+
+

भेनेजुएलाले तोड्यो कोलम्बियासँग कूटनीतिक सम्बन्ध, हिंसात्मक प्रदर्शन जारी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १२ गते ९:५९

१२ फागुन, काठमाडौं । भेनेजुयलाका विपक्षी कार्यकर्ताहरुले सरकारी नाकाबन्दीका बीच मानवीय सहायता भित्राउन खोज्दा सीमावर्ती शहरमा हिंसा भएको छ । हिंसाका बीच राष्ट्रपति निकोलस माधुरो नेतृत्वको सरकारले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोडेको छ ।

भेनेजुयलाका जनता औषधि र खाद्यान्न संकटमा मारमा परेको भन्दै अमेरिकालगायतका केही विदेशी राष्ट्रहरुले राहत सहयोग गर्न खोजेका छन् । राष्ट्रपति निकोलस माधुरोले सहयोग अस्वीकार गरे पनि विपक्षी दलका नेता जन गुइदोले राहत भित्राउनुपर्नेमा जोड दिँदै आएका छन् । यही क्रममा गुइदोका समर्थकहरुको प्रदर्शनको क्रममा हिंसात्मक झडप भएको हो ।

राष्ट्रपति माधुरोले सहायता सामाग्री भित्रिन नदिन कोलम्बियासँग जोडिएका सबै सिमाना आंशिक रुपमा बन्द गराएका छन् । उनले कोलम्बियासँगको कुटनीतिक सम्बन्ध पनि तोडेको घोषणा गरेका छन् ।

कोलम्बियाको प्रवासन एजेन्सीका अनुसार झडपको क्रममा भेनेजुयला नेशनल गार्डका केही जवानहरु सीमा क्षेत्रका चौकी छाडेर भागेका छन् । अर्कोतर्फ, कोलम्बियामा काम खोज्ने जानेहरुले सिमाना पार गर्न खोज्दा भेनेजुएलाका सैनिकहरुले अश्रुग्यास प्रहार गरेका छन् ।

शुक्रबार ब्राजिलको सिमाना नजिक भेनेजुयलाका सुरक्षाकर्मीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । शनिबार थप दुई जना मारिएको अपुष्ट खबर आएको छ ।

आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका र अमेरिकाको समर्थन पाएका विपक्षी नेता गुइदोले लाखौं स्वयंसेवकहरुले मानवीय सहायता पुर्‍याउन मद्दत गर्ने बताउँदै आएका छन् । उनले ट्वीट गरेर सहायताको पहिलो खेप ब्राजिलको बाटो हुँदै भेनेजुयला नजिक आइसकेको जानकारी दिएका छन् ।

भेनेजुयलाका राष्ट्रपति माधुरो र विपक्षी नेता गुइदोबीच यतिबेला मानवीय सहायताको मुद्दा निकै पेचिलो बनिरहेको छ । अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका माधुरोले सहायता सामग्री अस्वीकार गरेका छन् भने गुइदोले खाद्यान्न, औषधि जस्ता अतिआवश्यक सामान अस्वीकार गरेर सरकारले भेनेजुयलाका जनतालाई थप मारमा पारिरहेको बताएका छन् ।

भेनेजुयला र कोलम्बियाको सीमा क्षेत्रका केही यस्ता तस्वीरहरु सार्वजनिक भइरहेका छन् जसमा सुरक्षाकर्मीहरुले स्वयंसेवकहरुमाथि अश्रुग्यास प्रहार गरेका छन् । यस्तै प्रदर्शनकारीले चौकी, सुरक्षाकर्मी र दंगा नियन्त्रक प्रहरीमाथि ढुंगामुढा गरेका छन् । यो तनावको बीच भेनेजुयला र कोलम्बियाको सिमानामा तैनाथ भेनेजुयलाका कम्तिमा २० सैनिकले चौकी छाडेको समाचार एजेन्सीहरुले समाचार लेखेका छन् ।

सामाजिक सन्जालमा पोष्ट गरिएको एउटा भिडियोमा चारजना सुरक्षाकर्मीले राष्ट्रपति माधुरोको आलोचना र विपक्षी नेता गुइदोको समर्थन गरेको देख्न सकिन्छ । उनीहरुले भनेका छन्, ‘हामी बाबु र छोरा हौं । हामीले धेरै अनिश्चितता र अन्याय सहिसकेका छौं ।’

सिमोन बोलिवर इन्टरनेशनल ब्रिजमा खटिएका बीबीसीका सम्वाददाता ओर्ला गुएरिनका अनुसार भेनेजुएलाका नागरिक सिमाना पार गर्नका लागि सुरक्षाकर्मी अगाडि अनुनय विनय गरिरहेका छन् । कतिपयले सिमानामा लगाइएको बार चढेर पार गर्ने कोशिस पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?