Comments Add Comment

अनुगमन टोलीसँग विद्यार्थीको गुनासो : गण्डकी मेडिकल कलेजले माग वास्ता गरेन

७ फागुन, पोखरा । शुल्क बढाएको विरोधमा आन्दोलनरत गण्डकी मेडिकल कलेजका विद्यार्थीले मंगलबार त्रिभुवन विश्वविद्यालयको अनुगमन टोलीसँग छलफल गरेको छ । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको र आफूहरुको माग बेवास्ता गरेको भन्दै न्याय मागेका छन् ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी २० दिनदेखि आन्दोलनमा छन् ।

पटकपटक बसेको वार्ता पनि सहमतिमा पुग्न नसकेपछि कक्षाकोठामा माघ १७ र ओपिडीमा माघ २२ गतेदेखि तालाबन्दी छ । आन्दोलन थालेको लामो समय भइसक्दा पनि वास्ता नगरेको भन्दै उनीहरुले माघ २७ देखि रिले अनसन थालेका छन् ।

आन्दोलन विद्यार्थीले टोलीसमक्ष अहिलेसम्म कलेज प्रशासनले ५१ करोड रुपैयाँ भ्रष्टाचार गरेकोसमेत आरोप लगाएका छन् । सरकारले तोकेको शुल्कमै आफूहरुले पढ्न पाउनुपर्ने, बढी लिइएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने र आफूहरुले बुझाएको शुल्कको बिल पाउनुपर्ने विद्यार्थी माग छ ।

कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेकोसमेत विद्यार्थीको गुनासो छ । सन् २०१५ देखियताका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए ।

यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो । सहमतिबेगर उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने गर्ने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना मिश्रले बताइन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ । तर विद्यार्थीपिच्छे नियम बनाएर रकम असुल भइरहेको विद्यार्थीको आरोप छ ।

विद्यार्थी परिर्वतन भाटले भने, ‘कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी कोचेर राख्छन्, थप पैसा केका लागि हो भनेर सोध्दा झर्केर परीक्षा फारम रोकिदिने धम्की दिन्छन् ।’ शुल्क बुझाउन ढिला भए १८ प्रतिशत ब्याज जोडेर कलेजले असुल गर्दै आएको विद्यार्थीहरुको गुनासो छ ।

तर प्रशासनले भने सबै बुँदामा सहमति हुन सकेपनि शुल्क फिर्ता नहुने तर कार्यान्वयन हुँदै जाने बताइरहेको छ । टोलीले विद्यार्थीसँग मंगलबार मौखिक रुपमा वार्ता बसेपनि बुधबार प्रमाणसहित वार्तामा बस्ने बताएको छ । टोलीले आन्दोलनरत विद्यार्थीका प्रतिनिधिलाई वार्तामा बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment