Comments Add Comment

सिनेमा निर्माणमा हामी कहाँ चुक्दैछौं ?

मेरो बुवा बित्नु हुँदा झरी परिरहेको थियो । जतिबेला उहाँ चरम पीडाले छटपटाइरहनुभएको थियो, त्यसबेला बाहिर बेजोडले हावापानी परिरहेको थियो । उहाँलाई अस्पताल लैजानका लागि न एम्बुलेन्स थियो, न गाडी ।

त्यो मेरो निम्ति एक विषाद स्मृति थियो ।

जब-जब झरी पर्छ, तब मलाई त्यही स्मृतिले झस्काउँछ । मैले सिनेमामा झरीलाई दुःखको बिम्ब बनाएर प्रस्तुत गरें । त्यो अविछिन्न झरी, त्यो बत्तिइरहेका बादल, त्यो मेघ गर्जनले सिनेमाको दृश्यलाई एउटा ठाउँबाट अर्को गहिराइमा पुर्‍याउँछ । झरी र बादललाई मैले ट्रान्जिक्सनको रुपमा प्रयोग गरेको छु ।

झरीसँग मेरो बेग्लै अट्याचमेन्ट पनि रह्यो । एकोहोरो पानी परिरहँदा आउने आवाज, त्यसको दृश्यले म एकदम मोहित हुन्छु ।

सिनेमाभित्र आफ्नै अनुभव र अनुभूति यसरी घुलनशिल हुँदोरहेछ । कोठामा बसेर, कथा लेखेर, संवाद तयार पारेर, त्यहाँ पञ्चलाइन, त्यहाँ कनफि्लक्ट, त्यहाँ क्लाइमेक्स राख्ने भनेर हुँदैन । सुरुमा म पनि २० दिन रुम बुक गरेर स्क्रिप्ट लेख्न बसें । हुन त स्क्रिप्टको मोटामोटी ढाँचा मेरो दिमागमा रेखांकन भइसकेको थियो ।

होटलमा बसेर लेख्दै गएँ । २० दिन गुप्तबास नै बसें । घर फर्केर आएपछि यसो पढेको त एकदम टेक्निकल कुरा आयो । एकदम मेलोड्रामा । मैले गलत गरिरहेको छु भन्ने लाग्यो र च्यातेर मिल्काइदिएँ ।

त्यसपछि भने म हिँड्न थाले, कहिले गाडीमा, कहिले ट्याम्पुमा । त्यही बखत मैले सोचेजस्तै स्क्रिप्टको खाका तयार भयो । अनि बल्ल फाइनल स्क्रिप्ट तयार भयो । फिल्म बन्यो । स्क्रिप्ट लेखिरहँदा मेरो दिमागमा जस्तो परिकल्पना आउँथ्यो, त्यसलाई धेरै हदसम्म पर्दामा उतारेको छु ।

एक्सट्रनल कनफि्लक्ट भर्सेस इनर जर्नी

सिनेमा हेरिरहँदा कतिपयले टिप्पणी गरे, कथा भएन । स्लो भयो । कनफि्लक्ट भएन । क्लाइमेक्स नै आएन । कनेक्ट नै गरेन ।

हामीकहाँ एस्ट्रनल कनफि्लक्ट खोज्न थालियो । जस्तो मैले कुनै दृश्यमा अलि कडा स्वरमा ‘यो म गर्दिन’ भन्दै प्रतिपाद गरें भने त्यो चाहि कनफि्लक्ट भयो । तर, जसरी इनर जर्नीलाई कलरको माध्यामबाट, दृश्यको माध्यामबाट, साउन्डको माध्याबाट जुन जर्नी देखाउन खोजे, त्यो चाहि कनफि्लक्ट भएन । ट्वीस्ट भएन ।

सिनेमालाई सिनेमाको रुपमा लिनुपर्छ भन्ने मलाई लाग्छ । सिनेमा इन्फर्मेशन होइन, आदर्श बेच्ने चिज होइन । यो छुटै साधना हो, छुटै क्राफ्ट हो । म यसभित्र रहेको छु । मलाई प्रत्येक सिनले छुन्छ । मैले यो काम कोठाभित्र बसेर यसै हचुवाको भरमा गरेको होइन । फलाना-फलाना सिन हिट हुन्छ भनेर लेखेको होइन ।

एकताका मेरो दिमागले पनि सिनेमाका ठूल-ठूला कुरा बोकेर हिँड्थ्यो । सिनेमामा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ । तर, समय छिप्पिदै गएपछि मलाई आफ्नो कच्चापनको बोध भयो । मैले सोचेजस्तो आदर्श, तर्क, कन्टेन्टको भारी फिल्मलाई बोकाउनु हुँदैन भन्ने विन्दुमा म उभिएँ ।

सन्देश भर्सेस सिनेम्याटिक क्राफ्ट 

हामी सिनेमामा सन्देश खोज्न थाल्यौं । जब सिनेमामा ‘सन्देश’ हुनुपर्छ भन्ने बुझाईले मेकरको दिमागभित्र कब्जा जमाउँछ, उसले ‘जीवन’लाई भने छाड्छ । ऊ सिनेमाभित्र प्राण खोज्दैन । हामी कहिले सन्देशमा बग्यौं, कहिले इस्युमा पस्यौं ।

सिनेमा इस्यु होइन, सिनेमा स्टोरी हो ।

अहिले सिनेमामा कन्टेन्टको खोजी हुन थालेको छ । कन्टेन्ट त ल्याइयो, त्यो सकारात्मक कुरा हो । तर, मेकिङको हिसाबले त्यसमा क्राफ्टको समस्या छ । ‘बुलबुल’ले भयंकर कथा भनेको छैन ।

फिल्मले कथा भन्ने होइन । विश्वका विख्यात सिनेमेकर्स कहिल्यै कथाको पछि दौडिएनन् । उहाँहरुले एउटा क्राफ्टमा टेकेर जर्नी भनिदिनुभयो ।

सिनेमाको स्ट्रेन्थ कथा थिएन । कथा त नाटकले पनि भनेकै हुन्छ । उपन्यासले पनि भनेकै हुन्छ । तर, हामी कथामा अल्झियौं । यस हिसाबले ‘बुलबुल’मा मैले जोखिम उठाएकै हो, कथालाई पन्छाएर ।

अहिले सिनेमा बनाउनका लागि कथा खोजिन्छ । कन्टेन्ट खोजिन्छ । द्वन्द्व खोजिन्छ । सिनेमामा भयंकर आदर्श लाद्न थाल्छौं । सन्देश दिन थाल्छौं । उपदेश दिन थाल्छौं । तर, सिनेमाको वास्तविक तत्व के हुन् ? त्यसलाई पूर्णत उपेक्षा गरिन्छ । फलनाले बनाएको फिल्म हिट भयो । अब त्यसको शाखा फिल्महरु बन्न थाल्छन् ।

प्रि-प्रोडक्सन भर्सेस पब्लिसिटी

सिनेमा कसरी बनाउने ? सिनेमेकर्सको मनमा उब्जनुपर्ने प्रश्न यो थियो । तर, प्रश्न उल्टो भइदियो । अहिले सिनेमेकर्सको मनमा उब्जने प्रश्न हो, सिनेमा कसरी चलाउने ?

सिनेमा कसरी बनाउने भन्दा पनि सिनेमा कसरी चलाउने भन्ने कुरामा हामी केन्द्रित भयौं । यही कारण सिनेमामा हामीलाई कथा भन्ने हतारो भयो । जसरी हुन्छ स्क्रिप्टको संवाद र दृश्यहरु छायांकन गरेर प्याकअप गर्नुपाए पुग्ने ।

सिनेमा चलाउनुपर्छ भन्ने चेतले नै हामी ‘पब्लिसिटी’मा ध्यान दिन थाल्यौं । ध्यान दिनुपर्ने कुरा त प्रि-प्रोडक्सनमा थियो । पि्र-प्रोडक्सन सिनेमाको यस्तो धरातल हो, जहाँ टेकेर एउटा सुन्दर संसारको रचना हुन्छ ।

‘बुलबुल’को हकमा मैले धेरैजसो समय र श्रम प्रि-प्रोडक्सनमा नै लगानी गरें । सर्ट ब्रकडाउन गर्ने, सेटको खाका तयार गर्नेदेखि ड्रेस, मेकअप जस्ता यावत् कुराको बन्दोबस्ती मिलाइसकेका थियौं । छायांकनमा जानुअघि नै मेरो सिनेमाको र्फम के हो, मेरो डिजाइन के हो भनेर सर्टहरु ब्रेकडाउन गर्दै सिनेम्याटोग्राफर, प्रोडक्सन टिमलाई बुझाइसकेको थिएँ । हाम्रो टिम नै सेटमा गएर यहाँ यस्तो सट यसरी खिचिनेछ भन्ने पूर्वतयारी भएको थियो ।

करिब तीन महिना यसरी प्रि-प्रोडक्सनमा बिताएपछि हामीलाई सुटिङमा सहज भयो । सुन्धराको भिडभाड ट्याम्पु स्टेशनमा, गुडिरहेको ट्याम्पुभित्र डायलग बोलिरहेको दृश्यांकन जति छरितो ढंगले गरियो, त्यो प्रि-प्रोडक्सनमा गरिएको मेहनतकै नतिजा थियो ।

मैले मोबाइलमा रेड क्यामेराको एप डाउनलोड गरेको थिएँ । त्यही एपबाट भिन्न-भिन्नै लेन्सबाट भिडियो खिच्दै हिँडें । एक हिसाबले यो डमी सुट जस्तै थियो । कलाकारलाई पनि लामो समय वर्कसपमा सहभागी गरायौं ।

यावत् काम गर्नुको पछाडि एउटै ध्येय थियो, सिनेमा बनाउने । सिनेमा चलाउने भन्दा पनि बनाउने कुरामा म घोत्लिएको थिएँ ।

सिनेमा बनेपछि चल्नुपर्छ भन्ने धारणा जरुर हुन्छ । म पनि ‘बुलबुल’ले राम्रो बिजनेस गरोस् भन्ने अपेक्षा राख्छु । सिनेमा बजारबाट विमुख हुनै सक्दैन । तर, यो बजार केन्दि्रत बस्तु उत्पादन गरेजस्तो पनि होइन । सिनेमा आर्ट हो, बस्तु होइन ।

सिनेमाको तत्व र शृंगार

‘बुलबुल’को सबै काम पुरा भएपछि प्रदर्शनअघि केही अधिकारीलाई देखाइयो । सिनेमा बुझ्ने भनिएका ति अधिकारीमा पनि एक किसिमको छटपटी देखिन्थ्यो । उनको छटपटी एवं हतारोबाट प्रष्टसँग बुझ्न सकिन्थ्यो कि, उनी सिनेमामा घमासन द्वन्द्व खोजिरहेका छन् । छिटो-छिटो क्लाइमेक्स खोजिरहेका छन् ।

सिनेमा हेरिरहँदा हामी त्यसका स-सना तत्वहरुलाई अनुभूत गर्ने यत्न नै गर्दैनौं । निर्देशकले कसरी दृश्यहरु खिचेका छन्, पात्रहरुलाई कसरी परिचालन गरेका छन्, संवादहरु कस्तो बोल्न लगाएका छन्, रंगको समायोजन कस्तो छ, ध्वनी कसरी प्रयोग गरिएको छ ?

जबकी सिनेमा कथा, कन्टेन्ट वा अभिनयको जोडघटाउ मात्र होइन । यसभित्र ति थुप्रै सुक्ष्म तत्व हुन्छन्, जसलाई दर्शक हेरेर अनुभूत गर्ने हो ।

एशियाको कान छैन

एक प्रशिद्ध फिल्ममेकरले भन्नुहुन्थ्यो, ‘हाम्रो एसियाको कान नै छैन । हाम्रो एशियामा केही कुरा सुनिदै सुनिदैन ।’ ब्युटी चाहि यहाँ साउन्डमा छ, तर, यहाँ हाम्रो कान नै छैन । जबकी त्यो सुन्दरता पश्चिमा भूगोलमा छैन । तर, उनीहरुको कान छ । उनीहरुको सिनेमा हेर्नुहोस् त साउन्ड कति बोल्छ ।

‘बुलबुल’ आफैमा एक प्रयोग पनि थियो । यसमा मैले केही अभ्यास गरेको थिएँ । जस्तो कि, ध्वनी । मलाई टेम्पु गुडिरहँदा त्यसभित्र सुनिने एक किसिमको ध्वानीले तानेको थियो ।

जस्तो चुल्होमा तरकारी पाकिरहेको छ । तरकारी उम्लिएको आवाज आउँछ, बाहिर इनार छ, इनारमा पानी तानिरहेको आवाज, कसैले कपडा धोइरहेको छ, कसैले नुहाइरहेको छ, त्यसको आफ्नै ब्युटी छ । ति सबैबाट पैदा हुने धुन सुन्दा कुनै आत्मिक संसारमा पुगेजस्तै अनुभूत हुन्छ । त्यहाँ पुरानो घडी टिकटिक गरिरहेको होला, त्यसले छुटै रिदम क्रिएट गर्छ । त्यहाँ साउन्डले नै धेरै कुरा बोल्छ । यस्तो कुरामा मैले एकदम ध्यान दिएँ ।

दुभाग्र्य चाहि के भइदियो भने, हामीकहाँ साउन्डमा स्पटमा कुरा गर्ने मान्छे चाहि छैन रहेछ । एक त बाहिरी हल्लाले डिस्टर्ब गर्ने । त्यहाँ हामीले सिन्क साउन्ड गर्न चाहि पाएनौं । स्टुडियो भइदिएको भए यस्तो समस्या हुँदैनथ्यो, नेचुरल साउन्ड लिन । पछि काम सकेपछि स्पटमा गएर त्यो साउन्डलाई रेकर्ड गरेर ल्याइयो ।

यी सुक्ष्म, अदृश्य तर महत्वपूर्ण पाटो हो, सिनेमाका लागि । तर, हामी यस्ता तत्व खोज्ने कष्ट खेप्दैनौं ।

लय गुमायौं कि ?

मेकिङका प्वाइन्ट अफ भ्युबाट हेर्ने हो भने, हामी अझै पछाडि धकेलिदैछौं । अर्थात हिजोको दिनमा जसरी र जस्तो सिनेमा बन्थे, त्यो भन्दा कमजोर हुँदै गएका छौं । जतिबेला तुलसी घिमिरेहरुले फिल्म बनाउँथे, हो बलिउडबाट हामी प्रभावित थियौं, त्यती हुँदा हुँदै पनि स्टोरी टेलिङ स्ट्रोङ हुन्थ्यो ।

मेलोड्रामा नै हुन्थ्यो, लाउड नै हुन्थ्यो । तर, एउटा लेभलको स्टोरी टेलिङ चाहि हुन्थ्यो ।

त्यसबेलाको प्रविधिले पनि केही असर गरेको थियो । एनालगमा खिचिन्थ्यो, रिल जतन गर्नुपर्ने एकातिर, अर्कोतिर कतिपय दृश्यहरु सजिलै खिच्न नसिकने । त्यस्तो अवस्थामा लाउड हुने नै भयो । अहिले त प्रविधिले फड्को मारेको छ । तर, हामीले त्यससँगै ताल मिलाएर फड्को मारेनौ । हामी जहाँको त्यही छाडियौं ।

यस्तो किनपनि भयो होला भने, प्रविधिको सहजताले सबैलाई फिल्ममेकर बनाइदियो । सिनेमामा परिपक्क नभई हामी फिल्म बनाउन तम्सियौं । तर, सिनेमाको सार समात्नै सकेनौं । मान्छेलाई कसरी हसाउँने, कहाँ रुवाउने, कहाँ ताली पड्काउन लगाउने भन्ने कुरामा मात्र हामी फोकस भयौं । यो गलत अभ्यास थियो । यही विन्दुबाट हामीले आफ्नो लय छाड्दै गयौं ।

(बिनोद पौडेल  चलचित्र बुलबुलका निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment