Comments Add Comment

प्रधानमन्त्रीले सुनाए सरकारको एक वर्षे उपलब्धि

२ फागुन, काठमाडौं । आफ्नो सरकारले एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिमा काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् । बिहीबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको एकवर्षे प्रगतिको फेहरिस्थ सुनाएका हुन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित ग्यालरी बैठकबाट देशबासीका नाममा सम्बोधन गरे । आफ्नो सरकारको एक वर्ष भविश्यको आधार वर्ष मानेको बताउँदै उनले भने, ‘आज गरिने काम भविश्यका लागि आधार हो र, राजनीतिक स्थीरतालाई मैले समृद्धि तर्फको यात्राका लागि एउटा आधार मानेको छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेपछि बनेका कानुनहरुको फेहरिस्थ प्रस्तुत गरे । उनका अनुसार २५ कानून संघीय संसदबाट पारित भएको, ५ अध्यादेश जारी भएको, २३ विधेयक संघीय संसदमा प्रस्तुत भएको र २४ विधेयक संघीय संसदसमक्ष प्रस्तुत गर्न अन्तिम तयारी भइरहेको छ । ४७ नियमावली र ७ गठन आदेश जारी भएका छन् भने ३३ निर्देशिका, कार्यविधि र मापदण्ड जारी भएको उनले सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुन थालेको, ६ वटा विमानस्थलवाट रात्री सेवा सुरु भएको, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रगति भएको प्रधानमन्त्रीले बताए ।

ऊर्जा बैंकिङ लगायतका दूरगामी प्रभाव पार्ने खालका सम्झौता भएको, करिब ३ लाख विद्युत उपभोग गर्ने ग्राहक थपिएको र प्रतिव्यक्ति विद्युत खपत १७७ बाट बढेर २०० किलोवाट घन्टा पुगेको उनले सुनाए । ‘भेरी–बबई डाइभर्सन आयोजनाको यो एक बर्षमा ८ किलोमिटर सुरुङ निर्माण भएको छ’ प्रधानमन्त्री ओलीले भने ।

‘यो बर्ष मात्रै ४९७ किलोमिटर नयाँ सडक निर्माण भए । ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति भयो । जसमध्ये २२१ किमि सडक कालोपत्रे गरिएको छ । ७ हजार ५ सय किलोमिटर सडक मर्मत गरिएका छन् । ८७ वटा पक्कि मोटरेबल पुल निर्माण सम्पन्न भयो । ४१७ वटा झोलुङ्गे पुल बनाइए ।’

हरेक ३ दिनमा एउटाका दरले तुईन विस्थापन भएको र आफूले सुरु गरेको अभियान अन्तिम चरणमा पुगेको उनले बताए ।

आफ्नो सरकारको पालामा ४९९ वटा उद्योग दर्ता भएर १ खर्व ९८ अर्व तथा विदेशी लगानीतर्फ ४१६ वटा उद्योगले अनुमति लिई ५१ अर्व ८३ करोड रुपैयाँको लगानी प्रस्ताव आएको प्रधानमन्त्रीले सुनाएका छन् ।

नवलपरासीको धौबादीमा करिव १० करोड मेट्रिक टन फलामको धाउको भौगर्भिक भण्डार पहिचान भएको सुनाउँदै उनले भने, छ भन्न सकिन्छ, पहिचान भयो त के भयो? त्यसले के दिन्छ ? म विनम्रतापूर्वक जानकारी गराउन चाहन्छु– चीनमा गरिएको मेटालर्जिकल परीक्षणमा उक्त धाउबाट स्पोन्ज आइरन उत्पादन गर्न सकिन्छ ।’

चालु आर्थिक वर्षको ६ महिनामा आर्थिक वृद्धि ६.७ प्रतिशत रहेको र अन्त्यसम्ममा ७ प्रतिशतभन्दा माथि हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे । ‘धेरैलाई आश्चर्य लाग्ने गरी यस आर्थिक वर्षको ६ महिनामा औसत महंगी ४.२ प्रतिशतमा सीमित छ’ उनले भने ।

कम्पनी दर्ताको संख्या २६.७ प्रतिशतले वृद्धि भएको, औद्योगिक वस्तु, निर्माण सामग्री र पूँजी निर्माणमा सहयोग पुग्ने वस्तुहरूको आयात ३२.१ प्रतिशतले बढेको प्रधानमन्त्रीले सुनाए । ‘बैंक तथा वित्तीय संस्थाहरूवाट प्रवाह हुने कर्जा तथा लगानी २०.३ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा भएको कर्जाको प्रवाह पनि २४.१ प्रतिशतले बढेको छ’ उनले भने ।

नेपाल आउने पर्यटकको संख्या पढेको उनले सुनाए । विदेशी विनिमय संचिति सुविधाजनक अवस्थामा रहेको, किसानले समयमै मल पाएको, २ हजार हेक्टरमा थप सिंचाई सुविधा उपलब्ध भएको उनले सुनाए । उनले भनेका छन्, ‘धानको उत्पादन गत वर्ष भन्दा यस वर्षमा ८.९ प्रतिशतले बृद्धि भएको छ । मकैको उत्पादन ३.५ प्रतिशतले बृद्धि भएको छ । तरकारी उत्पादन १६.५ प्रतिशतले वृद्धि भएको छ ।’

प्रधानमन्त्रीको सम्वोधनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment