Comments Add Comment

प्रधानमन्त्रीको जन्मस्थलमा रवीन्द्र अधिकारीको अन्तिम भाषण : उहाँकै सल्लाहमा आएको हुँ !

१५ फागुन, तेह्रथुम । पर्यटनमन्त्री मन्त्री रविन्द्र अधिकारीले तेह्रथुमको चुहानडाँडामा बुधबार छोटो भाषण गरे । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्वोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो ।

मन्त्री अधिकारीले चुहान डाँडाको कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री आफू केपी ओलीकै सल्लाह र निर्देशनमा विमानस्थलको अवलोकन गर्न आएको बताएका थिए ।

मन्त्री अधिकारीको टोली चुहानडाँडाको कार्यक्रमस्थलबाट विदा भएर ताप्लेजुङको पाथिभरा मन्दिरतर्फ लागेको थियो । मन्दिरको दर्शन गरेर फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भयो ।

चुहानडाँडामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले के भने ? मन्त्री अधिकारीसँग एउटै मञ्चमा बसेका प्रदेश १ का सांसद तेजमान कन्दङ्वालाई हामीले सोध्यौं । कार्यक्रमका बारेमा सोही निर्वाचन क्षेत्रका प्रदेश सांसद कन्दङवाले अनलाइनखबरसँग यसो भने-

म यतिबेला तेह्रथुमको चुहानडाँडामै छु । मन्त्री रविन्द्र अधिकारीले सम्वोधन गरेको कार्यक्रमस्थलमै छु म अहिले । कार्यक्रम सकेर यहाँबाट मन्त्री रविन्द्र अधिकारीको टोली साढे ११ बजे हेलिकोप्टरमा उडेको हो । मलाई त उहाँहरु सीधै काठमाडौं गएजस्तो लागेको थियो, तर, पाथीभरा मन्दिर दर्शन गर्न जानुभएछ । त्यही क्रममा यस्तो नराम्रो खबर सुनियो ।

उहाँहरुको यहाँबाट १ घण्टामा काठमाडौं पुग्नुपर्ने हो । तर, पाथीभरा जाने भन्नुभएको रहेछ, मलाई त भन्नुभएन । उहाँहरु यहाँ चुहानडाँडाको विमानस्थल अवलोकन गर्ने कार्यक्रम सकेर हिँड्नुभएको हो ।

हेलिकोप्टर नै सानो भएको हुनाले त्यसमा धेरै मानिसहरु चढ्नुभएको थिएन । यसमा मन्त्री अधिकारी, व्यवसायी आङ छिरिङ शेर्पा

म प्रदेशसभा विराटनगरबाट यही कार्यक्रमका लागि चुहानडाँडा आएको हुँ । विबराटनगरमा प्रदेशसभाको मिटिङ भइरहेको छ । तर, मेरो निवौचन क्षेत्रमा मन्त्रीज्यूहरु आउने भनेपछि म ६/७ दिनदेखि चुहानडाँडामै तयारीका लागि आएको थिएँ । यो मेरै निर्वाैचन क्षेत्रमा भएको कार्यक्रम हो ।

कार्यक्रम ४०/४५ मिनेटभन्दा बढी भएन । कार्यक्रम सञ्चालन पूर्वप्रधानाध्यापक रामचन्द्र थपलियाले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष विष्णुविक्रम कन्दङ्वाले गर्नुभएको थियो । स्वागत मन्तव्य वडा सदस्यले गर्नुभयो, मैले पनि छोटो मन्तव्य व्यक्त गरें । कार्यक्रम छिटै सकिएको थियो ।

चुहानडाँडा भनजेको प्रधानमन्त्री केपी ओलीको जन्मगाउँ हो । उहाँ जन्मेको इवामा यहाँबाट गाडीमा जाँदा आधा घण्टाजति लाग्छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो । उहाँले म प्रधानमन्त्रीजीकै सल्लाहमा आएको हुँ भन्नुभएको थियो ।

यो एयरपोर्टको माग हामीले धेरै पहिलेदेखि गर्दै आएका थियौं । यसको सर्वे गर्ने काम पहिला ०३२ सालमा, ०३५ सालमा ०६८ सालमा र ०७१ सालमा भएको थियो । हामीले बारम्बार माथि गएर प्रधानमन्त्रीलाई लेखेर दिने काम गरिराखेका थियौं । अहिलेबाट यो काम अगाडि बढाउने सरकारले निर्णय गरेको थियो । अहिले एउटा कन्सल्टेन्सी आएर सर्वे गर्दाखेरि ८७ करोडमा यो एयरपोर्ट बनिसक्छ भनेर फाइनल प्राविधिक रिपोर्ट दिएको थियो । ०६८ मा गरेको सर्वेले २९ करोडमा बनाउने भनेको थियो ।

यही प्रक्रिया अनुसार प्रधानमन्त्री केपी ओलीसँग सल्लाहै गरेर उहाँकै निर्देशनमा यहाँको कुरा बुझ्न आएको भनेर मन्त्रीज्यूले भन्नुहुन्थ्यो ।

अधिकारीको त्यो अन्तिम भाषण

बुधबार बिहान करिब १० बजेतिर कार्यक्रम स्थल पुगेका मन्त्री अधिकारीले मन्तव्य व्यक्त गर्ने क्रममा खराब मौसमका बारेमा पनि चर्चा गरेका थिए । करिब १५ मिनेट भाषण गरेका उनले भनेका थिए, ‘पानी परेको छ, मौसम खराब छ । हामी फेरि फर्कनु पर्नेछ ।’

मन्त्री अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाबमोजिम आफूहरु निरीक्षणमा आएको सुनाएका थिए ।

‘यो ठाउँ हाम्रो मन्त्रिमण्डलको नेतृत्व गरिरहनुभएका सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको जन्मस्थल भएर मात्रै पनि होइन, यो ठाउँ उपयुक्त स्थान भएकाले पनि एयरपोर्ट बनाउने विषयमा छलफल भएको थियो’, उनले भनेका थिए, ‘उहाँले डिटेल अध्ययन गर्नुस् भन्नुभयो । अध्ययन प्रतिवेदनको अध्ययनपछि मलाई आफैं गएर चुहान डाँडा हेरेर आउनुहोस् भन्नुभयो । त्यसपछि स्थलगत अध्ययनमा आएका छौं ।’

अरु अध्ययनहरुले उपयुक्त देखाइसकेको बताउँदै मन्त्री अधिकारीले अगाडि भनेका थिए, ‘यत्तिकै हेर्दा पनि यो एयरपोर्टका लागि उपयुक्त ठाउँ छ । मैले सबै हिसाबले उपयुक्त छ भन्ने ठानेको छु ।’

उनले चुहानडाँडा एयरपोर्टको नक्सा र इस्टमेट डिजाइन सबै भइसकेको बताउँदै पहिले २९ करोड लाग्ने अनुमान गरिए पनि हाल ८७ करोड खर्च हुने अवस्था आएको जनाएका थिए ।
मन्त्री अधिकारीले वर्तमान सरकारमा मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको उल्लेख गर्दै ओलीको सन्देश पनि सुनाएका थिए । उनले भनेका थिए, ‘प्रधानमन्त्रीज्यूको सन्देश पनि म भन्न चाहन्छु, सरकार यो ठाउँमा एयरपोर्ट बनाउन प्रतिबद्ध छ । त्यसैले हामी तपाईंहरु बीच आएका छौं ।’

मन्त्री अधिकारीले अर्को प्रसंगमा सरकारको अस्थिरताबाट फाइदा लिएका र मुलुकमा समृद्धि नदिनेहरु आत्तिएको पनि बताएका थिए । उनले भनेका थिए, ‘केही भएन भनेर कराइ रहेका छन् । तर, यो सरकार बनेपछि मुलुकको समृद्धिका लागि थुप्रै कामहरु भएका छन् ।’

उनले आफूहरु राष्ट्र र जनताको पक्षमा काम गरिरहेको बताउँदै अझै प्रभावकारी ढंगले काम गर्ने पनि प्रतिबद्धता जनाएका थिए । ‘काम भएको छैन भनेर हल्ला गर्नेहरु छन् । तर, यति भन्न चाहन्छु, उनीहरु किन हल्ला गरिरहेका छन् भने सरकारले काम गरिरहेको छ र काम गरेको छैन भनेर अफवाह फैलाउन हल्ला गरिरहेका छन्’, उनले भनेका थिए ।

पर्यटनमन्त्री अधिकारीले आफूले देशभरको विमानस्थल सुधार गरिरहेको पनि बताएका थिए । उनले भनेका थिए, ‘देशमा ठूल्ठूला पूर्वाधारका निर्माणका काम भइरहेका छन् । अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन, यो सरकारको सन्देश हो । सरकार यसमा प्रतिबद्ध छ ।’

मन्त्री अधिकारीले तेह्रथुमको कार्यक्रम सकिएलगत्तै पाथिभरा दर्शन गर्ने इच्छा राखेका थिए । र, त्यसतर्फ टोली लागेको थियो । यद्यपि, पाथिभराबाट फर्किने क्रममा दुर्घटनामा परेर बुधबार दिउँसो मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment