Comments Add Comment

महानगरमाथि धावा बोल्ने वडाध्यक्षको ‘स्मार्ट वडा’

६ फागुन, पोखरा । केही समयअघि पोखरा १३ का वडाध्यक्ष महानगरपालिकाको कार्यालयमा आए । कर्मचारी ५ बजेसम्म पनि ड्युटीमै हुनुपर्ने नियम भए पनि उनले त्यो दिन अधिकांश कर्मचारी कार्यालयमा देखेनन् । फेसबुकमा भिडियो लाइभ गर्दै भने, ‘कर्मचारीविहीन महानगरपालिका । कस्तो बिजोग !’

वडाध्यक्षले नै महानगरको धज्जी उडाएपछि ‘खैलाबैला’ मच्चियो । पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले सञ्चारकर्मीलाई स्पष्टीकरण दिए, ‘त्यसदिन बिहेको समय थियो । सबै साथीहरु बिहे, ब्रतबन्धमा जानुपर्ने थियो । त्यसलै महानगरमा कर्मचारी देखिएनन् ।’

आफ्नै महानगरलाई खबरदारी गर्ने पोखरा १३ का वडाध्यक्ष हुन् दर्शन लामा । उनले आफ्नो वडा नीतिगत रुपमा चलेको दाबी गर्दै आएका छन् । कर्मचारी बिना काम र सूचना बिना कार्यालय छोड्न नहुनेदेखि वडा कार्यालयमा आउने सेवाग्राहीलाई उच्च महत्व दिइएको उनको दाबी छ ।

उनी आफैं पनि कुनै कारणवश बाहिर जानुपर्ने भयो भने ‘कति बेला गएको, कहाँ गएको ? कति समय लाग्ने र समयमा नआए कसरी सम्पर्क गर्ने’ भन्नेबारे सबै सूचनापाटी मै स्पष्ट लेखिएको हुन्छ ।

आफूले चुनावी बाचा पूरा गरेको उनको दाबी छ । ‘घोषणापत्रअनुसार वडालाई समृद्धितर्फ दो¥याइरहेका छौं,’ उनी भन्छन्, ‘नागरिकको सहजताका लागि गर्नुपर्ने सबै काम अघि बढाइसकेका छौं ।’

वडा कार्यालयले महानगरमै पहिलो पटक डिजिटल बडापत्र राखेको छ, जसमा काम तथा सेवाबारे प्रष्ट लेखिएको छ ।

सेवाग्राहीको कामलाई उच्च महत्व दिएको भन्दै वडाध्यक्ष लामाले भने, ‘कामको प्रकृति अनुसार वर्गीकरण गरेका छौं । सेवाग्राहीलाई सजिलो होस् भनेर तोकिएको झ्यालबाटै सेवा दिइरहेका छौं ।’

उनकाअनुसार सेवाग्राही कोठाभित्रै आउँदा अनावश्यक भीड हुने र ढिलासुस्ती हुने भएकाले झ्याल तोकिएको हो ।

वडाले अपांगमैत्री बाटो बनाइएको छ । वडा कार्यालय परिसर र त्यहाँ रहेको शौचालय अपांगमैत्री छ । ‘महिला तथा अपांगमैत्री वडा बनाएका छौं । उहाँहरु सेवा लिन आउँदा कुनै पनि दुःख पाउनुहुने छैन,’ उनले भने, ‘वडालाई पूर्ण तरिकाले दृष्टिविहीनमैत्री पनि बनाएका छौं ।’

वडालाई वातावरणमैत्री बनाउन ‘ग्रिनी रोड’को अवधारणा ल्याएको छ । नमूनाका लागि ५ सय मिटर बाटोे ‘ग्रिनी रोड’ बनाइसकेको छ । जय गंगा मार्गमा फूल, गमलासहितको नमूनामार्ग बनाइएको हो ।

अब बन्ने सबै बाटो ग्रिनीरोड अवधारणासहित नै बनाउने जानकारी दिए । ‘बाटो बनाउँदा फुटपाथलाई पनि उच्च महत्व दिएका छौं,’ वडाध्यक्ष लामाले भने । वडाले ट्राफिक लाइटसमेत प्रयोगमा ल्याएको छ ।

भद्रकाली स्कुल अगाडि एउटा ट्राफिक लाइट राखिएको छ । ‘विद्यार्थी वारपार गर्दा बटन थिँचे रातो बत्ती बल्छ । निश्चित समयपछि आफैं बन्द हुन्छ,’ उनले भने । अहिले नमूनाका लागि मात्रै राखिएको र आगामी दिनमा वडाका सबै विद्यालय क्षेत्रका बाटामा ट्राफिक लाइट जडान गर्ने उनले जनाए ।

खानेपानी समस्या हटाउन ५० वर्ष पुग्ने पानीको स्रोतमा परियोजना सुरु गरिसकेको वडाले जानकारी दिएको छ । ‘साविक आर्घ विजय गाविसमा एउटा विवादित खानेपानी योजना थियो । त्यसलाइ वडाकै पहलमा पुन सुरु गरेका छौं । त्यो योजना सफल भए खानेपानीको समस्या पर्दैन,’ वडाध्यक्ष लामाको दाबी छ । उनले खानेपानीको सुविधा नपुगेका २ वटा टोलमा पनि पु¥याइसकेको जानकारी दिए ।

नेपालमै पहिलो पटक पोखरा १३ ले स्मार्टकार्ड अवधारणा ल्याएको दाबी वडा कार्यालयको छ । मालिका सफ्टवेयर नेपालसँग मिलेर मंसिरदेखि व्यक्तिगत विवरण भरिएको स्मार्टकार्ड बाँड्न थालेको हो । ‘२ प्रकारको कार्ड हुन्छ । एउटा व्यक्तिगत र अर्को पारिवारिक,’ लामाले भने, ‘व्यक्तिगत पाउन ५२ रुपैयाँ र पारिवारिक कार्ड पहिलो पटक निःशुल्क हो ।’ उनले स्मार्ट कार्डमा सबै विवरण र कार्यबारे प्रष्ट थाहा हुने भएकाले २ दिन लाग्ने काम पनि २ मिनेटमै हुने दाबी गरे ।

वडाभित्रका संस्कृति तथा परम्परा जोगाउन र प्रबर्द्धन गर्न पोखरा १३ ले स्थानीयलाई पञ्चेबाजा प्रदान गरेको छ ।

‘कुनै पनि ठाउँको संस्कृति, परम्परा बचाउन राज्यको पनि हात हुन्छ । त्यही अनरुप हामी यसमा गम्भीर छौं,’ लामाले भने । उनले स्थानीय संस्कृति संरक्षण गर्न ३० वटा पञ्चेबाजा वितरण गरेको छ ।

वडाबासी महिलालाई उद्यमी बनाउन वडाले ५ लाख रुपैयाँ लगानीमा दालमोठ उद्योग हस्तान्तरण गरिसकेको छ । उद्योगका लागि स्थानीयले ५ लाख लगानी गरेका छन् । ‘सुरुमा हामीले १८ जना महिलालाई तालिम दियौं । अहिले उहाँहरुले रोजगारबाट मासिक १२ देखि १५ हजार रुपैयाँसम्म कमाइ राख्नुभएको छ,’ लामाले भने ।

वडाबासीको स्वास्थ्य सुधार र जाँच गर्न पोखरा १३ ले महानगरमै पहिलो पटक ल्याब सञ्चालन गरेको छ । उनले महानगरभित्र सबैभन्दा बढी २६ लाख ५० हजार रुपैयाँ कृषिमै लगानी गरेको जानकारी दिए ।

वडामा प्रवेश गर्न ८ वटा नाका छन् ।सबै नाकामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । ‘वडा छिर्ने सबै नाकामा सीसीटीभी जोडेका छौं । यसले हाम्रो सुरक्षालाई अझै बलियो बनाएको छ’ लामाले भने ।

शिक्षामा परिवर्तन ल्याउन सामुदायिक–संस्थागत सहकार्य

पोखरा १३ का वडाध्यक्ष दर्शन लामाले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन वडाभित्रका सबै विद्यालयमा एउटै पाठ्यक्रम लागू गर्न लागेको छ ।

उनका अनुसार सामुदायिक विद्यालय प्रति घट्दो वितृष्णालाई अन्त्य गर्न संस्थागत विद्यालयसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए । ‘सबै विद्यालयमा एउटै पाठ्यक्रम भयो भने विद्यालयको क्षमता थाहा हुन्छ । त्यसपछि कमजोर विद्यालयलाई सुधार गर्न सजिलो हुन्छ,’ लामाले भने । सबै सामुदायिक विद्यालयमा एउटै पाठ्यक्रम लागू गर्न वडा शिक्षा समितिले भद्रकाली माविका प्राचार्य धनश्याम रिजालको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको छ ।

उपसमितिका संयोजक रिजालले सबै विद्यालयमा एउटै पाठ्यक्रम बनाइसकेपछि उत्कृष्ट विद्यालय र विद्यार्थीलाई सम्मान गरिने जानकारी दिए । उनले भने, ‘अबको शैक्षिक सत्रदेखि सबै विद्यालयमा एउटै पाठ्यक्रम हुनेछ । त्यसपछि सबै विद्यालयको परीक्षा र प्रश्नपत्र पनि एउटै हुन्छ ।’

शिक्षक सिकाइ अभियान पनि चलाइरहेको छ । एउटा विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काजका खटाउनुका साथै पढाइ विधि सिकाइन्छ ।

वडाध्यक्ष लामाले संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक र सामुुदायिक विद्यालयका शिक्षकलाई संस्थागतमा पठाएर पनि शिक्षण विधि सिकाइरहेको जानकारी दिए । वडामा अहिले ८ वठा सामुदायिक र ६ वटा संस्थागत विद्यालयमा ५३ सय विद्यार्थी अध्ययनरत छन् ।

संस्थागत विद्यालयमा निःशुल्क पढाइ !

गरिब तथा विपन्न परिवारका भएर पनि संस्थागत विद्यालयमा पढ्न रुची भएकालाई वडाले निःशुल्क पढ्ने व्यवस्था गरेको छ । विद्यार्थीले चाहेको ठाउँमा वडाकै पहलमा निशुल्क पढ्ने व्यवस्था मिलाइएको हो । अहिले वडाले ५३ जना विद्यार्थीलाई संस्थागत विद्यालयमा निःशुल्क पढ्ने व्यवस्था गरेको छ भने आउँदो शैक्ष्कि सत्रदेखि थप ६ जनालाई पढाउने वडाले जनाएको छ ।

‘संस्थागत विद्यालयमा पढ्न चाहने विद्यार्थीलाई हामीले सूचनामार्फत बोलाउँछौं । त्यसबाट छानिएर आएकालाई वडाबाट सिफारिस गरेर सम्बन्धित विद्यालयमा भर्ना गरिदिन्छौं,’ वडाध्यक्ष लामाले भने । उनका अनुसार अहिले ८ सम्म भर्ना भएका ती विद्यार्थीलाई निशुल्क शिक्षा दिइएको र आगामी दिनमा भर्ना हुने विद्यार्थीलाई १२ सम्मै निशुल्क पढ्ने व्यवस्था गर्ने जानकारी दिए ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयका प्रत्येक कक्षामा अडियो तथा भिडियो कक्षा सञ्चालनको तयारी छ । सबै विद्यालयमा एउटै शैक्षिक क्यालेन्डर बनाउन वडाले बाल कल्याण बोर्डिङ स्कुलका प्रिन्सीपल षडानन्द गौतमको संयोजकत्वमाा समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment