Comments Add Comment

चलचित्र समीक्षाः समर लभको खडेरी दृश्य

चुरोट, रक्सी र सेक्स । सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ मा यति मात्र छैन । प्लस टु पुस्ताको हठात् ध्यान खिच्ने केही मिहिन तत्व उपन्यासमा छ, जसले पाठकलाई वैंशालु पिरतीको गहिराईमा पुर्‍याउँछ ।

यही उपन्यासमाथि बनेको चलचित्र अहिले प्रदर्शनरत छ, समर लभ । यो चलचित्रले गर्भबाट नै दुई वटा चुनौती बोकेर आएको छ, पाठकले एकसरो छिचोलिसकेको कथालाई दृश्यभाषामा बदल्ने र दर्शकलाई प्रेमिल-भावमा वहकाउने ।

दुबै कुरा चुनौती हो, खासगरी नेपाली सिनेमाको सन्दर्भमा ।

हामीकहाँ अहिलेसम्म कृतिमाथि यस्ता चलचित्र बनेका छैनन्, जो दर्शक र कृतिकार दुबैका निम्ति सुरुचीपूर्ण होस् । उपन्यास/कथामाथि अनगिन्ती चलचित्र बनेका छन्, तर ति अधिकांशमाथि लेखकले चित्त दुखाएका छन् । दर्शकले नाक खुम्च्याएका छन् ।

अर्कोतिर लभ, रोमान्स र धोकाको दृश्यले मात्र लभस्टोरी चलचित्र बन्दैन । यसका लागि सप्तरंगी दृश्यमा झंकार पैदा गर्ने प्रेमिल स्पन्दन पनि हुनुपर्छ । यस किसिमको दृश्यभाषा निर्माण गर्न फिल्ममेकर्समा केही त पागलपन पनि हुनुपर्छ, जो हाम्रा एकेडेमिक निर्देशकहरुमा देखिदैन ।

समर लभको कथा

उपन्यास छिचोलेका पाठकका लागि नविन भएन, चलचित्रको कथा पनि । उही अतित । उही साया । उही त्रिभूवन विश्वविद्यालय । उही पुस्तकालय । उही बगैंचा । उही बानेश्वर । उही सार्वजनिक बस । उही क्याडबडी ओंठ । उही नोकझोंक ।

कलेजका टपर गर्ल सायालाई एक झलक नदेख्दै मन पराउँछ अतितले । उनी सायाको पछि लाग्छन् । मरिहत्ते गर्छन् । साया पग्लिन्छिन् । उनीहरुको माया-पिरती बस्छ । बगैंचामा घुम्छन्, छिल्लिन्छन्, रोमान्स गर्छन् । यी वैंशालु जोडी प्रेममा यसरी निर्लिप्त हुन्छन्, उनीहरुसामु अब केही बाँकी रहँदैन । न यौन, न विवाह ।

लुकीछिपी यौन सम्बन्ध राख्छन्, लुकीछिपी विवाह गर्छन् । तर, थप पढाईका लागि नर्वे पुगेकी साया र अतित बीच एकाएक फाटो आउँछ । भौगोलिक दुरीले उनीहरुको मनको दुरी कसरी बढाइदिन्छ ? के अब यो प्रेम-सम्बन्ध यत्तिकै तुहिन्छ ? उत्सुकता मेट्न भने हलमा २ घण्टा ३६ मिनेट गुजार्नुपर्नेछ ।

के छ हेर्नलायक ?

प्रणय दिवसको मेसोमा प्रदर्शित ‘समर लभ’ विशुद्ध प्रेम-कहानी हो । उपन्यास पढेका वा पढ्न छुटाएका दुबैले यो चलचित्र हेर्न सक्छन्, तर एउटा सर्तमा । चलचित्र हेरिरहँदा उपन्यासलाई सर्लक्क बिर्सनुपर्नेछ । र, यसलाई एक नयाँ रचना मानेर स्विकार्नुपर्नेछ ।

वर्तमान पुस्ताको फास्टफुड प्रेमलाई चलचित्रले दुरुस्त उतारेको छ । आज देख्यो, भोलि भेट्यो, पर्सी प्रेम बस्यो । त्यसपछि फटाफट हुने, डेटिङ, रोमान्स, सेक्स ।

आज प्लेटोनिक लभको जमाना रहेन । प्रेममा भावनात्मक मिलन भन्दा पनि शारीरिक वासना सघन बन्दै गएको छ । प्रेमको यो बद्लिदो प्रारुप समर लभमा देखाइएको छ ।

चलचित्रको पटकथा, संवाद र संगीत सुरुचीपूर्ण छ ।

यसकारण झुर

निर्ममताका साथ भन्नैपर्छ, यो चलचित्र त्यही कोटीमा थन्को लाग्नेछ, जो यसअघि कृतिमाथि बनेका चलचित्रको नियती बन्यो ।

निर्देशक मुश्कान ढकालले उपन्यासको कथालाई हु-बहु दृश्यमा उतार्ने यत्न नगरेका होइनन् तर त्यसको अवयवलाई स्पर्श गर्न सकेनन् । यो चलचित्र हेरिरहँदा उपन्यासलाई आफ्नो मगजबाट एकातिर मिल्काउनुपर्छ । उपन्यास पढ्दा बनाएका सारा बिम्ब चलचित्रको पर्दामा भत्कदै जान्छ ।

चलचित्रलाई चहकिलो बनाइएको छ, गहकिलो छैन । लम्बाई-चौडाई छ, गहिराई छैन ।

कथाको उठान, कथा बाचन र कथाको वहकाव एकदम टिठलाग्दो छ । नायक अर्थात अतितले बाचन गर्ने कथामा न मिठास छ, न रोमाञ्चकता छ, न भावुकता छ ।

प्रस्तुतीमा, विषयमा, पात्र र प्रवृतिमा, कथाबाचनमा अनगिन्ती त्रुटी छन् । त्यही कारण त दर्शकहरु रुने ठाउँमा बेपत्तासँग हास्छन्, रोमान्टिक हुनुपर्ने ठाउँमा हाई काड्छन् ।

साया र अतित कलेज धाउँछन् । तर, दुबैको हुलिया र प्रवृत्ति हेर्दा यस्तो लाग्दैन, उनीहरु विद्यार्थी हुन् । कुनै रात्री क्लवमा रोमान्स गर्न हिँडेका रंगीन जोडी जस्तै देखिन्छन् । भन्नलाई साया मेधावी छात्रा हुन् । टपर । तर, चुरोटप्रेमी आवारा केटाको प्रेममा पग्लिहाल्ने, सर्वस्व सुम्पन तयार भइहाल्ने उनलाई कुनै कोणबाट मेधावी, पारिवारिक र जिम्मेवार युवतीको रुपमा स्थापित गर्न सकिएको छैन ।

पहिलो भेटमै मन पराउने युवको प्रेममा उनी यसरी डुबुल्की मार्छन्, उनी सामु सर्वाङ्ग हुनदेखि सिन्दु-पोते गर्नसम्म पछि पर्दैनन् । तर, त्यही युवती परिवारको साख जोगाउन एउटा प्रेमलाई चटक्कै बिट मार्न तयार हुन्छिन् ।

सुविन भट्टराईले उपन्यासमा भनेको र देखाएको कथा यही हो । तर, उनले यसलाई जसरी स्वभाविक बनाएका छन्, दृश्यभाषा त्यती विश्वसनिय ढंगले निर्माण गरिएकै छैन । सुविनले साया र अतितको प्रेम कसरी अंकुरायो भन्ने कथालाई निकै बान्की मिलाएर सिलसिलाबद्ध लेखेका छन् । तर, चलचित्रमा परीक्षाको नोटिस बोर्डमा साया शाक्यको नाम अग्रपंक्तिमा देखिन्छ । नाम देख्नसाथ अतित त्यो नामको केटी खोज्न थाल्छन् । आखिर चमेना गृहमा युवती भेटिन्छे । देखभेट, कुराकानीपछि उनीहरुको प्रेममा चुर्लुम्म डुब्छन् ।

तर, दर्शक डुब्दैनन् । एकै देखभेटमा प्रेम भइहाल्ने वैंशालु जोडीको प्रेममा दर्शक बहकिदैनन् । यही विन्दुबाट चलचित्रले लय बिगार्छ । त्यसपछि जे-जति घटनाक्रम आउँछन्, ति सबै नाटकिय एवं बनावटी लाग्छ ।

युवकले जीवनभर गरेको संघर्ष भनेकै प्रेमको प्राप्ती हो । तर, ऊ प्रेमिल भन्दा स्त्रीलम्पट देखिन्छ । उनको मनमा प्रेम भन्दा वासना छचल्किन्छ । युवती पनि जेहेन्दार एवं मेधावी होइन, ‘खेलाडी’ लाग्छन् । चलचित्रका पात्र अनुसार उनीहरुको मनोवृत्ति झल्कदैन । उनीहरुको हुलिया र स्वभाव आपसमा एकाकार हुँदैन ।

बरु सहायक पात्रको रुपमा देखिएका शिशिर भण्डारी, नम्रता सापकोटा आदिको अभिनय स्वभाविक र रोचक छ ।

चलचित्रको झर्कोलाग्दो पक्ष पाश्र्व संगीत हो । पाश्र्व संगीतले दृश्यलाई जोड्न र जोडदार बनाउन सकेको छैन । सिनेम्याटोग्राफी औसत छ । निर्देशक ढकालले चलचित्रलाई एकातिर कथा टुंगाउन हतार गरेका छन् अर्कोतिर तन्काउँदै-तन्काउँदै दिक्कलाग्दो बनाएका छन् । कथा त्यही मोडमा टुंगिएको छ, जहाँबाट सायाको परिचय खोजिन्छ । यसले संकेत गरेको छ, समर लभको दोस्रो भाग साया बन्नेछ । तर, चलचित्रले दोस्रो भाग तन्काउने भन्दा अरु उपलब्धी नगर्ला कि ? शंसय गर्ने ठाउँ छ ।

चलचित्र-समर लभ

निर्देशक-मुस्कान ढकाल

कथा- सुविन भट्टराई

जनरा- लभस्टोरी

अवधी- २ घण्टा ३६ मिनेट

कलाकार- आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा आदि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment