Comments Add Comment

जनयुद्धले जन्माएकी गुमनाम योद्धा

त्यस्तै ०५३/०५४ सालतिरको कुरा हो । त्यतिबेला नवलपरासीस्थित हाम्रो घर माओवादीमय थियो । नेतादेखि कार्यकर्ताको लर्कन लाग्ने गर्दथ्यो । मेरो राजनीतिक चेतना निकै कमजोर थियो । तर, कम्निष्ट परिवारमा भएको हुर्काइले कम्निष्ट नैतिकता बुझ्न त्यति धेरै मेहनत गर्नु परेन ।

पढाइ पहिलो प्राथमिकता र राजनीति दोस्रो भन्नेमा थिएँ । तर, परिस्थिति निकै प्रतिकुल बन्दै गयो । पुलिसको निगरानीमा रातदिनको तनाब । कहिले गिरफ्तार । कहिले जेल नेल त कहिले आन्दोलनमा सहभागी भएवापत आमाको कुटाइ । दिनचर्या यस्तै थिए ।

त्यसै क्रममा नेता कार्यकर्ता आउने–जाने हुँदै गर्दा तारा कुमाल पनि हामीकहाँ आउँथिन् । मोटी मोटी, डम्म परेकी । हेर्दै खाइलाग्दी देखिने । निकै आकर्षक व्यक्तित्व भएकी तारा अन्र्तमुखी स्वभावकी थिइन् । सायद त्यसैले होला, उनी पुगेको हरेक बासस्थानमा सबैकी प्रियपात्र बन्थिन् । हामीकहाँ उनको बाक्लो आवत–जावत हुन थालेपछि मेरी आमाको मन मष्तिष्कमा पनि छाउन थालिन् उनी ।

०५५ सालको आधाआधीतिर मेरी आमालाई माओवादी आन्दोलनप्रतिको विश्वास, माया, ममता भए पनि म कतै पूर्णकालीन कार्यकर्ता बन्ने त होइन भन्ने त्रासले घरमा कोही नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । तैपनि मनमष्तिष्कमा ताराले निकै जरा गाडिसकेकी थिइन् ।

आमाको प्रस्तावअनुसार तारा र मैले विधिवत रुपमा मितिनीको सम्बन्ध गास्यौं । मलाई चाहिँ यो सम्बन्धले कतै लज्जाबोध भएजस्तो, कतै आत्मग्लानी भएजस्तो महशुस भएको थियो । किनकी, तारा त्यतिबेला पूर्णकालीन माओवादी कार्यकर्ता बनिसकेकी थिइन् मेरो सोचमा पूर्णकालीनभन्दा पनि आंशिक कार्यकर्ता हुने सोच हावी थियो ।

छिट्टै म स्नातक अध्ययन गर्न चितवन लागें भने तारा जिम्मेवारी हेरफेर भएर कता लागिन्, कसैले खुलाएनन् । त्यतिबेला खुलाइँदैनथ्यो ।

यसैवीच, ०५५ साल मङ्सिरको अन्त्यतिर चितवनको केसरवागमा विद्यार्थीलाई लक्षित गरेर आत्मसुरक्षालाई मध्यनजर गर्दै सैन्य तालिमको आयोजना गरिएको थियो, त्यो तालिममा मैले पनि भाग लिएकी थिएँ । कताकता आफैंप्रति गर्व लागेको महशुस हुँदै थियो । प्राविधिकतिर शाही सेनामा महिला भर्ति गरे पनि त्यतिबेलासम्म नेपालमा लडाकू सेना महिला भर्ती गर्ने गरिएको थिएन । जहाँ महिलालाई कमजोर, बच्चा जम्माउने मेसिनजस्तो गरिएको थियो । त्यस्तो अवस्थामा म लगायतका महिलाहरुले सैन्य तालिम, त्यो पनि महिला छापामारद्धारा लिइनु आफंैमा निकै रोमाञ्चित घटना अवश्य थियो ।

तीन दिनको तालिमपश्चात चितवनमा महिला छापामारको निकै उत्साहजनक सहभागिता बढ्दै गयो । मेरी मितिनी तारा कुमालको सैन्य फाँटमा द्रुतगतिमा विकास भएको कुरा समीक्षामा बताइरहँदा मन हर्षले गदगद भएको थियो ।

केही महिनापछि अर्थात ०५५ चैत्र २२ गते चितवनको आँपपानी गाविसको कोराकबाट अम्विका मुडभरी र तारा कुमाल गिरफ्तार भएको अपुष्ट खबर आयो । बिस्तारै उनीहरुलाई हतियारसहित दुश्मनले कब्जा गर्‍यो भन्ने पनि खुल्न आयो । उनीहरुलाई सोही दिन डडुवा चौकी, पर्सामा लगेर केही दिन त्यहीँ राखी जिल्ला प्रशासन कार्यालय भरतपुर ल्याएको कुरासमेत खुल्न आयो ।

दिनहुँजसो महिला छापामार हतियारसहित पक्राउ परेको समाचारमा उल्लेख गरिन थालियो । तर, उनीहरुलाई भेटघाट गर्न दिइएको थिएन । उनीहरुलाई कस्तो अवस्थामा राखिएको थियो, परिवार कसैलाई जानकारी गराइएको थिएन । त्यो भन्दा केही समयअगाडि मात्र तनहुँको कालिकाटार चौकी महिला छापामारको अग्रदस्ताले कब्जा गरेको भन्ने निकै हल्ला चलिरहेका बेला भरुवा बन्दुकसहित पहाडी भुभाग कोराकबाट दुईजना महिला समातिनु, कसैलाई भेट्न नदिनुले पनि प्रष्ट झल्किन्थ्यो कि उनीहरुमाथिको यातना कति चरम थियो भनेर ।

ताराको परिवार कांग्रेससमर्थित थियो । उनी निकै कठोर सङ्घर्षबाट आन्दोलनमा सहभागी भएकी थिइन् । यो घटनापछि परिवारलाई के भन्ने जस्ता कुराले पनि पार्टी नेतृत्वलाई संकट परेको थियो । जिल्ला प्रहरी कार्यालय भरतपुरमा कालिकाटारमा मारिएका प्रहरीका छोरीलाई बुवा मारिएवापत क्रान्तिकारीहरुप्रतिको प्रतिशोध जाग्ने र जगाउने उद्देश्यले प्रहरी जवानमा भर्ति गरिएको रहेछ । एक त त्यतिबेला जनमुक्ति सेना भन्ने कुरा नै निकै अचम्मको कुरा मानिन्थ्यो, त्यसमा पनि महिला सेना भन्ने त अनौठो हाउगुजी थियो । मालेमावादी अदम्य साहसले वर्गवैरी बिरुद्ध जाइलागेका माओवादी त हाउगुजी भएका बेला महिला छापामार त अर्कै लोकको प्राणी जस्तो मानिन्थ्यो ।

त्यसै समयमा ०५५ चैत्र २८ गते विहान जिल्ला प्रशासन कार्यालयबाट तारा कुमालले हत्कडीसहित जेल तोडिन् भन्ने सनसनीपूर्ण समाचार आयो ।

महिला भौतिक रुपले कमजोर हुन्छन्, उनीहरु सेना बन्न सक्दैनन्, दोस्रो दर्जाका नागरिक हुन्, उनीहरु बच्चा जन्माउने हुनाले न्यून आत्मबल भएका हुन्छन् भन्ने थियो । नेपालमा चलेको अन्य कम्युनिष्ट आन्दोलनमा पुरुषहरुले जेल तोडेका इतिहास भए पनि महिलाहरुले यस्तो साहसिक काम गरेका थिएनन् ।

राज्यद्वारा नै प्रताडीत हुने नियम कानुनसहित स्थानीय स्तरमा अनेकन झमेला सहेका महिलाहरुको लामबन्दी जनयुद्धमा ह्वात्तै बढेको थियो । पार्टीको लक्ष्य पनि जनसंख्यामा महिला सहभागिता र नेतृत्व विकासमा निकै जोड दिने थियो । तारा कुमालले जब जेल तोडिन्, सत्ता पक्षमा भूकम्प गयो भने क्रान्तिकारीहरुमा एउटा बलियो उर्जा बन्न पुग्यो ।

यो घटनाले आन्दोलनमा महिला र महिला छापामारको दस्ता करिब आधाआधीको हाराहारीमा पुग्न उर्जा प्रदान गर्‍यो । नेपालको इतिहासमा एउटा वीरताको सन्देश दियो यो घटनाले । महिलाले अवसर नपाएर हो, अवसर पाए गर्न नसक्ने केही छैन भन्ने सन्देश दियो ।

वामदेव गौतमले ०५४ सालबाट नै पूर्वपञ्चहरुसँग मिलेर माओवादीलाई आतंककारी घोषणा गरिसकेका थिए । त्यसैले अब तारा जेलमा महिला प्रहरी कुटेर हत्कडीसहित फरार हुने आतंककारी थिइन् । क्षणभरमा नै भरतपुर प्रहरीमय बन्यो । म पनि त्यतिबेला पूर्णकालीन कार्यकर्ता बनिसकेकी थिए । एउटा बर्गीय युद्धमा समान उद्देश्य साझा लक्ष्य बोकेर न्याय र समानताको बिगुल फुक्ने सहयात्रीमा पक्कै पनि ताराको सुरक्षामा चिन्ता हुन्थ्यो । ममा पनि थियो ।

आकाशमा हेलिकोप्टर गिद्धजसरी घुमिरहेका थिए । एकातिर ताराको उच्च मनोवलको सम्मान गर्ने शब्द थिएन, अर्कोतर्फ कतै पुन गिरफ्तार गरेमा दोहोरो भिडन्तमा आतंककारीको मृत्यु भन्ने समाचार आइहाल्थ्यो । त्यति मात्र होइन, हिरासतमा रहेकी अर्की महिला छापामार भनिएकी आतंककारी माओवादी महिला छापामार अम्बिका दिदी हिरासतमा नै हुनुहुन्थ्यो । कथंकदाचित तारालाई फेला नपारे त्यो झोंकभित्र अम्बिकालाई फेरिनेवाला थियो ।

जहिले पनि सबलले निर्वललाई त हो दमन गर्ने । चार दिवारभित्रको अम्बिका दिदीको अवस्था के छ, हामीलाई अनुमान गर्न कुनै कठिनाई हुँदैनथ्यो । एक दिन बित्यो, दुई दिन बित्यो, तारा समातिएको समाचार आएन । न त सुरक्षा घेरा नै सामान्य थियो । म लगायत धेरै मान्छेहरु सुरक्षित ठाउँमा स्थानान्तरण भएका थियौं ।

विस्तारै घटना सामान्य हुँदै गयो । ताराको कार्यक्षेत्र चितवनबाट तनहुँ बनाइयो । उनको त्याग तपस्या, लगाव देखेर सबै नतमस्तक हुन्थे उनि कुशल महिला छापामार बनेकी थिइन् । म भने चिनियाँ उपन्यासका पानामा भेटाएकी छापामारसँग उनलाई बारम्बार तुलना गर्थें ।

कति महान छन् क्रान्तिकारीहरु ! जीवनको कुनै प्रवाह नगरी सर्वहारा वर्गका लागि आफ्नो अमुल्य जीवन समर्पित गर्छन् कहिले रोमाञ्चित हुन्थे त कहिले गर्वले छाति फुलाउथें । आन्दोलनमा भोकै पर्दा, कठोरयात्रामा सहभागि हुँदा, सहयोद्धाको मृत्युको खवर सुनेर विचलित बन्दा मेरो प्रेरणा बन्थिन् तारा ।

म शारीरिक रुपमा सानैदेखि अलि कमजोर थिएँ सायद । त्यसैले पनि होला कहिल्यै छापामार बन्ने रहर पलाएन । तर आफ्नो जिम्मामा रहेको साङ्गठानिक कार्यमा कहिल्यै कमी हुन दिइन । मेरो कार्यक्षेत्र बुटवल थियो महिलाको जिम्मेवारी पूरा गरेकी थिएँ, त्यसै बखत पुन दोस्रो साहसिक काम ताराले सम्पन्न गरेको खबर आयो ।

भारतमा जनयुद्धको भिषण तयारीको लागि वैचारिक प्रशिक्षणमा जादै गर्दा ०५६ फागुणमा तारा कुमाल र रमेश रेग्मी विहान ५ बजे भैरहवाको सुनौलीबाट पुन गिरफ्तारमा परे । तर यतिबेला तारालाइ माइति नेपालको कार्यालयमा र रमेश रेग्मीलाई भैरहवा इलाका प्रहरी कार्यालयमा राखियो ।

त्यतिबेला तारालाई रमेशले बेच्न भारत लगेको शङ्कामा गिरफ्तार गरेको पत्तो पाएपछि समय र विगतलाई मध्यनजर गर्दै आफ्नो अगाडि दुइवटा बाटो तय गर्छिन् । सबै कुरा खुले मारिने पक्का हो । भाग्दै गर्दा मारिए प्रतिरोधपूर्ण मराइ हुनेछ बाचे संसार देखिनेछ भन्ने निष्कर्ष निकालेर उनी पुन दोस्रो पटक फिल्मी शैलीमा भाग्ने निश्कर्ष निकालेर घेरा तोड्छिन्  र यसमा सफल पनि हुन्छिन् । यो खबरले देशैभरि सनसनी मच्चिन्छ । आकाशमा फेरि हेलिकप्टर उड्छन्, तर एउटा अथक योद्धालाई राज्यको सशस्त्र बर्दिधारीले केही गर्न सक्दैन ।

उनी जनताको सेवा गर्न पून उच्च मनोवलका साथ खट्छिन । सत्ताधारीमा खैलाबैला मच्चिन्छ अब यतिका महिला छापामार परास्त गर्न सेनामा महिला भर्ती नगरी नहुने निश्कर्ष निकालिन्छ । बढ्दो महिला सहभागिताले युद्धमा एकपछि अर्को विजयको नारा घन्किन्छ । पार्टी एकपछि अर्को रणनैतिक योजनाको समीक्षा गर्दै अगाडि बढ्छ ।

दुश्मनको कब्जामा रहेका तमाम नेपालीहरुको निम्ति जेल नेल यातना भुत्ते सावित हुन्छ बाहिरी मोर्चाको विजयले बन्दिमाथि गरिने ब्यबहार निर्धारण हुने हुनाले पनि सबै सबैमा ताराको विरताले शीर उचो भएको महशुस हुन्थ्यो ।

जनयुद्ध विभिन्न उतारचढावको बीचबाट अगाडि बढिरहेको थियो । ०६२/०६३ सालको जनआन्दोलन पश्चात मुलुक शान्ति प्रक्रियाबाट गुज्रिरहेको छ । पटक पटक पार्टीले सत्ताको बागडोर सम्हालिसकेको छ । त्यतिमात्र होइन अहिले परिस्थिति निकै अगाडि बढिसकेको छ । मुलुक संघीयता, धर्मनिरपेक्षता, संविधान निर्माण लगायतका विषयहरु निर्माण मात्र होइन कार्यान्वयनको दिशामा अघि बढिरेको छ ।

पार्टी विभिन्न टुटफुटबाट अगाडि बढ्दै गर्दा कैयौं शहीद वेपत्ता घाइते अपाङ्गको भावनामा ठेस त पुगेको सत्य हो । त्यसमा पनि यतिबेला एमालेसँग पार्टी एकीकरण गरी नेकपा गठन गरी दुई तिहाइ बहुमतको सरकार चलिरहेको छ । द्वन्द्वको कैयन मुद्धाहरु छिनोफानो हुने कुरा अकर्मण्यतामा फसिरहेको बर्तमान परिबेशमा कम्युनिष्टको दुई तिहाइको सरकारले सेना पुलिसलाई शहीद घोषणा गर्दै गर्दा हामी रगत बगाउनेहरु द्वन्द्वपीडित अबस्था पनि चानचुने पीडादायक अवस्था पक्कै होइन ।

हिजो र आजको परिवेश फरक छ । हिजोको उपलब्धीहरु सम्झौतामा टुङ्गाएको छ । विशाल जनमुक्ति सेनाको समायोजन प्रक्रिया रातारात टुङ्ग्याइएको छ । जटिल सङ्कटकालमा लामबद्ध आधाको हाराहारीको महिला सहभागिता आज घर फर्कन बाध्य छन् । रोजी रोटीको खोजीमा सडकमा भौतारिनेको पनि कमी छैन ।

यस्तो अवस्थामा तारा र तारा जस्ताले गरेको तमाम जनयुद्धको विरता, उपलब्धीलाई संस्थागत गर्ने कुरामा कतै चासो नदेखिनु विडम्बना मात्र होइन दुखद पक्ष पनि हो त्यसैले २४ औं जनयुद्ध दिवश मनाइरहदा सत्ताको बागडोर सम्हालिरहेका नेतागणहरुले जनयुद्धले जन्माएका तमाम योद्धाहरुलाई गुमनाम हुनबाट रोक्ने कि ? जनयुद्धले जन्माएका योद्धाहरुलाई सम्मान तथा संरक्षण गर्ने कि ?

( अधिवक्ता खिमा पूर्वमाओवादी कार्यकर्ता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment