+
+

जाग्यो रानीपोखरी पुनर्निर्माणको आश, विद्यासुन्दरको ‘तामझाम’ खारेज

विशाल सापकोटा विशाल सापकोटा
२०७५ फागुन २१ गते ०:१८

२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेका थिए ।

केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु ।

उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीको अग्रसरतामा कृष्णप्रसादको टोलीलाई रानीपोखरीमा ल्याइएको छ ।

‘रानीपोखरी प्राधिकरणमार्फत बनाउने निर्णय गरेपछि भाजुपोखरीको हेरेँ,’ ज्ञवाली भन्छन्, ‘जसले काम गरिरहेका छन्, उनीहरुलाई नै ल्याउँदा सहज हुने देखेँ ।’

२ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनर्निर्माण सुरुमा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनर्निर्माणमा एकपछि अर्को लापरवाही भएको भेटियो ।

ज्ञवाली दोस्रो पटक पुनर्निर्माण प्राधिकरणको सीईओ भएर आएपछि नेपाली सेनालाई बनाउने दिने बहस पनि भयो । तर, सेनालाई ठेकदार बनाउन नहुने मत आएपछि अन्ततः सरकारले मन्त्रिपरिषद्मार्फत प्राधिकरणलाई जिम्मा दियो ।

पुनर्निर्माण प्राधिकरण आफैं बनाउने त होइन, त्यसैले ठेकदारलाई दिने कि उपभोक्ता समिति भन्ने लामै बहस भयो । तर, अन्ततः प्राधिकरणले उपभोक्ता समिति रोजेको छ । ‘प्राचीन शैलीमा बनाउने भनेपछि पोखरीको पिंधमा विशेष खाले कामहरु गर्नुपर्ने रहेछ । ठेकदारमार्फत काम गराउँदा जोखिम हुने भएपछि उपभोक्ता समिति रोजेका हौं’ ज्ञवाली भन्छन्, ‘कामको अनुगमन गर्न पूरातत्व विभाग, महानगर सबैलाई राखेर अनुगमन समिति बनाएका छौं ।’

३ वर्षपछि जागेको आशा

राष्ट्रपतिले शिलान्यास गरेको, सरकारले पनि प्रतिष्ठाको विषय बनाएको रानीपोखरी पुनर्निर्माण तीन वर्षसम्म अलपत्र थियो । झारले ढाकिएको पोखरी, बन्दाबन्दै अलपत्र छाडिएको बालगोपालेश्वर मन्दिरले रानीपोखरी खण्डहर जस्तो बनेको थियो ।


महानगरले पोखरीको जगमा कंक्रिट हालेपछि सुरु भएको विवादले झन् अन्यौलता थपियो । यसले रानीपोखरी भूकम्पपछिको पुनर्निर्माणमा भएको विलम्बको प्रतिविम्ब बनेको थियो । तर, भक्तपुरमा राम्रो काम गरेका कालिगढहरु ल्याएर उपभोक्ता समितिमार्फत काम थालेपछि नयाँ आश जागेको छ ।

२०५८ सालदेखि प्राचीन सम्पदा पुनर्निर्माणमा सक्रिय दुमरु पनि रानीपोखरी पुनर्निर्माणको जिम्मा पाउँदा उत्साहित छन् । आफूहरुसँग भएको सीप र ज्ञान प्रयोग गरी रानीपोखरी पुनर्निर्माणमा अहोरात्र खटिने उनले बताए ।

पुनर्निर्माण प्रधिकरणका अनुसार यो टोलीले पोखरीको पिंधको कामहरु गर्नेछ ।

भाइटीकासम्म पानी खसालिने !

सोमबारदेखि सुरु भएको सफाईको काम एक हप्ताभित्र सकिनेछ । झण्डै एक फिट तलसम्म खनेर झार हटाइने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । त्यसपछि पोखरीमा रहेको पुरानो बालुवा निकालेर सुरक्षित ठाउँमा थुपारिनेछ । पोखरीमा झण्डै २ फिट बालुवा रहेको अध्ययनले देखाएको छ ।

बालुवा निकालेपछि रानीपोखरीको तल्लो तहमा परम्परागत विधि अनुसार कालिमाटी राखिनेछ । साँखु, मध्यपुर, भक्तपुरबाट कालिमाटी क्षेत्रबाट ल्याइनेछ । झण्डै १२ हजार क्युबिक मिटर माटो लाग्ने अनुमान गरिएको छ । कालिमाटीमाथि २ फिट पुरानो र ६ इञ्च नयाँ बालुवा राखिनेछ । बालुवामाथि फेरि १८ इञ्च कालिमाटी राखिनेछ, त्यसमाथि इँटाले सोइलिङ गरिनेछ ।

यसले पोखरी सफा गर्न सजिलो हुनेछ । ‘यो सबै सिपेज (पानी नहुचिने) नहुने सुनिश्चित गर्न गर्न लागिएको हो’ प्राधिकरणका सीईओ ज्ञवालीले भनेका छन् ।

काठमाडौं महानगरले रिटेनिङ पर्खाल लगाउन खाल्डो बनाउँदा बिग्रिएको पोखरीको सतहमा पानी अड्याउन पुरानै विधि अनुसार तल्लो तहमा कालिमाटी, त्यसमाथि बालुवा र फेरि कालिमाटीले लिप्न लागिएको सम्पदा विज्ञ मानन्धर बताउँछन् । पोखरीको पूर्वतर्फ एउटा बोरिङ राखेर ठाउँठाउँमा आकाशे पानी जमिनमा भण्डारण गर्न ‘रेन वाटर क्याच पिट’ बनाइनेछ ।

यसका साथै रानीपोखरीमा पानी कायमै राख्न मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनसँग जोड्ने विकल्प पनि खुला राख्ने पुनर्निर्माण प्राधिकरणको योजना छ । पुनर्निर्माणपछि रानीपोखरीमा ५ फिट ४ ईञ्च पानी हुनेछ ।

पोखरीको पर्खाल पनि परम्परागत शैलीबाट इटा, बालुवा र कालिमाटी प्रयोग गरेर बनाइनेछ ।

महानगरपालिकाले बिगारेर बनाएको ढुंगाको रिटेनिङ वालमा मा अप्पा (प्राचिन इँटा) ले छोपेर फुटपाथ लेवलमा लाइम कंक्रिटपछि माअप्पाकै रेलिङ वाल बनाइने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पोखरी वरिपरी हिँडडुलका लागि ढुंगा बिछ्याइनेछ भने अन्यत्र बोटबिरुवा वा फूल रोपेर हरियाली बनाइनेछ ।

यो काम आउँदो तिहारसम्म सक्ने प्राधिकरणको लक्ष्य छ । ‘दिदी बहिनीले भाइटीका लगाइदिने थलो पनि भएकाले त्यस अगावै पोखरीमा पानी देखाएर एउटा सकारात्मक सन्देश दिने हाम्रो लक्ष्य छ’, प्राधिकरणका सम्पदा विज्ञ मानन्धरले भने ।

तर, बर्षाका बेला झण्डै १४० दिनसम्म पानी पर्ने हुनाले काम प्रभावित हुनसक्ने उनको भनाइ छ । काममा ढिलासुस्ती नगरी विवादमा उल्झेको रानीपोखरी पुनर्निर्माण गरी प्राधिकरणले सकारात्मक सन्देश प्रवाह गर्न चाहेको उनी बताउँछन् ।

मन्दिर र पुल भत्काइने

रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र त्यहाँ जाने पुल भत्काएर पुनः बनाइनेछ ।

महानगरबाट खोसेर पुरातत्व विभाग आफैंले बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गरेको थियो । तर, प्यागोडा शैलीमा बनाउन यसलाई पनि भत्काइने भएको छ ।

मन्दिरको जग भने पुरानै भएकाले चलाइने छैन । साथै पानीबाट जोगाउन वरिपरी ढुंगाको पर्खाल लगाइनेछ । यस्तै मन्दिर जाने पुल पनि भत्काएर नयाँ बनाइनेछ ।

हालै गरिएको अध्ययनले पुलको जग खलबलिएको पाइएकाले भत्काउने निर्णय गरिएको सीईओ ज्ञवालीले जानकारी दिए । उनका अनुसार नयाँ पुलको डिजाइन पनि तयार भएको छ । पुलको जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाइनेछ भने बाहिरी भागमा पुरानै इँटा (मा अप्पा) प्रयोग गरिनेछ ।

पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएससम्म पुरानै इँटाको प्रयोग गर्ने, पुलको फूटपाथमा कालो ढुंगाले पेभिङ गर्ने र पुलको दायाँ र बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इन्चको पर्खाल निर्माण गर्ने प्राधिकरणको निर्णय छ ।

रानीपोखरीको भित्री भागका कामहरु भक्तपुरबाट आएका कालिगढहरुले गर्ने छन् भने केही काम उपभोक्ता समितिले निर्माण कम्पनीहरुमार्फत सम्पन्न गर्नेछ । प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले यसै महिनाभित्र पुल र मन्दिरको पुनर्निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए ।

विद्यासुन्दरको सबै योजना खारेज

काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मा पाएपछि मेयर विद्यासुन्दर शाक्यले बनाएको डिजाइनमा रानीपोखरीलाई आधुनिक बनाउने योजना थियो ।

रानीपोखरीमा वाटर फाउन्टेन राख्नेदेखि छेउमा कफीसपदेखि शौचालयको समेत व्यवस्था गरिएको थियो । तर, पुनर्निर्माण प्राधिकरणले अब यो सबैलाई हटाएको छ । सीईओ ज्ञवालीका अनुसार पोखरीमा वाटर फाउन्टेन हुनेछैन भने कफी सप शौचालय निर्माण लगायतका सबै योजना हटाइएको छ ।

अब बन्ने रानीपोखरी परम्परागत शैलीको हुनेछ भने बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट शैलीको हुनेछ ।

सुरुमा रानीपोखरी यस्तै थियो । तर, जंगबहादुर र जुद्ध शम्शेरको पालामा रानीपोखरीको स्वरुप हेरफेर भएको पाइन्छ । सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भूकम्पले शिखर शैलीको मन्दिर ढलेको थियो । जंगबहादुरको पालामा गुम्बज शैलीमा बनाइयो । १९९० सालको भूकम्पले फेरि क्षति पुग्यो । जुद्धशम्शेरले गुम्बज शैलीमा केही परिर्वतन गरे, जुन १२ बैशाख २०७२ को विनाशकारी भूकम्प आउनु अघिसम्म कायम थियो ।

तर, अब रानीपोखरीमात्र होइन, बालगोपालेश्वर मन्दिरसमेत पुरानै शैलीमा बनाइने भएको छ ।

हेर्नुस् भिडियो र थप तस्वीर :

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?