Comments Add Comment

सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न पाइन्छ : प्रचण्ड

'मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरेको छु'

२८ माघ, सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर-१ महनौरमा निर्मित स्वास्थ्यचौकीको सोमबार उदघाटन गर्दै प्रचण्डले भने- ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’

पूर्वप्रधानमन्त्री एवं सिरहाका पूर्व जनप्रतिनिधिसमेत रहेका प्रचण्डले भने, ‘अहिले भर्खरै उदघाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईंहरुको मागमा म सकारात्मक छु । डाक्टरसहितको आवश्यक जनशक्तिका लागि मेरो तर्फबाट तपाईंहरुलाई सहयोग रहनेछ ।

‘मधेसको विकासमा शंका नगर्नोस्’

 प्रचण्डले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताएका छन्

प्रचण्डले नेकपाको सरकारले मधेसको विधासमा ध्यान दिँदैन कि भनेर शंका नगर्न सिराहाबासीसमक्ष आग्रह गरे ।

‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ प्रचण्डले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’

सिँचाई र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ थियो । साथै उनले सिराहालाई आँपको जोनका रुपमा विकास गर्न पहल गर्नेसमेत बताए । धानखेतीमा पनि सिराहा उर्बर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको प्रचण्डले बताए ।

‘संविधान संशोधनको पहल गरेको छु’

नेकपा अध्यक्ष प्रचण्डले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको समेत कार्यक्रममा बताए ।

उनले भने, ‘संविधानलाई मधेसी जनताको आवश्यकताअनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्ऽ यादवले हस्ताक्षर गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment