Comments Add Comment

प्रियंका कार्कीः चर्चै चर्चामा नम्बर १

नेपाली चलचित्र एउटा भनाइमा चल्छ । यहाँ चल्न त पर्छ नै, तर चलेको नाटक पनि गर्न आवश्यक छ । म चलेको छु भनेर सुस्ताउने कलाकार भन्दा सामान्य चलेका तर हल्ला गर्न सक्ने कलाकार बढी हाबी छन् । विगत केही बर्षदेखि नेपाली चलचित्रमा नम्बर १ को स्थानमा रहेकी नायिका प्रियंका कार्कीको हकमा पनि यो कुरा लागू हुन्छ । उनी जति सफल भइन्, त्यो भन्दा बढी चर्चै चर्चाले हाबी भइन् । प्रियंकाको काम भन्दा बढी उनको चर्चा बोलेको छ ।

नायिका प्रियंका कार्कीले सन् २०१२ मा रिलिज भएको चलचित्र ‘थ्रि लभर्स’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन् । व्यापारिक रुपमा सफल हुन नसकेको यो चलचित्रले प्रियंकालाई भने सफलताको बाटो कोरिदियो । प्रियंकाले त्यसपश्चात् चलचित्रमा निरन्तर काम पाइरहिन् । तर, उनले अभिनय गरेका ५ वटा चलचित्र लगतार असफल भए । ‘कलिउड, भिजिलान्ते, कर्कश, नेपथ्य’ले उनलाई असफलताको झट्का दियो । तर, असफलताले प्रियंकालाई असर गरेन । ‘असफलतामा पनि निरन्तर मिहिनेत गर्ने व्यक्ती नै सफलताको हकदार हो’ भने जस्तै उनको जीवनमा पनि यो मेल खायो ।

चलचित्र ‘झोले’ले प्रियंकालाई करोड क्लवकी नायिका बनाइदियो । त्यस लगत्तै उनी अभिनित चलचित्र ‘नाई नभन्नु ल २’ले पनि राम्रै सफलता पायो । दुई चलचित्रको सफलतासँगै उनको व्यस्तता ह्वातै बढ्यो । चलचित्र क्षेत्रमा रेखा थापाको जस्तो स्टारडम कुनै नायिकाले बनाउन नसकिरहेको समयमा प्रियंकाको प्रवेशले उक्त कुरालाई तोडिदियो । प्रियंकाको संघर्षले दर्शक उनको पोल्टामा परे । रेखाको दबदबा रहेको चलचित्र क्षेत्रमा प्रियंका खरो उत्रिइन् ।

प्रियंकाले अफर आएका चलचित्रहरु लगतार काम गर्दै गइन् । उनी अभिनित चलचित्रहरु सफल पनि भइरहेका थिए । निर्माता–निर्देशक पनि उनलाई चलचित्रमा लिन महिनौ कुर्न तयार थिए । उनको सफलता र व्यस्ततालाई हेरेर प्रियंकालाई नेपालको नम्बर एक नायिकाको उपमा पनि दिइयो ।

नायिका कार्कीले ५० भन्दा बढी चलचित्रमा र सयौ म्युजिक भिडियोमा काम गरेकी छिन् । व्यस्त बन्नका लागि अफर आएका सबै काम गर्दा प्रियंकाको लोकप्रियता अहिले कमजोर बनेको छ । नायिका कार्कीले चलचित्र र म्यूजिक भिडियोमा आफूलाई चुजी बनाउन सकिनन् ।

नायिका कार्कीले चलचित्रमा फरक भूमिका गर्नु भन्दा पनि आफूलाई धेरै चलचित्रमा देखाउन खोज्दा दर्शकले उनमा विविधता पाएनन् । यहीकारणले नै उनले अभिनय गरेका चलचित्रमा दर्शकको भीड कम हुन थालेको पाइन्छ ।

बरु, अहिले नायिका कार्की नायक आयुष्मान देशराज जोशीसँगको प्रेममा रमाइरहेकी छिन् । चाडै नै बिहे बन्धनमा बाँधिन लागेको यो जोडीको अवार्ड कार्यक्रममै गरेको चुम्बनदेखि स्विमिङ पूलको मस्तीले बढी चर्चा पायो । प्रियंका आफ्नो बोलीका कारण पनि बढी चर्चामा छिन् । उनले दिने अभिव्यक्ति प्राय विवादमा रहेको पाइन्छ । नायिका कार्कीको पहिरन, उनको स्टाइल उनको अभिनय भन्दा बढी चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment