Comments Add Comment

आजका पत्रपत्रिका : विदेशबाट फर्केकालाई ५ करोड ऋण, अविवाहित महिलालाई भत्ता

सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने उच्च जोखिममा

२७ माघ, काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाकाँडामा भएको हिमपात आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रिकाहरुले हिउँपछिको चित्ताकर्षक दृश्य र पारखीहरुले लिएको आनन्दलाई तस्वीरमा उतारेका छन् ।

भेनेजुएला प्रकरणले नेकपामा बढेको कलह र पार्टी अध्यक्षद्वयबीचको भेटघाटलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् । भेनेजुएला प्रकरणले नेकपामा बढेको विवाद पछिल्लो समय थप पेचिलो बन्दै गएको छ ।

त्यस्तै, सरकारको १ वर्षे कार्यकालको समीक्षा, नेविसंघ विवाद, स्थानीय तह बेथिति, विदेशबाट फर्केकालाई दिन लागिएको ऋणलगायतको चर्चा पनि आजका पत्रपत्रिकाहरुले गरेका छन् ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँको आधा दर्जनभन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न लागेको खबर कारोबारले लेखेको छ । विदेशमा काम गरेर कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थालेपछि सरकारले नेपालमा हाल व्यवस्था रहेका सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न लागेको हो ।

कारोबार लेख्छ– रोजगारीबाट फर्केका युवालाई आवद्ध गराउन नेपालमा व्यवस्था रहेका ववसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा, ७ लाख विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख लगायत दिनेगरी कार्यक्रम तय गरिएको छ ।

कान्तिपुरले नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रुपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको विश्लेषण गरेको छ । ईश्वर पोखरेल, भीम रावललगायतको भनाइलाई उल्लेख गर्दै कान्तिपुरले नेकपा विवाद थप पेचिलो बनेको निष्कर्ष निकालेको छ ।

संघीय संसद्का पदाधिकारीले गरेको इन्धन दुरुपयोगलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ । समाचार अनुसार, संसदका सबै पदाधिकारीले सीमा नाघेर इन्धन खर्च बुझेका छन् ।

नागरिकले दूरी घटाउन नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भेट भएको लेखेको छ । भेटमा नेकपामा देखापरेको पछिल्लो विवाद र पार्टी एकताबारे छलफल भएको समाचारमा उल्लेख छ । प्रचण्डको गृह जिल्लामा ४ अर्बका योजना पारिएको अर्को खबर पनि नागरिकमा छ । ४ अर्ब लागतका ३६ आयोजना पहुँचका भरमा सञ्चालन गरिएको नागरिकको निष्कर्ष छ ।

३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्धविच्छेद भएका र पति बेपत्ता भएको १५ वर्ष पूरा भएकालाई काभ्रेको पनौती नगरपालिकाले भत्ता दिन लागेकोलाई पनि नागरिकले समेटेको छ ।

अन्नपूर्णले ‘बेला न कुबेला भेनेजुएला’ शीर्षक दिएर नेकपा विवादबारे गुह्य खोतल्ने प्रयास गरेको छ । बर्दिवासको एक मात्रै जीवित कम्युनको चर्चा पनि अन्नपूर्णले गरेको छ ।

राजधानी दैनिकले उपत्यकाका सात सम्पदा विश्वसम्पदा सूचीबाट हट्ने उच्च जोखिम रहेको औंल्याएको छ । पुनर्निर्माणमा आवश्यक मापदण्ड ख्याल नगर्दा ती सम्पदा जोखिममा पर्ने खतरा बढेको राजधानीको समाचारको सार छ । जोखिममा परेका सम्पदामा काठमाडौं दरबार स्एक्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ र चाँगुनारायण छन् ।

गोरखापत्रले हेलो सरकारमा परेका ८ हजार उजुरीमध्ये ५ हजार फछर्योट भएकोलाई मुख्य समाचार बनाएको छ । साप्ताहिक रुपमा आइतबार प्रकाशित हुने हिमालनेपाल दुवैले आज सरकारको १ वर्षे कार्यकालको समीक्षा गरेका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment