+
+
Shares
रिपोर्ट :

२०७२ को भूकम्प र २०८२ को बाढी जितेका उमेश बेपत्ता

आमा र छोरो गुमाएको वियोगमा बरखी बारिरहेका बाबुका लागि वर्ष दिन नपुग्दै फेरि अर्को छोरो बेपत्ता हुँदा कति ठूलो पीडा होला ?

केशव भट्ट केशव भट्ट
२०८३ भदौ ३० गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि भीमदत्त नगरपालिका–१० का जयबहादुर धामीका छोरा उमेश धामी १९ दिनदेखि सम्पर्कविहीन छन्।
  • उमेशले १० भदौ बिहान घरमा फोन गरेपछि रसुवागढी जलविद्युत् आयोजनामा बाढी आएको हल्ला चलेको थियो र त्यसयता उनको खोजी भइरहेको छ।
  • अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत प्रेमप्रकाश जोशी पनि बाढीपछि सम्पर्कविहीन छन्, र परिवारले अस्पतालदेखि सम्भावित ठाउँसम्म खोजी गरे पनि खबर पाएको छैन।

३० भदौ, कञ्चनपुर। भीमदत्त नगरपालिका–१०, तिलकेनीका जयबहादुर धामी आफ्नो  काहिंलो छोरो उमेशको व्यग्र प्रतीक्षामा बसेको तीन हप्ता पुग्न लाग्यो। विनाशकारी रसुवा बाढीपछि उमेश सम्पर्कविहीन छन्।

छोराको आवाज सुन्न नपाएको १९ दिन भइसकेको छ। यसअघि हरेक साँझ म्यासेन्जरको पारिवारिक ग्रुपमा फोन हुने गर्थ्यो।

१० भदौयता बिहान उठेदेखि बेलुकासम्म जयबहादुर मोबाइलतिर आँखा लगाइरहन्छन्। अपरिचित नम्बरबाट फोन आउँदा पनि उनको मन झस्किन्छ। कतै उमेशकै खबर त होइन ?

काहिंलो छोरो उमेश सम्पर्कविहीन हुनुभन्दा १० महिना पहिले धनबहादुरले कान्छो छोरो धनबहादुरलाई गुमाएका थिए। धनबहादुरको २०८२ कात्तिक १५ गते भारतको बेङ्लोरमा सडक दुर्घटनामा ज्यान गएको थियो।

कान्छो छोरोको मृत्युको दुई हप्ता पहिले जयबहादुरले आफ्नी आमा गुमाएका थिए। गत असोज ३१ गते उनकी आमा द्रोपतिदेवि धामीको मृत्यु भएको थियो। आमा र एउटा छोरो गुमाएको पीडा बिर्सन नपाउँदै जयबहादुरका अर्को छोरो बेपत्ता छन्।

उमेश धामी

१० भदौ बिहान रसुवागढी जलविद्युत् आयोजनामा इलेक्ट्रिक इन्जिनियरका रूपमा कार्यरत उमेशले घरमा फोन गरेका थिए। त्यो दिन जयबहादुरको लघुवित्त समूहको बैठक थियो। ऋणको किस्ता तिर्नुपर्ने थियो। उमेशले फोन गरेर किस्ताका लागि पैसा पुगेको छ कि छैन भनेर सोधेका थिए।

लघुवित्त समूहको बैठकमा के के भयो ? भन्ने विवरण जयबहादुरले उमेशलाई सुनाउन पाएनन्। ‘समूहको बैठक नसकिंदै रसुवामा बाढी आएको हल्ला आयो’ जयबहादुर भन्छन्, ‘मोबाइलमा बाढीका भिडियो देखिन थाले। छोरालाई फोन गरें, लागेन।’

त्यसलगत्तै परिवारले तीव्र खोजी शुरु गर्‍यो। काठमाडौंमा रहेका ज्वाइँ उमेश विष्टलाई खोजीका लागि पठाइयो। शिक्षण अस्पतालदेखि उमेश कार्यरत चिनियाँ कम्पनीसम्म पुगेर सोधपुछ गरियो।

उमेश कार्यरत रसुवागढी जलविद्युत् आयोजना निर्माणको काम सकिएको थियो। धेरै कामदार फिर्ता भइसकेका थिए। आयोजना सरकारलाई हस्तान्तरण गर्नुअघि रेखदेख र प्राविधिक सहयोगका लागि उमेशलाई रसुवामै राखिएको परिवारले जनाएको छ।

तर १९ दिन बितिसक्दा पनि उमेश कहाँ छन् भन्ने जवाफ छैन। घरको खर्च जुटाउनेदेखि बहिनीहरूको पढाइसम्म उनले हेर्दै आएका थिए। 

‘भूकम्प र बाढीबाट जोगिएको छोरो यो बाढीपछि पनि जीवितै होला’

उमेशका लागि रसुवा नयाँ ठाउँ थिएन। उनी २०७० सालदेखि त्यहीं काम गर्दै आएका थिए। २०७२ सालको भूकम्प आउँदा पनि उनी रसुवामै थिए। भूकम्पपछि परिवारसँग सम्पर्क टुट्यो। त्यतिबेला छैटौं दिन सम्पर्कमा आएका छोराको गत वर्ष पनि त्यस्तै भयो।

गत वर्ष भोटेकोशीमा बाढी आयो। त्यतिबेला ज्यान जोगाउन जंगलतिर भागेको केही समयपछि परिवारसँग सम्पर्कमा आउँदा उमेशले बताए। त्यसैले यसपालि पनि जयबहादुरको मनले उमेशलाई त्यहीं कतै सुरक्षित रहेको देखिरहेको छ।

‘भूकम्पमा ६ दिनपछि फोन आएको थियो। पोहोर बाढीमा पनि सम्पर्क भएको थियो’ जयबहादुरले भने, ‘अहिले यत्तिका दिन भइसक्यो। केही खबर छैन। तैपनि छोरो कतै सुरक्षित होला कि भन्ने आश छ।’

उमेशका परिवार

उमेशकी आमा सरस्वतीको मनमा भने छोराले भनेको एउटा कुरा घुमिरहन्छ। तिहारमा घर आउने योजना बनाएका उमेशले हजुरआमाको बरखीमा पनि सहभागी हुने बताएका थिए।

‘दिवालीमा घर आउँछु मम्मी, त्यही बेला हजुरआमाको बरखी पनि छ भनेको थियो’, सरस्वतीले भनिन्। तर घर आउँछु भनेको छोरो आएको छैन। ‘जसरी भए पनि मेरो छोरा खोजिदिनुस्’, उनले भनिन्।

जयबहादुरले महाकाली प्रादेशिक अस्पतालमा डीएनए परीक्षणका लागि नमूना पनि दिएका छन्। कम्पनीबाट राहत र बीमाको कुरा भइरहेको छ। तर जयबहादुरलाई अहिले त्यसको कुनै हिसाब छैन।

‘मलाई पैसा चाहिएको होइन’ उनी भन्छन्, ‘मलाई मेरो छोरा चाहिएको हो। लास हो या सास, केही न केही त यकिन हुनुपर्‍यो। छोरा ड्युटीमै थियो। अवस्था नै थाहा नभई म कसरी राहतको पैसा लिऊँ ?’

जयबहादुर भन्छन्, ‘भूकम्पमा पनि छोरो बाँचेको थियो, पोहोर बाढीमा पनि ज्यान जोगाएर फर्किएको थियो। यसपालि पनि कतैबाट फोन आउला कि भन्ने आश अझै छ।’ 

रातिको ड्युटी सकिएर कोठामा आएँ भनेको केहीबेरमा सम्पर्कविहीन

तिलकेनीकै अर्को परिवार पनि यतिबेला उस्तै पीडामा छ। विष्णुदत्त जोशीका छोरा प्रेमप्रकाश पनि रसुवा बाढीपछि सम्पर्कविहीन छन्। रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा इलेक्ट्रिसियनका रूपमा कार्यरत प्रेमप्रकाश बाढी आएपछि परिवारको सम्पर्कमा आएका छैनन्।

छोराको खोजीमा उनका दाइ लोकेन्द्र चितवन, देवीघाट हुँदै काठमाडौंसम्म पुगे। अस्पतालदेखि सम्भावित सम्पर्कस्थलसम्म पुगेर खोजी गरे पनि प्रेमप्रकाशको कुनै खबर भेटिएन।

प्रेमप्रकाश

असारमा रोपाइँका लागि घर आएका प्रेमप्रकाशले अब तिहारमा फेरि घर आउने बताएका थिए। परिवारका सदस्यसँग नियमितजसो फोनमा कुरा गरिरहने उनले बाढी आउनुअघि पनि आमालाई फोन गरेका थिए।

‘राति ड्युटी थियो, अहिले कोठामा आएको छु भन्दै फोन गरेको थियो’ प्रेमप्रकाशकी आमा देवकीले छोरासँगको अन्तिम कुराकानी सम्झिइन्, ‘केही बेरमा त बाढी आइहाल्यो, त्यसपछि कुनै सम्पर्क भएको छैन।’

प्रेमप्रकाश पनि लामो समयदेखि रसुवामै काम गर्दै आएका थिए। करिब सात वर्ष रसुवागढीमा काम गरेपछि दुई–तीन वर्षअघि उनी अपर त्रिशूली–१ आयोजनामा पुगेका थिए। घरमा आमाबुवा, श्रीमती र भाइहरूसँग उनको नियमित सम्पर्क भइरहन्थ्यो। अचानक सम्पर्क टुटेपछि परिवारको दैनिकी नै फेरिएको छ।

प्रेमप्रकाशका श्रीमती र आमा ।

प्रेमप्रकाशकी आमा देवकी नसा सम्बन्धी समस्याका कारण नियमित औषधि सेवन गर्छिन्। छोराको कुनै खबर नआएपछि उनको स्वास्थ्य झन् कमजोर बन्दै गएको कान्छा छोरा योगेन्द्रले बताए। उनी राम्ररी बोल्न समेत सक्ने अवस्थामा छैनन्। बेलाबेला एउटै कुरा दोहोर्‍याउँछिन, ‘मेरो छोरा खोजिदिनू।’

श्रीमती कमला पनि हरेक दिन श्रीमान्‌को खबर आउने आशामा छिन्। घरमा रहेका वृद्ध सासू–ससुरा पनि बिरामी छन्। एकातिर श्रीमान्‌को अवस्था बारे कुनै जानकारी छैन, अर्कोतिर वृद्ध आमाबुवालाई सम्हाल्ने जिम्मेवारी पनि उनकै काँधमा छ।

‘छोराले बाबाको फोन किन आएन भन्छ, अब उसलाई कसरी सम्झाऊँ ?’ कमलाले भनिन्, ‘वृद्ध सासू–ससुरा पनि बिरामी हुनुहुन्छ। उहाँहरूलाई पनि कसरी सम्हाल्नु ? जसरी भए पनि हाम्रो मान्छेको खोजी गरिदिनुपर्‍यो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?