Comments Add Comment

सप्तरीका दुई ठाउँमा शल्यक्रियासहितको निशुल्क शिविर

सप्तरी, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त पहलमा राजविराजमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र पब्लिक विन्देश्वरी माविको खेल मैदान गरी दुई ठाउँमा बुधबार शिविर सुरु गरिएको छ ।

शिविरमा जनरल सर्जरी, हर्निया, पायल्स, पुरूष ग्रन्थी, हाइड्रोशिल, पिथथैली, तथा मिर्गौला पत्थरीसम्बन्धी शल्यक्रियासमेत गरिनेछ । यस्तै मुटु रोग, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोग, स्त्री रोग पाठेघरसम्बन्धी समस्या, हाडजोर्नी, आँखासम्बन्धी रोगको उपचार र शल्यक्रियासमेत हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिविरको बुधबार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे । उनले शुरुमा सात दिनसम्म चल्ने शिबिरमा बिरामीको चाप बढेमा शिबिर अझै लम्बिन सक्ने बताए । उनले भने, ‘गाउँमा बिरामी छन् । झुपडीमा बिरामीहरु बसिरहेका छन् । गरिबीका कारण, एक्लोपनाका कारण बिरामी बोकेर बस्न बाध्य भएकाहरुलाई शिविरसम्म पु¥याइदिन सबैसँग आग्रह गर्दछु ।’

उपप्रधानमन्त्री यादवले छोरीको शिक्षामा जोड दिन अभिभावकलाई आग्रह गरे । ‘अहिले गरिबी छ र चेतनाको कमी देखिएको छ तर जब सबै घरका छोरी पढ्छन् परिस्थिति आफैं सुधार हुँदै जान्छ’ उनले भने ।

मुलुक संघीयतामा गइसकेपछि अञ्चल अस्पतालहरुको नाम फेर्नुपर्ने उनले बताए । ‘राजविराजको सगरमाथा अञ्चल अस्पताल अब अञ्चल अस्पताल रहेन’ उपप्रधानमन्त्री यादवले भने, ‘यसमा अञ्चलको के आवश्यकता ? अब गजेन्द्रनारायण अस्पताल मात्रै रह्यो ।’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसमा स्वास्थ्य समस्या धेरै रहेको बताएका छन् । ‘स्थानीयस्तरमा उपचार गराउन नपाएका जटिल रोगीहरु छन्’ उनले भने, “यो शिविर त्यस्ताका लागि उपयोगी हुनेमा विश्वस्त छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment