Comments Add Comment

प्रधानमन्त्रीले सेना परिचालन गर्नु संविधान विपरीत : कांग्रेस

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्ने व्यवस्था गर्न लागिएको भन्दै विरोध जनाएको छ ।

राष्ट्रियसुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रधानमन्त्रीको एकल निर्णयमा सेना परिचालन गर्ने व्यवस्था राखिएको भन्दै कांग्रेसले यो संविधान विपरीत हुने बताएको छ ।

विधेयकको दफा ६ को उपदफा (३) मा उल्लेखित ‘तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ’ भन्ने प्रावधान संविधान प्रतिकुल हुने कांग्रेस संसदीय दलले विज्ञप्तिमार्फत बताएको छ ।

नेपालको संविधानको धारा २६७ उपधारा (६) मा सेना परिचालन गर्ने अवस्था आएमा मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट घोषणा गर्नुपर्ने व्यवस्था रहेको पनि कांग्रेसले स्मरण गराएको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसरी संविधानको व्यवस्था विपरित राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनाको भूमिकालाई अबमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसका साथ ल्याइएको यो विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी विधेयक ल्याउन नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ ।’

यसअघि आइतबार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति जारी गरी सुरक्षा परिषदसम्बन्धी विधेयकमा गरिएको सेना परिचालनसम्बन्धी व्यवस्थाप्रति विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment