Comments Add Comment

राष्ट्र बैंकलाई सुझाव- ब्याजदर घटाउ, तरलता देउ

२३ माघ, काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकलाई तरलता समस्या समाधान गरेर ब्याजदर घटाउने काम गर्न सुझाव दिएका छन् ।

बुधबार राष्ट्र बैंकले आयोजना गरेको समष्टिगत अर्थतन्त्र र बैंकिङ क्षेत्रको विद्यमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा  उद्योगी व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलता समस्या समाधान र ब्याजदर घटाउन राष्ट्र बैंकले आवश्यक काम गर्नु पर्ने बताए । शर्माले रिफाइनान्सीङको ब्याजदर तत्कालै घटाउन सुझाव दिए ।

आन्तरिक तर्फ कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत राजश्व उठाउने लक्ष्य लिँदा तरलता समस्या उत्पन्न भएको समेत उनले बताए ।
तरलता समस्यालाई दीर्घकालीन समाधानका लागि आवश्यक काम राष्ट्र बैंकले गर्नु पर्ने उनको सुझाव छ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकमा व्याजदर र तरलताको ठूलो समस्या रहेको बताए ।

ब्याजदर र तरलता समस्या मुलुकले आर्थिक वृद्धिका लागि ठूलो चुनौती भएको गोल्छाले बताए । ब्याजदर वृद्धि र तरलता अभावका कारण उद्योगधन्दाहरु समस्यामा रहेको भन्दै यस विषयमा राष्ट्र बैंकले ध्यान दिनु पर्ने उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकमा पर्याप्त तरलता भए व्याजदर आफैं घट्ने बताए । बैंकहरुमा तरलताको कारण समस्या आइरहेको भन्दै सीसीडी रेसियोमा राष्ट्र बैंकले लचकता अपनाए १५० अर्ब रकम आउने र थोरै समस्या समाधान हुने बताए ।

यद्यपि, दीर्घकालीन समस्या समाधानका लागि भने लामो समयका लागि रिफाइनान्सीङ र लङ्ग टर्म बण्डका विषयमा राष्ट्र बैंकले सोच्नु पर्ने बताए ।

काठमाडौं विश्व विद्यालय तथा सेयर लगानीकर्ता संघका प्रतिनिधिहरुले समेत सुझाव दिएका थिए ।  काठमाडौं विश्व विद्यालयका प्रतिनिधिले ई-कमर्शलाई प्रोत्साहन गर्न सुझाव दिएका थिए भने लगानीकर्ताका प्रतिनिधिहरुले पुँजी बजारका विषयमा अध्ययन समितिले दिएको सुझाव कार्यान्वयन गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment