Comments Add Comment

गोरखामा बन्यो गण्डकी प्रदेशको पहिलो खानेपानी आयोजना

२९ माघ, गोरखा । भिमसेन थापा गाउँपालिका-१ निवेलमा निर्माण भएको निवेल खानेपानी आयोजनाको काम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित रकमले सम्पन्न यो पहिलो आयोजना भएको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्ऽ मरहट्टाले बताए ।

मन्त्रालय अन्तरगत चालु आर्थिक वर्ष खानेपानी तथा सरसफाइका लागि ५३ करोड रकम विनियोजन भएको छ । जसअन्तर्गत १५० वटा खानेपानी आयोजना रहेका छन् । ‘प्रदेश सरकारले छनौट गरेको खानेपानी आयोजना २५ लाख भन्दा कमको छैन,’ मरहट्टाले भने, ‘सबैभन्दा पहिले गोरखाको यो योजना सम्पन्न भयो, अन्य जिल्लामा पनि धमाधम काम भइरहेको छ ।’

स्याङजा जिल्लामा तीन वटा खानेपानी आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

निर्माण सम्पन्न निवेल खानेपानी आयोजनाको मंगलबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले दुई वर्षभित्र गण्डकी प्रदेशको सबै घरमा खानेपानी पुर्‍याउने दावी गरे । ‘प्रदेश सरकारले के काम गर्छ भन्दै संघ र स्थानीय तहलाइ मात्र महत्व दिन्थे,’ उनले भने, ‘हामीले काम गर्न सुरु गरिसकेका छौं, अवको दुई वर्षभित्र सबैको घरमा धारा जडान गरेर खानेपानी पुर्‍याउँछौ ।’

पाँच वर्षभित्र प्रत्येक घरमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता उनले व्यक्त गरे । समुदायलाई हस्तान्तरण गरिएको उक्त आयोजना संरक्षण उपभोक्ताले गर्नुपर्ने उनले बताए । ‘उपभोक्ताबाट मासिक एक सय रुपैयाँ उठाउनुहोस्, त्यो रकम कोषमा जम्मा हुन्छ र मर्मत संहारका लागि खर्च गर्न सकिन्छ,’ मन्त्री बस्नेतले सुझाव दिदै भने ।

कुल ५९ लाख ५३ हजार लागतमा निर्माण भएको उक्त आयोजनाबाट ४५ घरधुरी लाभान्वित छन् ।

आयोजना निर्माणका लागि कुल लागत ९४ लाख ६८ हजार रकम स्टमेट गरिएको थियो । ‘एक घर एक धारा’ अभियान अन्तरगत सबैको घरमा धारा जडान गरेर पानी उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर बानियाले बताए ।

चिउरीगैरास्थित सुपुङ्गे खोलाको मुहानबाट ल्याइएको पानी ट्याङकीमा संकलन गरी वितरण गरिएको उनले जानकारी दिए । ‘३५ हजार लिटर क्षमताको ट्याङकी निर्माण भएको छ, त्यही संकलन भएको पानी पाइपलाइनबाट घरघरमा वितरण गरेका छौ,’ बानियाले भने ।

यसअघि रहेको खानेपानी आयोजना भूकम्पले क्षति पुगेपछि स्थानीयलाई पानीको समस्या भएको थियो ।

आयोजना बनेर घरमै पानी आउन थालेपछि स्थानीय खुशी छन् । करेसावारीमा तरकारी लगाउन समेत सहज भएको उनीहरुको भनाइ छ ।

यही मंसिर १ गते सम्झौता भएको उक्त आयोजना फागुन २८ गते सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment