Comments Add Comment

‘डोपिङ प्रकरणमा निर्दोष थिएँ, इखले सागमा स्वर्ण जितेँ’

२७ फागुन, काठमाडौं । बाल्यकालमा तनहुँको चिसापानीमा उकाली–ओराली गर्दा राजेन्द्रबहादुर भण्डारीले भविष्यमा खेलाडी बन्ने सोचेकै थिएनन् । बरु उनमा आर्मी बन्ने इच्छा भने प्रबल थियो ।

राजेन्द्र आफ्नो वंशजमा तेस्रो पुस्ताका आर्मी हुन् । हजुरबुवा आर्मीबाटै पेन्सन लिएर निस्के । उनका बुवाले पनि देशको सेवा गर्दै पेन्सन पकाएरै निस्के । अन्ततः राजेन्द्र पनि २०५१ सालमा नेपाली सेनामा प्रवेश गरे ।

सेनामा प्रवेशपछि राजेन्द्रको वास्तविक खेल जीवन सुरु भयो । त्यतिबेला उनी १८ वर्षका थिए । त्योभन्दा दुई वर्ष अगाडिदेखि मात्रै उनी खेलकुदमा सक्रिय हुन थालेका हुन् । १६ वर्षको उमेरसम्म उनले कुनै प्रतियोगिता खेलेका थिएनन् ।

यही फागुन १८ गते आर्मीले राजेन्द्रको उच्च मुल्यांकन गर्दै लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्‍यो । नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएको भन्दै उनलाई यो सम्मान दिइएको थियो । ‘सेनाले नै मलाई खेल्ने वातावरण दियो । त्यहीँबाट उत्पादन भएको खेलाडी हुँ म,’ राजेन्द्र गर्वसाथ भन्छन् ।

डोपिङ टेस्टको २४ घण्टाभित्र नतिजा आउँछ । तर, त्यो घटनामा डेढ महिनापछि नतिजा सार्वजनिक गरेर मलाई बदनाम गराइयो । यसलाई एउटा नमिठो सपना सोचेर चित्त बुझाइरहेको छु

त्यसो त नेपालगञ्जमा सम्पन्न बृहत चौथो राष्ट्रिय खेलकुददेखि उनी खेलाडी जीवनमा प्रवेश गरेका थिए । त्यस्तै सन् १९९९ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिताबाट उनको अन्तर्राष्ट्रिय खेल करिअर सुरु भएको हो ।

अथक प्रयासले दिलाएको उपाधि

द्वन्द्वकालभन्दा अघि आर्मीमा अन्तर गण किंग्स म्याराथन प्रतियोगिता हुने गरेको थियो । राजेन्द्र आफ्नो खेलाडी जीवनको प्लेटफर्म यसैलाई मान्ने गर्छन् । उनले यो प्रतियोगिताकै क्रममा आफूलाई निखार्दै लगे । २०५७ सालमा भएको १५ सय मिटरको स्पर्धामा स्वर्ण पदक जित्दा उनले फरक–फरक प्रतिस्पर्धीहरुसँग कडा अभ्यास गरे ।

भन्छन्, ‘मैले १५ सय मिटरको प्रतिस्पर्धाका लागि बिहान २१ किलोमिटर र बेलुकी फेरि २१ किलोमिटर फरक प्रतिस्पर्धीसँग दौडिएर अभ्यास गर्थे । यही मिहिनेतको फलस्वरुप गोल्ड मेडल जितेँ ।’

सन् २००४ मा पहिलो अन्तर्राष्ट्रिय पदक जित्न सफल भए । पाकिस्तानमा सम्पन्न साग खेलकुदमा उनले तीन हजार मिटर स्टिपल चेजमा र पाँच हजार मिटरमा दुई कास्य पदक हात पारेका थिए ।

२००४ मै ग्रीसमा भएको ओलम्पिक पनि उनले प्रतिस्पर्धा गरे । यहाँसम्म आइपुग्दा उनी म्याराथनमा भिजिसकेका थिए । अब उनको सपना थियो सागमा गोल्ड मेडल जित्ने । त्यही अनुसारको तयारी र अभ्यासमा जुट्न थाले ।

डोपिङको दुई वर्षे प्रतिबन्ध

सन् २००६ मा श्रीलंकामा साग खेलुकद आयोजना हुँदै थियो । नेपालको तर्फबाट उनी छनोट भए । राजेन्द्रले तीन हजार मिटर स्टिपल चेजमा र पाँच हजार मिटरमा गरी दुई स्वर्ण पदक प्राप्त गरे । उनको यो सफलतामा सिंगो देश रमायो । परिवार त खुशी हुने नै भयो ।

तर, त्यसको करिब एक महिनापछि राजेन्द्रलाई ठूलो झट्का लाग्यो । उनको करिअरमै कहिल्यै नमेटिने दाग लाग्यो । खेलको दौरानमा उनले शक्तिबद्र्धक औषधि ‘डोपिङ’ प्रयोग गरेको रिपोर्ट आएपछि पदक खोसियो । योसँगै उनलाई दुई वर्षसम्म प्रतिबन्ध लगाइयो ।

तर, उनले आफूले डोपिङ प्रयोग नगरेको दाबी गर्दै आए । शक्तिवद्र्धक औषधि सेवन नगरेको र आफूलाई फसाइएको दाबी गरे पनि उनले प्रतिवन्ध भोग्नै पर्‍यो । राजेन्द्र भन्छन्, ‘दुई स्वर्ण पदक जितेपनि मेरो लागि दुर्भाग्य रह्यो । अहिले पनि त्यो कुरा रहस्य नै छ । मैले कुनै त्यस्तो औषधि खाएको होइन ।’

आफ्नो लागि त्यो नमिठो सपना मानेका राजेन्द्रले भावुक हुँदै भने, ‘डोपिङ टेस्टको २४ घण्टाभित्र नतिजा आउँछ । तर, त्यो घटनामा डेढ महिनापछि नतिजा सार्वजनिक गरेर मलाई बदनाम गराइयो । यसलाई एउटा नमिठो सपना सोचेर चित्त बुझाइरहेको छु ।’

राजेन्द्रलाई पनि आफू डोपिङ टेस्टमा फेल हुँदा कति पीडा भयो, त्यो वर्णन गर्न कठिन छ तर, उनले कहिल्यै हरेस खाएनन् ।

प्रतिबन्धपछि शान्ति सेनामा

प्रतिबन्धमा परेपछि राजेन्द्र खेलकुदबाट पूर्णरुपमा निष्कृय रहे । यस्तो अवस्थामा पनि नेपाली सेनाको भने विश्वास थियो । सेनाले उनलाई शान्ति मिसनमा हाइटी पठायो । राजेन्द्र भन्छन्, ‘त्यहाँ गएर त्यो ६ महिनाको अवधिमा मैले आफुलाई निखार्न पाए ।’

प्रतिबन्धमा परेपछि खेल जीवनबाटै अलग्गिने थुप्रै खेलाडी छन् । राजेन्द्रको पनि खेल जीवन अन्योलमा थियो । तर उनले भने लत्तो नछाडि आफुलाई फिट राखिरहे । उनी सम्झिन्छन्, ‘हाम्रो बेसबाट २४ किलोमिटर टाढा पोस्ट थियो । विहान म २४ किलोमिटर दौडिँदै खाजा खान जान्थेँ । विहानै दौडिनु मेरो लागि सोख जस्तै भएको थियो । म कहिलेकाहीँ दौडिदै टाढा–टाढासम्म पुग्थेँ ।’

शान्ति सेनाबाट फर्किएपछि फेरि उनको खेल जीवन ब्यूँतियो । त्यसबेलासम्म प्रतिबन्ध फुकुवा भइसकेको थियो । प्रतिबन्धपछि सहभागिता जनाएको पहिलो प्रतियोगितामै उनले स्वर्ण पदक जित्न सफल भए र आफ्ूलाई पुनः प्रमाणित गरे ।

सन् २००८ मा ‘काठमाडौं म्याराथन’ मा उनले २ घण्टा २१ मिनेटमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए । उनको यो पहिलो म्याराथन प्रतियोगिता थियो । यसअघिसम्म उनले अन्य विधाको दूरीमा मात्रै दौडिँदै आएका थिए ।

‘काठमाडौं म्याराथनमा मैले सागको रजत पदक विजेता अर्जुन बस्नेतलाई पराजित गर्दै स्वर्ण पदक जितेको थिएँ । त्यहीबाट मेरो म्याराथन यात्रा सुरु भयो’, राजेन्द्रले भने ।

इखले जितेको स्वर्ण

टुटिसकेको सपनालाई फेरि जोड्नु ठूलो कुरा हो । लामो समय प्रतिबन्धमा परेपछि पुनः खेल जीवनमा फर्किएको खेलाडीलाई पहिलेजस्तै सफलता हासिल गर्न सजिलो हुँदैन । तर, राजेन्द्रले इख लिएर पहिलेको सफलता दोहोर्‍याएका छन् ।

प्रतिवन्ध फुकुवापछि उनले घरेलु प्रतियोगितामा एकछत्र राज गरे । ४२, २१ देखि १० किलोमिटर सबैखाले म्याराथनमा उपाधि जिते । अब उनको एउटै लक्ष्य थियो, बंगलादेशमा ११ औं सागमा स्वर्ण पदक जित्ने । तर चार ४ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएका उनले यो सहज भने थिएन ।

‘यदि कमब्याक नगरेको भए म खेलकुदबाटै हराउँथे होला’ राजेन्द्र भन्छन्, ‘तर मसँग इख थियो । मलाई किन फसाइयो भन्ने सोचेर आफैं छक्क पर्थेँ । त्यसकै इखले पनि सागमा रजत हैन गोल्ड मेडल नै जित्नुपर्छ भन्ने अठोट गरेँ ।’

अन्ततः राजेन्द्रले आफ्नो अठोट पुरा गरिछाडे । २०१० मा बंगलादेशमा सम्पन्न साग गेम्समा नेपालले ८ वटा स्वर्ण जित्दा एक स्वर्ण पदक राजेन्द्रको नाममा रह्यो । स्वर्ण पदक जित्दै आफ्नो धमिलिएको छविलाई सफा बनाए । फेरि उनीमाथि देशले गर्व गर्‍यो तर, फेरि पनि उनलाई दुर्भाग्यले पछ्यायो ।

आयोजकको कमजोरीका कारण उक्त प्रतिस्पर्धालाई फुल म्याराथनको दर्जा दिइएन । आयोजकले तय गरेको म्याराथनको रुट प्रतियोगिताको दिन परिवर्तन भएको थियो । राजेन्द्रले निर्धारित दूरी १ घण्टा ५९ मिनेटमै पार गरेका थिए । उनले विश्व कीर्तिमानी समयभन्दा करिब ४ मिनेट छिटो दौड पूरा गरेपछि हंगामा नै मच्चिएको थियो । तर पछि दूरी नाप्दा पूर्व निर्धारितभन्दा कम पाइयो । यसरी आयोजकको कमजोरीको शिकार बने राजेन्द्र । यो प्रतिस्पर्धालाई फुल म्याराथनको नाम नदिई ‘रोड रेस’ नाम दिइयो । राजेन्द्र भन्छन्, ‘आयोजकको दोष भनौं या मेरो भाग्य, म यहाँ पनि ठगिए ।’

१८ वर्ष खेलेपछि विश्राम

राजेन्द्रले थोरै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाए । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको नाम गन्ने हो भने उनले साग र ओलम्पिक खेलकुदमा मात्रै भाग लिएका हुन् । तर थोरै अवसर पाए पनि सफलताको चुचुरो टेकेका थिए उनले ।

राजेन्द्र अन्तिमचोटि २०६९ सालमा दौडिए । त्यसपछि भने आफ्नो खेलजीवनबाट विट मारे । २०६९ सालमा सम्पन्न ‘काठमाडौं म्याराथन’ मा उनले स्वर्ण जितेपछि सन्यास लिएका थिए । १२औं साग खेल्ने उनको योजना अधुरै रह्यो ।

राजेन्द्रले सन् २०१२ मा हुने सागमा गोल्ड मेडल जित्ने लक्ष्य बनाएका थिए । यो प्रतियोगिताका लागि उनी तीन पटकसम्म क्लोज क्याम्पमा बसे । कठिन तयारी गरे तर, विविध कारणवस साग गेम्स पछि धकेलिँदै गयो । २०१६ मा साग गेम्स आयोजना हुँदा राजेन्द्र खेलकुदबाट टाढा भइसकेका थिए ।

राजेन्द्र भन्छन्, ‘१२ औं साग खेल्छु भनेर तीन पटकसम्म क्याम्प बसेँ तर, जहिले पनि सरेको सरेकै भयो । त्यसपछि मैले छोडेँ ।’

३८ वर्षको उमेरमा खेल जीवनबाट सन्यास लिएपछि उनी सेनाकै खेलकुद विभागमा रहेर काम गर्न थाले ।

‘खेल्न छोडेको दिनदेखि मैले आर्मीको एथ्लेटिक्सको पूरै जिम्मेवारी पाएँ,’ राजेन्द्रले सुनाए ।

खेल र राष्ट्रसेवालाई सँगसँगै अघि बढाएका उनी सेनामा क्याप्टेनसम्म भए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा अस्थायी बसोबास गर्दै आएका राजेन्द्र दुई सन्तानका पिता हुन् । उनका एक छोरा र एक छोरी छन् । २०७५ पुष १ गतेदेखि नेपाली सेनाबाट अवकास पाएका उनी म्याराथनमै केही गर्ने लक्ष्यमा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment