Comments Add Comment

सूर्यविनायक-धुलिखेल सडक ८ लेनको बन्दै, सुरुङ पनि बन्ने

सुरुङका लागि जापानको ऋण सहयोग

८ फागुन, काठमाडौं । १६ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक आठ लेनमा विस्तार हुने निश्चित भएको छ । उक्त सडकको पलाँसे-साँगा भञ्ज्याङ खण्डमा सुरुङ पनि निर्माण गर्ने योजना छ ।

सुरुङका लागि जापानले ऋण सहयोग दिने वचन दिएको छ । सडक विभागको प्रतिनिधिमण्डलको जापान भ्रमण क्रममा प्रारम्भिक अध्ययन सकेपछि ऋण सम्झौतामा हस्ताक्षर गर्ने प्रतिबद्धता आएको हो ।

सूर्यविनायक-धुलिखेल सडक अरनीको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाट चीनसँगको तातोपानी नाका जोडिन्छ । उक्त खण्ड विस्तारका लागि जापानले नै प्रारम्भिक अध्ययन गरिरहेको छ ।

विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार पलाँसेमा सुरुङ निर्माण सम्बन्धमा यसै साता स्थानीय सरोकारवालासँग छलफल हुँदैछ ।

कोटेश्वर-सूर्यविनायक सडक पनि जापानले नै आठ लेनमा स्तरोन्नति गरेको हो । पलाँसेबाट साँगाभञ्ज्याङसम्म साँघुरा घुम्तिहरू रहेकाले आठ लेनको सडक बनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको योजना बनाइएको हो ।

‘सूर्यविनायक-कोटेश्वर खण्डमा पनि बिना अवरोध ६० किलोमिटर प्रतिघण्टाको गतिमा गाडी चलाउन सकियोस् भन्ने उद्देश्यले सुरुङको अध्ययन गरिएको हो,’ श्रेष्ठ भन्छन्, ‘काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो पार्न यो महत्वपूर्ण हुनेछ ।’

सुरुङमार्ग भने चार लेनको हुनेछ । दायाँ-बायाँ आउने-जाने २/२ लेन तयार गरिने छ । सुरुङको लम्बाइ यकिन भइसकेको छैन । सडक विस्तारको लागत पनि प्रारम्भिक अध्ययनपछि मात्र टुंगो लाग्नेछ ।

पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई भने सुरुङ नभई यसअघिको सडकमार्ग नै प्रयोग गर्न लगाइनेछ ।

उक्त सडक स्तरोन्नतिपछि अरनीको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ । ती रुटमा चल्ने सार्वजनिक यातायातलाई धुलिखेलसम्म मात्र आउन दिने र त्यहींबाट छुट्ने व्यवस्था गर्न सहज हुने विभागको आकलन छ ।

अहिले ती राजमार्गका लागि रिङरोडभित्रबाटै गाडी छुटिरहेका छन् । र, काठमाडौंमा सवारी र मानवीय चाप पनि उच्च छ । काठमाडौंसँगको दूरी छोटिँदा धुलिखेलको पर्यटन प्रबर्द्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment