Comments Add Comment

करिब २ करोड बेरुजु देखिएपछि फरार भएका लेखा अधिकृत अझै भेटिएनन्

२९ फागुन, चितवन । एक करोड ७३ लाख राजश्व उठाएर फरार भएका जिल्ला मालपोत कार्यालय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी अझै सम्पर्कमा आएका छैनन् ।

मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका लेखा अधिृकत दर्जी कहाँ छन् भन्ने पत्ता नलागेको मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलले बताए ।

आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका थिए । गत मंसिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गन पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटेर पनि दर्जीले टेरेनन् ।

मंसिर २० गते आलेपले चौंबिस घण्टा भित्र नै रकम दाखिला गर्न पत्र दियो । तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख लालकृष्ण पौडेलले जानकारी दिए ।

दर्जी २५ गतेबाट फरार भएपनि त्यसको जानकारी विभागलाई समेत गराइसकिएको छ । दर्जीका सवै बैंक खाता रोक्का गरिएको छ ।

दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैंले लिएको कार्यालयका प्रमुख शर्मा बताउँछन् ।

जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार भएपछि दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको छ ।

९० दिनसम्म विना जानकारी कार्यालय हाजिर नभएमा कानून अनुसार कर्मचारीको जागिर जाने व्यवस्था छ ।

दर्जी फरार भएको पनि ९० दिन पुगिसकेको छ । मालपोत कार्यालय सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको प्रमुख शर्माको भनाइ छ । उनको घरमा समेत सूचना टाँसिने छ ।

लेखा अधिृकत दर्जीले रकम हिनामिना गरेको सबै प्रमाणसहितका सक्कल कपीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको जानकारी कार्यालयका प्रमुख शर्माले दिए ।

मालपोत कार्यालय भरतपुरमा दैनिक २ करोड ५० लाख रकम राजश्व स्वरुप उठ्ने गर्दछ । यसअघि गएको जेठमा मालपोत कार्यालयबाटै कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment