Comments Add Comment

चक्रपथको त्रुटि सच्याउन आइतबारदेखि अध्ययन थालिने

२५  माघ, काठमाडौं । सडक विभागले कलंकी-सातदोबाटो-कोटेश्वर खण्डमा भएका त्रुटिहरुको आइतबारबाट अध्ययन सुरु गर्ने भएको  छ । चीन सरकारले हस्तान्तरण गर्नासाथै सडकमा यो खण्डमा भएका त्रुटिहरु सच्याउने गरी अध्ययन सुरु गर्न लागेको हो ।

माघ १३ मात्रै चीन सरकारले यो खण्ड विस्तारको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

विभागका ट्राफिक सडक तथा ट्राफिक इकाई प्रमुख दीप बाराहीका अनुसार आवश्यक स्थानमा पूर्वाधार थप्ने र गल्ती भएका स्थानमा सच्याउने कामका लागि आइबतारबाट विज्ञको सहयोगमा अध्ध्यन सुरु गर्न लागिएको हो ।

‘सवारी तथा यात्रु सुरक्षाका सवालहरुमा तत्काल के-के गर्न सकिन्छ भन्ने कुरा विज्ञहरुले ल्याउनुहुन्छ,’ बाराहीले भने,’ट्राफिक सुरक्षाका पक्षमा सुधारका लागि के-के गर्न सकिन्छ भनेर आइतबारबाटै अध्ययनको थालनी हुन्छ ।’

विज्ञको सुझाव अनुसार पहिलो चरणमा थप गर्नुपर्ने पूर्वाधारहरुमा ध्यान दिइने बाराहीले बताए । आवश्यक स्थानहरुमा जेब्रा क्रसिङ राख्ने, डिभाइडर राख्ने वा हटाउने लगायत सडकलाई सुरक्षित बनाउन के-के गर्न सकिन्छ भनेर अध्ययन हुने उनले बताए ।

‘सडकलाई सुरक्षित तवरमा सञ्चालन गर्नु पहिलो आवश्यकता छ । त्यसमै केन्द्रित भएर अध्ययन हुन्छ र सुधारको काम थालनी हुन्छ,’ बाराहीले भने,’जतिसक्दो छिटो सडकलाई आवश्यक सुधार गरेर दुर्घटनाको जोखिम घटाउँछौं ।’

यसअघि नै विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले अध्ययन नगरी मर्मतका लागि सडक नभत्काइने बताएका थिए । उनले भनेअनुसार नै अध्ययनको काम थालनी हुन लागेको छ भने  अध्ययन रिर्पोटका आधारमा भौतिक पूर्वाधार थप-घट  हुने भएको छ । यो सडकको बीचमा मेडियन राख्नुपर्ने पक्षमा विभाग पनि छ ।

के-के भए त्रुटि ?

चक्रपथको कलंकी-सातदोबाटो-काटेश्वर खण्ड जोखिमयुक्त बनेको छ । पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन । त्यसैले सडकको वारपार हेर्दै ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौं मान्छे सडक वारपार गर्दैछन् । यो शहरी सडक भएपनि एक्सप्रेस-वे जसरी डिजाइन र निर्माण भएको छ ।

कोटश्वर, ग्वार्की, सातदोबेाटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्रै जेब्रा क्रसिङ छ । बाटो काट्ने यात्रुको चाप हेरेर विभिन्न स्थानमा जेब्रा क्रसिङ थप्नैपर्ने आवश्यकता छ । यहाँ पैदलयात्रुका लागि फुटपाथ छैन, साइकल लेन छैन ।

यो पनि पढ्नुहोस् : विस्तारित चक्रपथ : भब्य सडकमा त्रुटि नै त्रुटि

हाल आयोजना अन्तरगत चीन सरकारको सहयोगमा काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल निर्माण गरिएको छ । करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् ।

मुख्य चोकहरुमै आकाशे पुल नभएपछि यो सडकमा बाटो काट्नु नै जोखिमपूर्ण छ । अन्य ६ स्थानमा आकाशे पुल निर्माणको योजना त बनेको छ, तर कहिले बनिसकेर सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ ।

विभागका महानिर्देशक श्रेष्ठ डिजाइनमै त्रुटि हुँदा यस्तो समस्याहरु आएको स्वीर्काछन् । चक्रपथ शहरी सडक भएपनि यसलाई राजमार्गको शैलीमा डिजाइन गरिएको छ ।

चिनियाँ कम्पनीले दिएको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश र नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल यो सडक नबनेको पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु बताउँछन् ।

एक्प्रेस-वेको शैलीमा डिजाइन गरिँदा यो सडक निकै अवैज्ञानिक भएको विज्ञ बताउँछन् । सडकममा बीचका ४ लेनमा ५० कलिोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ । यो सहरी सडकमा अत्याधिक गति हो । सर्भिस लेन २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन मिल्ने गरी डिजाइन भएको छ ।

सडकका विभिन्न चोकमा सवारीलाई क्रसिङहरु दिन कुनै पूर्वाधारहरु बनाइएका छैनन् । जसले गर्दा क्रस लिन सवारीहरुलाई पनि ठूलै जोखिम उठाउनुपर्छ । कतिपय स्थानमा त विकल्पहरु पनि छैनन् । सडक पार गर्न टाढा पुगेर फर्किएर आउनुपर्ने बाध्यता छ ।

सडकको अवैज्ञानिक डिजाइनले रातको समयमा सवारी चलाउनु पनि यहाँ जोखिमपूर्ण हुने देखिएको छ । २-२ वटा स्पीड लनेहरु छुटि्टने सडकका बीच भागमा ‘मिडियन’हरु राखिएका छैनन् । जसले गर्दा दुईतर्फको लाइट जुधेर दुर्घटनाको जोखिम उच्च हुन्छ ।

यसैका कारण तीब्र गतिमा चक्रपथमा चल्ने सवारीले जतिसुकै बला दुर्घटना गराउने जोखिम उच्च छ । रातको समयमा सवारी सुरक्षाका लागि के गर्ने भन्ने पाटोहरुलाई बेवास्ता गरिएको छ ।

नेपालमा लेन मिचेर सवारी ‘ओभरटेक’ गर्ने चलन अनियन्त्रित जस्तै छ । झन चक्रपथ फराकिलो हुँदा चालकहरुमा आत्मविश्वास धेरै हुने भएकाले यो सडकमा दुर्घटनाको जोखिम उच्च भएको सडक विभागका अधिकारीहरु नै स्वीकार्छन् ।

मिडियन नहुँदा बाटो काट्नेलाई पनि लगातार ८ लेनसम्म एकोहोरो हिडिँरहन दबाव पर्छ । बीचमा मिडियन भए त्यसको छेकोमा उभिएर फेरि अर्को लेनबाट आएका सवारी हेरेर बाटो काट्न सजिलो हुन्थ्यो ।

तर, मिडियन नै नभएपछि चक्रपथमा बाटो काट्न कम्ती सास्ती र जोखिमयुक्त छैन ।चक्रपथमा दैनिक हजारौं यात्रुले हाल जोखिम मोलेर सडक क्रस गरिरहेका छन् । यसका कारण चक्रपथ सवारी दुर्घटनाको ‘ब्ल्याक स्पट’ बन्ने खतरा बढेको हाछेथु बताउँछन् ।

भिडियोमा हेर्नुस् के भयो रिंगरोडमा  ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment