Comments Add Comment

साम्राज्ञी, पुष्पल र रेबिकाको ‘मारुनी’को शुभमुहुर्त

फागूणको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको चलचित्र ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको टिमले शुभसाइत गरेको हो । चलचित्रको छायांकन भने १० दिनपछि सुरु हुनेछ । छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । चलचित्रको सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र नव–नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ । कार्यक्रममा बोल्दै निर्मात्री पूनम गौतमले भनिन्–‘हामी एउटा फरक कथामा चलचित्र निर्माण गर्दैछौ । दर्शकको मायाले यो चलचित्र सफल हुनेमा विश्वस्त छु ।’ निर्देशक नवल नेपालले चलचित्रले मनको कथा बोल्ने बताए । उनले चलचित्र हेरिसकेपछि दर्शकलाई फ्रेस कथा लाग्ने बताए ।

चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि कथा मनपरेपछि आफू काम गर्नका लागि उत्साहित भएको बताइन् । उनले भनिन्–‘म पहिलो पटक कुनै चलचित्रको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ । यो चलचित्र पनि राम्रो बन्नेछ, दर्शकलाई ढुक्क हुन आग्रह गर्दछु ।’

चलचित्रका मुख्य नायक पुष्पल खड्का र नायिका रेविका गुरुङले पनि चलचित्रको कथावस्तु राम्रो रहेको सुनाए । कार्यक्रममा कृष्ण गौतमले क्ल्याप हानेका थिए भने साम्राज्ञी आफैले मुहुर्त सर्टको निर्देशन गरेकी थिइन् । यो चलचित्रलाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment