Comments Add Comment

कहाँ अड्कियो सूर्यविनायक-धुलिखेल सडक विस्तार ?

जाइकाको सहयोगमा ८ लेनको सडक बनाउन ३ विकल्प

२७ माघ, काठमाडौं । १६ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक ८ लेनमा विस्तारको काम सुरु हुने समय अनिश्चित भएको छ । अहिलेसम्म यो सडक विस्तारका लागि जापानी सहयोग नियोग (जाइका)सँग लगानी सम्झौता भएको छैन ।

यो सडक खण्ड विस्तारका लागि जाइकाले सरकारलाई तीनवटा विकल्पसहित प्रारम्भिक अध्ययन रिपोर्ट बुझाएको छ । तर, कुन विकल्पमा टेकेर सडक बनाउने भन्ने निर्णय नहुँदा अपेक्षित समयमा विस्तारको प्रक्रिया अघि नबढेको हो ।

उक्त सडकको पलाँसे-साँगा भञ्ज्याङ खण्डमा सुरुङ पनि निर्माण गर्ने एउटा विकल्प हो । हाल कायम रहेकै रुटलाई विस्तार गर्ने वा पलाँसे-साँगामा अर्को वैकल्पिक सडक खोल्ने भन्ने विकल्प अघि सारिएका छन् ।

सडक विभागका विकास सहायता महाशाखा प्रमुख केशवराज शर्मा हाल भौतिक पूर्वाधार मन्त्रालय, अर्थमन्त्रालय र सरोकारवालासँग यो मार्गको विस्तार कसरी गर्ने भन्ने छलफल भइरहेको छ ।

‘सकेसम्म यो सडक जापानले अनुदानमा बनाओस् भन्ने चाहाना हो, यदि ऋणमा बनाउने हो भने कुन विकल्प प्रयोग गर्ने भन्ने टुंगिन बाँकी छ,’ उनले भने,’ऋणमा गयौं भने कम लागतको विकल्पमा जानुपर्छ ।’

सुरुङमार्ग निर्माण गर्ने हो भने यसको लागत  बढ्न जान्छ । त्यसैले सरकारले अनुदानमै उपयुक्त विकल्पबाट यो सडक निर्माण गर्न सरकारलाई आग्रह गरेको छ । जापानले भने सहुलियत ऋणमा यो मार्ग विस्तारमा चासो देखाएको छ । जापानले यसअघि नै यो सडक खण्ड विस्तारका लागि ऋण सहयोग दिने वचन दिएको थियो ।

सूर्यविनायक-धुलिखेल सडक अरनिको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाट चीनसँगको तातोपानी नाका र वीपी राजमार्ग जोडिन्छ । उक्त खण्ड विस्तारका लागि जापानले नै प्रारम्भिक अध्ययन गरेर रिपोर्ट तयार गरेको छ ।

कोटेश्वर-सूर्यविनायक सडक पनि जापानले नै आठ लेनमा स्तरोन्नति गरेको हो । पलाँसेबाट साँगाभञ्ज्याङसम्म साँघुरा घुम्तिहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको पनि प्रस्ताव गरिएको हो ।

सूर्यविनायक-कोटेश्वर खण्डमा पनि विनाअवरोध ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकियोस् भन्ने उद्देश्यले सुरुङको अध्ययन गरिएको छ ।

यो खण्ड विस्तारपछि काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो हुनेछ । यो सडक स्तरोन्नतिपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

यस रुटमा चल्ने सार्वजनिक यातायातलाई धुलिखेलसम्म मात्र आउन दिने र त्यहीँबाट छुट्ने व्यवस्था गर्न सहज हुने विभागको आँकलन छ ।

अहिले यो राजमार्गका लागि रिङरोडभित्रबाटै गाडी छुटिरहेका छन् । र, काठमाडौंमा सवारी र मानवीय चाप पनि उच्च छ । यो बाटो ८ लेनमा विस्तार भएपछि धुलिखेलको पर्यटन प्रवर्द्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास छ ।

यो पनि पढ्नुहोस्

सूर्यविनायक-धुलिखेल सडक ८ लेनको बन्दै, सुरुङ पनि बन्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment