी खेल्दै आफ्नो आत्मविश्वास फिर्ता ल्याए ।

फाइनल म्याचमा नेपालले बलिङ र ब्याटिङ दुवैमा खराब सुरुवात गरेको थियो । पहिले ब्याटिङमा उत्रेको नेपालले पहिलो ओभरमा कुनै पनि रन जोड्न नसकी पवन सर्राफलाई गुमाएको थियो । तर, मध्य क्रमले नेपाललाई खेलमा फर्कायो ।

यसैगरी बलिङमा पनि सन्दिप लामिछानेले पहिलो ओभर बिर्सनलायक गरेका थिए । उनले फ्याकेका ६ बलमा यूएईले २० रन ठोक्यो । तर, फेरि पनि करण केसी, अविनाश बोहोरा र ललितसिंह राजवंशीले नेपाललाई खेलमा फर्काए ।

पारसको अविस्मरणीय शतक

एकदिवसीय सिरिजको फाइनलमा यूएईले दिएको २५५ को लक्ष्य नेपालका लागि पहाडभन्दा कम थिएन । किनकी कुनै पनि म्याचमा विपक्षीले २ सयभन्दा बढिको लक्ष्य भेट्टाउन नेपाललाई आच्छु आच्छु पर्ने गर्छ । त्यसैले नेपालले यो लक्ष्य भेट्टाउने आँकलन कमैले मात्र गरेका थिए । तर, पारसको मनमा सायद अर्कै कुरा खेलिरहेको थियो । उनले एउटा आक्रामक तर सुझबुझपूर्ण पारी खेल्दै नेपाललाई जितबाट करिब ४० रनको दुरीमा खडा गरे । बाँकी काम सोमपाल कामी र आरिफ सेफले फत्ते गरे ।

पारसको ब्याटले नेपालको उद्दार गरेको यो पहिलोचोटी अवश्य होइन । यसअघि उनले सन् २०१६ मा घरेलु मैदानमै नामिबियाविरुद्ध यस्तै परिस्थितिमा शतक हानेर देशलाई जिताएका थिए । तर, महत्वका हिसाबले यूएईविरुद्धको इनिङ उनका लागि सर्वाधिक अविस्मरणीय रहनेछ किनकी यो इनिङले नेपाललाई एउटा म्याच मात्रै होइन, इतिहासमै पहिलो एकदिवसीय सिरिज जिताए । यो उनको नेपालका लागि चौथो शतकीय इनिङ हो ।

युवा खेलाडीको कमाल

सिरिजका लागि १६ सदस्यीय टोली घोषणा गर्दा चार जना नयाँ खेलाडी अटाएका थिए । चारमध्ये भीम सार्कीले कुनै म्याचमा मौका पाएनन् । पवन सर्राफले एउटा टी–२० जिताउन सहयोगी भूमिका खेले । सन्दीप जोरा र अविनाश बोहराले भने आफूलाई प्रमाणित गर्न सफल भए ।

सन्दीपले पहिलो टी–२० मा अर्धशतक प्रहार गरेका थिए । उनले नेपाललाई जिताउन त सकेनन् तर, टी–२० मा अद्र्धशतक हान्ने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान बनाउन सफल भए । टी–२० फाइनलमा पनि उनले विष्फोटक २८ रन बनाए ।

यो सिरिजमा अनुभवी ब्याट्सम्यान शरद भेषवाकर चोटका कारण छुटेका थिए । ब्याटिङमा उनको अभाव खड्किन सक्ने चिन्ता थियो । तर, सन्दीपले नेपालको मध्यक्रममा ठूलो राहत दिए । उनलाई भविश्यको स्टार खेलाडीको रुपमा हेर्न थालिएको छ ।

यस्तै पहिलोपटक राष्ट्रिय टिममा परेका अविनाश बोहोराले पनि छाप छोड्न सफल भएका छन् । उनी टी–२० मा म्यान अफ दि सिरिज भए । पछिल्लो समय नेपालको फास्र्ट बलिङलाई कमजोर कडी मानिँदै आएकोमा अविनाशको यो प्रदर्शनले आशा जगाएको छ ।

ब्याटिङ सुधारिएकै हो ?

यो सिरिजमा नेपालको लागि सबैभन्दा सुखद पक्ष भनेको सुधारिएको ब्याटिङ नै हो । ओपनिङ जोडीको परम्परागत टाउको दुखाई कायमै रहे पनि नेपालले मध्यक्रममा केही भरपर्दा अनुहारहरु भेटेको छ । दीपेन्द्र सिंह ऐरीले, रोहितकुमार पौडेल, आरिफ शेख, सोमपाल कामी, सन्दीप जोरा जस्ता युवा ब्याट्सम्यानले नेपालको ब्याटिङ पङ्तीलाई निकै कसिलो बनाइदिएका छन् । यद्यपि, भोलिका दिनमा उनीहरुले आफ्नो प्रदर्शनमा एकरुपता भने ल्याउनुपर्ने छ ।

ओपनिङ जोडीको समस्या भने हल भएन । नेपालले यो सिरिजमा पनि विभिन्न प्रयोग गर्‍यो तर, सफल भएन । दुई वटा टी–२० मा पारस आफैंले ओपनिङ गरेका थिए । तर, पारस ओपनिङमा आउनु दिगो समाधान होइन, किनभने यसबाट मध्यक्रममा रिक्तता पैदा हुनेछ ।

तर, यही सिरिजका आधारमा हाम्रो अर्को लेभलमा पुग्यौं भनेर निस्कर्ष निकाल्नु चाहिँ हतारो हुनेछ । यूएई क्रिकेटको कुनै महाशक्ति होइन । यूएईविरुद्ध नेपालले पहिले पनि धेरै जित हासिल गरिसकेको छ । साथै यो सिरिजमा यूएईका केही महत्वपूर्ण खेलाडीहरु समावेश थिएनन् । जबकि नेपाल लगभग आफ्नो पूर्ण क्षमतामा थियो ।

यसका बाबजुद यूएईविरुद्ध सिरिजले नेपाली क्रिकेटलार्ई नयाँ उर्जा दिएको छ । नेपाल योभन्दा माथिल्लो लेभलमा क्रिकेट खेल्न तयार भइरहेको छ भन्ने सन्देश दिएको छ । अब नेपालले ठूला क्रिकेट राष्ट्रहरुविरुद्ध कसरी एकदिवसीय म्याचको तारतम्य मिलाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ । नेपाली क्रिकेट समर्थकहरु भारत, अष्ट्रेलियाजस्ता देशविरुद्ध नेपाली टिमले भिडेको हेर्न चाहन्छन् । सरकारले अब खेलाडीहरुलाई नगद पुरस्कार दिने होइन कि बलिया राष्ट्रहरुसँग नेपाली खेलाडीहरुलाई प्रतिस्पर्धा गराउनेतर्फ ध्यान दिनु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment