Comments Add Comment

तिलोत्तमा गोल्डकपमा दुई विदेशीसहित १० टिम

२९ माघ, बुटवल । आउँदो फागुन ४ गते शुरु हुने २१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा दुई विदेशीसहित १० टिमले खेल्ने भएका छन् । अघिल्लो वर्षसम्म ८ टिम सहभागी भएकोमा यो वर्ष दुई टीम थपिएका हुन् ।

आयोजक जिल्ला फुटवल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीका अनुसार उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ खेल्नेछन् । फागुन ५ गते सुनसरी ११ र आयोजक रुपन्देही ११ भिड्ने खेल तालिका रहेको छ ।

६ गते च्यासल युथ क्लब र संकटा क्लब, ७ गते भारतको ब्रदर्स युनाइटेड र नेपाल प्रहरी खेल्ने छन् । ८ गते एपीएफ र झापा ११ बीचको विजेतासंग क्यामरुनको डाउफिन्स क्लब खेल्ने छ ।

प्रतियोगिताको फाइनल खेल फागुन १३ गते हुने छ ।

एक करोड रुपैयाँ बढी खर्च हुने प्रतियोगिताको विजेताले ८ लाख ८८ हजार र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

देवीनगरस्थित एन्फा एकेडेमी सेन्टरमा आयोजना हुने प्रतियोगिताको तयारी तीब्र भइरहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकले प्रतियोगितामा दर्शकले लिने टिकटबाट २५ लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ । मैदानको पूर्वतर्फ १५ सय जना क्षमताको स्थायी प्याराफिट बनेको छ । दर्शकलाई पहिलो चरणमा एक सय र दुई सय तथा दोस्रो चरणमा दुई सय र चार सय टिकट दर राखिने उनले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् भने ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजारका दरले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितालाई यशोदा फुड्स प्रालिले मुख्य प्रायोजन गर्दै २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ भने संरक्षक बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गर्नेछ ।

तत्कालिन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि तिलोत्तमा गोल्डकप शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment