Comments Add Comment

समृद्धिको यात्रामा सबै जातजातिको सहयोगको अपेक्षा छ : प्रधानमन्त्री

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेका छन् ।’

नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सदभाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।

‘अब हामीले विकास समृद्धिको महानयात्रा तय गर्नु छ । सरकार समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्य राखेर अघि बढेको छ । यस यात्रामा देशका सबै जातजाती, धर्म सम्प्रदायको योगदान अपेक्षित छ,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘खासगरी हाम्रा साँस्कृतिक पर्वहरु, भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।

यसैबीच, सभामुख कृष्णबहादुर महराले पनि सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तामाङ समुदायमा शुभकामना व्यक्त गरेका छन् । यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास महराले व्यक्त गरेका छन् ।

उनले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताएका छन् ।

नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै सभामुख महराले यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment