Comments Add Comment

पाण्डे समाजका महासचिवको थप गुनासो : भद्रगोलले हाम्रो छवि बिगार्‍यो, केटाकेटीले समेत सोध्न थाले

३० फागुन, काठमाडौं । हास्य टेलीश्रृंखला भद्रगोलका प्रमुख पात्र ‘पाँडे’ मा आपत्ति जनाउँदै पाण्डे समाजले पठाएको पत्रमा मिडिया हबले जवाफ दिएको छ । तर, सो जवाफमा पाण्डे समाजले चित्त बुझाएको छैन ।

मिडिया हबबाट बुधबार जवाफ प्राप्त भएको समाजका महासचिव सागर पाण्डेले बताए । उनका अनुसार उक्त जवाफी पत्रमा ‘कसैको भावनामा चोट पुगेको भए माफी चाहन्छौं’ भनिएको छ, तर सुधारका लागि कुनै प्रतिवद्धता व्यक्त भएको छैन ।

‘पत्रको व्यहोराबाट हाम्रा बन्धुहरु सन्तुष्ट हुनुहुन्न, अब वैठक बसेर साझा धारणा बनाउँछौं र थप कदम चाल्छौं,’ पाण्डेले अनलाइनखबरसँग भने ।

अर्जुन घिमिरेले अभिनय गर्ने पाँडेको भूमिकाले देशभरका पाण्डेहरुको बेइज्जती भएको समाजको तर्क छ । भद्रगोलमा उक्त पात्रलाई समाज भँडुवा र फटाहाका रुपमा चित्रित गरिँदै आएको छ ।

‘आजकाल त हाम्रा बच्चाहरुले पनि सोध्न थालेका छन् के पाँडेहरु यस्तै हुन्छन् त भनेर । उच्च तहका सरकारी कर्मचारीले पनि यो कुरा उठाउनुपर्‍यो भन्नुभयो । त्यसैले एक्सन लिएका हौं । हँसाउने भनेर जे पनि देखाउनु त भएन नि ।’

तर, यदि कुनै पनि चलचित्र वा टेलिचलचित्रमा देखाइने नकारात्मक पात्रको थर खोजेर विरोध गर्दै जाने हो भने त नकारात्मक चरित्र नै देखाउन पाइएन नि ? भन्ने प्रश्नमा पाण्डेले जवाफ दिए, ‘नकारात्मक पात्र देखाउनै नहुने भन्ने होइन, तर त्यसलाई चित्तबुझ्दो तरिकाले प्रस्तुत गर्नुपर्छ । कसैलाई बिझाउने खालको हुनु हुँदैन ।’

भद्रगोल पाँच वर्षदेखि नेपाल टेलिभिजनमा प्रशारण भइरहेको छ र पाँडेको भूमिका पनि सुरुदेखि नै छ । यतिञ्जेल यसमा कुनै विवाद सार्वजनिक भएको थिएन ।

पाँच वर्षसम्म चाहिँ किन चुप बस्नुभयो त भन्ने प्रश्नमा महासचिव पाण्डेले भने, ‘खासमा पहिलेदेखि नै गुनासो आइरहेको थियो । मैले चाहिँ त्यति धेरै हेरेको थिइनँ । पाँडेले कहिले काट्टो खाएको, कहिले पैसाका लागि जिउँदै पुरिएको देखाइँदो रहेछ । पाण्डेहरुको यस्तो चरित्र नै होइन । हाम्रो त वीरताको इतिहास छ । नेपालको एकीकरणमा पाण्डेहरुको भूमिका तपाईंहरुलाई थाहा नै होला । ’

‘हाम्रोभन्दा अगाडिको नेतृत्वले यो विषयलाई त्यति गम्भिरतापूर्वक लिएन । एक वर्ष अगाडि म महासचिव भएको हुँ । त्यसपछि पनि धेरै गुनासोहरु सुनेपछि मैले ध्यान दिएर केही एपिसोड हेरेँ । साँच्चै उक्त पात्रलाई अपाच्य तवरले प्रस्तुत गरिँदो रहेछ । यसले मेरो मन दुख्यो । केही अगूवाहरुसँग सल्लाह गर्दा उहाँहरुले पनि यसमा एक्सन लिनुपर्ने सुझाव दिनुभयो ।’

त्यसो त पाँडे र पाण्डे अलग–अलग थर हुन् भन्ने प्रतिक्रिया पनि सामाजिक सञ्जालमा आएका छन् । तर, पाण्डेको भनाईमा धेरैले फरक–फरक चरिकाले लेखे पनि सबै थर एउटै हुन् ।

‘पाँडे भने पनि, पाण्डे भने पनि, पान्डेय भने पनि सबै एउटै हो,’ उनले भने, ‘नबुझेकाहरुले यी अलग थर हुन् भनिरहेका छन् ।’

उनले आफूहरुले पत्र पठाएको समाचार आएपछि धेरै पाण्डे वन्धुहरुले धन्यवाद दिइरहेको समेत उल्लेख गरे ।

‘सबैले हाम्रो मनमा पनि यो कुरा खट्किरहेको थियो भनेर एक्सन लिएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ,’ उनले भने ।

उनले नेपाल टेलिभिजनल पनि यो विषयलाई गम्भिररुपमा लिनुपर्ने माग गरेका छन् । आफूले टेलिभिजनका गुनासो सुन्ने अधिकारीलाई फोन गरेर पनि गुनासो गरेको पाण्डेले बताए ।

‘उहाँले म माथि कुरा राख्छु भन्नुभएको छ, हेरौं के गर्नुहुन्छ,’ उनले भने ।

यदि पाण्डेको चरित्र पुरानै ढर्रामा आइरहेको खण्डमा थप कदम चाल्न बाध्य हुने उनी बताउँछन् ।

‘उहाँहरुले हामीसित समझदारी गर्न खोज्नुभयो भने ठीक छ, होइन यिनीहरुलाई पेल्न सकिहालिन्छ नि भन्ने हिसाबमा जानुभयो भने हामी पनि चुप लागेर बस्ने छैनौं ।’

उनले दर्शकहरुले मन पराएको सिरियल बन्द होस् भन्ने आफूहरुले नचाहेको पनि बताए ।

‘कतिपय बन्धुहरुले यो सिरियल बहिस्कार गरौं पनि भन्नु भएको छ । तर, हामी त्यसरी उत्तेजनामा आउनुहुँदैन । सकेसम्म उहाँहरुसँग सम्वादबाटै समस्याको हल निकाल्ने पक्षमा छौं,’ पाण्डेले भने ।

केही समयअगाडि ‘पाण्डे किलर’ नाममा एउटा चलचित्र निर्माणको घोषणा हुँदा आफूहरुले हस्तक्षेप गरेर त्यसलाई रोकेको पाण्डेको दाबी छ । नेपालका ७३ जिल्लामा पाण्डेहरुको बसोबास रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment