Comments Add Comment

६ घण्टा हिँडेर स्कुल, नेता आश्वासन दिन्छन् पूरा गर्दैनन्

१७ फागुन, इलाम । घर कहाँ हो ? इलाम । आहा… सुन्दर । इलामबारे बताउँदा जोकसैको मुखबाट यस्तै प्रतिक्रिया आउँछ । तर, यसको सुन्दरताभित्र उत्तिकै विकटता पनि छ ।

रोङ १ इलामकी अनु राई ९ कक्षामा पढ्छिन् । तर, पढाइ कमाजोर छ । उनले स्कुलसम्म पुग्नका लागि निकै मिहिनेत गर्नुपर्छ । हरेक दिन स्कुल आउजाउ गर्न अनुलाई ६ घण्टा लाग्छ । जान ३ घण्टा । फर्कन ३ घण्टा ।

बिहान ७ बजे नै पाकेको गाँस टिपेर हिड्छन् अम्बर राई । कक्षा ४ मा पढ्ने उनी स्कुल पुग्दा थकान र भोकले हत्तुराम भइसकेका हुन्छन् । फर्किदा रात परिसकेको हुन्छ । किताव खोल्न नपाई निदाउँछन् ।

अनु र अम्बर त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाकै विकटमध्येको एक रोङ गाउँपालिका–१, शान्तिपुरका विद्यालय जाने बालबालिका गाउँमा विद्यालय नभएपछि दैनिक ६ घण्टा हिडेर शान्तिपुर माध्यमिक विद्यालय जान बाध्य छन् ।

माध्यमिक विद्यालय मात्र होइन, प्राथामिक विद्यालय जान पनि शान्तिपुरको दक्षिणी भेगका कटहरे, तिल्लारे, बगैंचे, कागुने, दोभान, गइरीगाउँलगायतका गाउँका विद्यार्थी २ घण्टा हिँडेर ज्योति आधारभूत विद्यालय पुग्नुपर्ने वर्षौंदेखि रहँदै आएको स्थानीय बताउँछन् ।

विद्यालय टाढा हुँदा कैयन पढाइबाट वञ्चित हुँदै आएका छन् । स्कुल टाढा हुँदा आफ्ना ३ जना दाइहरु आधारभूतभन्दा माथिको शिक्षाबाट वञ्चित भएको शान्तिपुर माध्यमिक विद्यालयमा कक्षा ९ अध्यानरत वविता राईले बताइन् ।

स्थानीय विनोद याम्फुले भन्छन्– सक्नेले झापातिर डेरामा राखेर पढाउँछन् तर, अधिकांश कम आयस्रोत भएकाहरुको बसोबास यस क्षेत्रमा भएकाले डेरामा राखेर पढाउन सक्दैनन्, ५० प्रतिशत नानीहरु माध्यमिक तह नसकी पढाइ छोड्छन् ।

अध्ययनका लागि सहज हुन्छ भनेर वरभञ्याङ्गमा स्कुल दर्ता गर्न धेरै प्रयास गर्दा पनि नसकेको गुनासो स्थानीय देवकुमार राईले गरे । ‘सोर्सफोर्स चाहिने रहेछ, जिल्लामा स्कुलको लागि आएको कोटा राजनीतिक भागबण्डा हुँदो रहेछ । पहुँच हुनेको गाउँमै २ वटासम्म स्कुल छ, हामीले सकेनौं’, देवबहादुरले गाउँमा विद्यालय खोल्न नसक्नुको कारणबारे गुनासो गरे ।

‘नेताहरु आउँछन् आसनग्रहण गर्छन, माला लगाउँछन्, गरिहाल्ने जस्तो गरेर समस्या पनि सुन्छन्’, देवबहादुरले अगाडि थपे, ‘तर, कहिल्यै आश्वासन पूरा गर्दैनन् ।’

शम्भु दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment